कोहलपुर, असोज ८,
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कोहलपुर नगर समितिको निर्वाचनमा बिरेन्द्र शाह सभापतिमा निर्वाचित भएका छन् ।
कुल ४८६ मतको अन्तिम परिणामअनुसार शाहले २४५ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी चिन्तामणि धितालले २१८ मत प्राप्त गरे । त्यस्तै नगर समितिको उपसभापतिमा दिपेन्द्र कुमार थारु र शुभद्रा देवी शर्मा निर्वाचित भएका छन्। थारुले २५४ मत तथा शर्माले २४४ मत प्राप्त गरे। उपसभापतिका अन्य उम्मेदवारमध्ये सबिता चौधरीले २१८ र भरत शर्माले २०० मत प्राप्त गरे। सचिवमा रविन शर्मा निर्वाचित भएका छन् । उनले २३२ मत प्राप्त गर्दा दिपेन्द्र कठायतले २२१ मत प्राप्त गरे ।
यसैगरी, सह–सचिवमा ओमजंग शाही निर्वाचित भएका छन्। शाहीले २३३ मत प्राप्त गरे भने रामबहादुर ओलीले २२२ मत प्राप्त गरे । निर्वाचनको अन्तिम मतपरिणामसँगै नेपाली कांग्रेस कोहलपुर नगर समितिको नयाँ नेतृत्व चयन भएको छ ।
