बढैयातालमा विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक, सम्भावित जोखिम न्यूनीकरणमा जोड

कोहलपुर, असोज ८,

अत्यधिक वर्षाका कारण हुन सक्ने बाढी, पहिरो तथा डुबानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै बढैयाताल गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक सम्पन्न भएको छ ।

असोज ८ गते गाउँपालिका अध्यक्ष एवं विपद् व्यवस्थापन समितिका संयोजक हिमालय त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले सम्भावित विपद्को अवस्थामा तत्काल आवश्यक साधन–स्रोत परिचालन गर्ने तथा उद्धार र राहत व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा निर्णय गरेको हो । बैठकमा विपद्मा परेका नागरिकलाई उद्धार गर्नुपर्ने अवस्था आएमा आवश्यक होल्डिङ सेन्टरको व्यवस्था गर्ने, उपलब्ध स्रोत–साधन परिचालन गर्ने तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटीलाई अधिकतम परिचालन गर्ने लगायतका विषयमा छलफल भएको बढैयाताल गाउँपालिका विपद् व्यवस्थापन समितिले जनाएको छ ।

असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न भागमा अत्यधिक वर्षा हुने पूर्वानुमान रहेकाले त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाउँपालिका क्षेत्रभित्र आवश्यक पूर्वतयारी र समन्वयलाई प्राथमिकता दिइएको हो । बैठकमा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारू, लेखा प्रमुख नारायणराज पन्त त्रिपाठी, सबै वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका पालिकास्तरीय प्रतिनिधि, इलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख अच्युत गिरी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा गण कण्ठपुर बर्दियाका प्रमुख, बढैयाताल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिपक खनाल, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !