बाँकेमा ट्राफिक व्यवस्थापन सुधार अभियान तीव्र, ट्राफिककार्यालय प्रमुख, प्रहरी निरीक्षक शाही

कोहलपुर, जेठ १३,

बाँकेमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले पछिल्लो समय निगरानी, चेकजाँच तथा सचेतनामूलक अभियानलाई तीव्र बनाएको छ।

विशेषगरी नेपालगञ्ज क्षेत्रमा देखिँदै आएको अव्यवस्थित पार्किङ, जथाभावी सवारी रोक्ने प्रवृत्ति तथा सडक अतिक्रमणका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा कार्यालयले सुधारात्मक अभियान सञ्चालन गरिरहेको जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाही का अनुसार नेपालगञ्जमा लामो समयदेखि अव्यवस्थित पार्किङ र अवैध रूपमा सञ्चालन हुँदै आएका बस चढाउने–ओराल्ने गतिविधिले सडकको सौन्दर्यमा असर पार्नुका साथै ट्राफिक जाम र अन्य अवाञ्छित गतिविधि बढाउने गरेको थियो। उनले आफू कार्यालयमा आएको करिब डेढ महिनायता वैध बसपार्कबाट मात्रै यात्रुवाहक सवारी सञ्चालन गर्न कडाइका साथ नियम कार्यान्वयन गरिएको बताए।

उनका अनुसार उक्त व्यवस्थाले यात्रुहरूमा पनि बसपार्कबाटै सवारी चढ्ने बानीको विकास हुँदै गएको छ भने सवारी चालकहरूमा जथाभावी सडक किनारमा पार्किङ गर्न नहुने चेतना बढ्दै गएको छ। यसले ट्राफिक व्यवस्थापनसँगै सहरी व्यवस्थापन र सार्वजनिक अनुशासन कायम गर्न समेत सकारात्मक सन्देश दिएको प्रहरी निरीक्षक शाहीको भनाइ छ। कार्यालयले ट्राफिक नियम पालना गराउन नियमित चेकिङ अभियान सञ्चालन गर्नुका साथै विद्यालय, सार्वजनिक स्थल तथा चालक लक्षित ट्राफिक सचेतना कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको जनाएको छ। ट्राफिक प्रहरीले पछिल्लो आठ महिनाको अवधिमा साना तथा सामान्य दुर्घटनाबाहेक ठूलो मानवीय क्षति हुने दुर्घटना हुन नदिन सफल भएको दाबी गरेको छ।

त्यसैगरी नेपालगञ्जमा अटो व्यवस्थापनलाई पनि प्राथमिकताका साथ अगाडि बढाइएको छ। विभिन्न स्थानमा भारतीय नागरिकहरू नेपालगञ्ज प्रवेश गरी अटो चलाउने गरेको गुनासो आएपछि त्यसलाई नियन्त्रण गर्न निगरानी बढाइएको ट्राफिक प्रहरीले जनाएको छ। नेपाली नागरिकले मात्रै अटो सञ्चालन गर्न पाउने व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक समन्वय र कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयको भनाइ छ।

पर्याप्त जनशक्ति अभाव हुँदाहुँदै पनि सिभिल प्रहरी तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गर्दै ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ। कार्यालयले आगामी दिनमा अव्यवस्थित पार्किङ नियन्त्रण, सवारी अनुशासन तथा सडक सुरक्षालाई थप सुदृढ बनाउने योजना रहेको उल्लेख गरेको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !