कोहलपुर, असोज ५,
बढैयाताल गाउँपालिकाले बालविवाह, जबरजस्ती विवाहलगायतका सामाजिक समस्याको न्यूनीकरणसँगै युवा तथा किशोरीको सहभागिता बढाउने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीका अनुसार पालिकाले ‘सशक्त किशोरी परियोजना’मार्फत बालविवाह तथा जबरजस्ती विवाह रोकथामका साथै किशोरीलाई सचेत र सशक्त बनाउने अभियानलाई प्राथमिकता दिएको छ । यसका लागि स्थानीय तहमा आवश्यक कानून निर्माण, नीतिगत व्यवस्थाको कार्यान्वयन तथा विभिन्न धार्मिक अगुवासँग छलफल र समन्वय गर्दै आएको उनले बताए । अध्यक्ष त्रिपाठीले गाउँपालिकाभित्र कतै बालविवाह भएको जानकारी पाएमा सम्बन्धित निकायसँग समन्वय गरी कानुनी प्रक्रियामा ल्याउने गरिएको बताए । उनका अनुसार बालविवाह रोकथामका लागि समुदायस्तरमै सचेतना फैलाउने कार्यलाई समेत निरन्तरता दिइएको छ ।
बढैयाताल गाउँपालिकाका ६ वटा वडा बालविवाहमुक्त घोषणा भइसकेका छन् । बालविवाहमुक्त अभियानलाई दिगो बनाउन किशोरी क्लबमार्फत किशोरी तथा समुदायलाई सचेत गराउने कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष त्रिपाठीले जानकारी दिए ।
उनले स्थानीय तहमा युवा तथा किशोरीको सहभागिता पनि पछिल्लो समय सकारात्मक बन्दै गएको बताए । स्थानीय सरकारका योजना तथा कार्यक्रम निर्माणदेखि बजेट विनियोजनसम्म युवा सहभागितालाई प्राथमिकता दिइएको उनको भनाइ छ। “युवा तथा किशोरीको सहभागितालाई स्थानीय तहमा अर्थपूर्ण बनाउने प्रयास गरेका छौँ। युवा लक्षित कार्यक्रम निर्माण गर्नुका साथै बजेट विनियोजनमा पनि युवाको सहभागिता र पहुँच बढाउने काम भइरहेको छ,” अध्यक्ष त्रिपाठीले भने ।
अध्यक्ष त्रिपाठीका अनुसार किशोरीलाई केवल सामाजिक सचेतनामा सीमित नराखी निर्णय प्रक्रियामा सहभागी गराउने, आफ्ना अधिकारबारे जानकारी दिने तथा नेतृत्व विकासका अवसर प्रदान गर्ने विषयलाई समेत गाउँपालिकाले प्राथमिकतामा राखेको छ । स्थानीय तह, समुदाय, किशोरी क्लब, धार्मिक अगुवा तथा सरोकारवाला निकायबीचको सहकार्यबाट बालविवाह न्यूनीकरण गर्दै किशोरी र युवालाई सामाजिक विकासको मूल प्रवाहमा जोड्ने अभियानलाई थप प्रभावकारी बनाउने गाउँपालिकाको लक्ष्य रहेको उनलेृ बताएका छन् ।
