कोहलपुर गोल्डकपमा लालीगुराँस र पुलिसको शानदार प्रदर्शन, सेमिफाइनल समीकरण पूरा

कोहलपुर, बैशाख २२,

बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ रोमाञ्चक मोडमा पुगेको छ।

प्रतियोगिताको चौथो दिन सम्पन्न खेलहरूमा लालीगुराँस एसोसियसन क्लब पोखरा र नेपाल पुलिस क्लब विजयी हुँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । तेस्रो खेलमा लालीगुराँसले सातदोबाटो युथ क्लब काठमाडौंमाथि कडा संघर्षपूर्ण जित निकालेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित सकिएको थियो । दुवै टोलीले अवसर सिर्जना गरे पनि फिनिसिङ कमजोर रहँदा खेल अन्तिमसम्म गोलविहीन रह्यो । अन्ततः इन्जुरी समयमा जर्सी नम्बर १८ का रोशन छन्त्यालले ९४औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई १–० को जित दिलाए । उत्कृष्ट प्रदर्शन गरेका छन्त्याल नै म्यान अफ द म्याच घोषित भए ।

त्यसैगरी चौथो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले साविक विजेता राइसिङ स्टार क्लब सुनवललाई २–० ले हराउँदै आफ्नो प्रभुत्व देखायो । पुलिसका लागि आशिष थारुले २६औँ र ९१औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई सहज जित दिलाए । उत्कृष्ट खेल प्रदर्शनकै कारण थारु म्यान अफ द म्याच घोषित भए ।

यससँगै समूह चरणका खेलहरू सम्पन्न भई सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा कोहलपुर रेसिङ साहारा क्लब, जस्ट जोन एफसी नाइजेरिया, लालीगुराँस एसोसियसन क्लब पोखरा र नेपाल पुलिस क्लब प्रवेश गरेका छन् । प्रतियोगिताबाट पञ्चकोशी युथ क्लब, रोयल फुटबल क्लब, सातदोबाटो युथ क्लब र राइसिङ स्टार क्लब बाहिरिएका छन् ।

आयोजकका अनुसार वैशाख २३ र २४ गते सेमिफाइनल खेलहरू सञ्चालन हुनेछन् भने फाइनलअघि २५ गते प्रिम्याच प्रेस कन्फ्रेन्स गरिनेछ। प्रतियोगिताको फाइनल खेल वैशाख २६ गते आयोजना हुने कार्यक्रम छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !