कोहलपुर, असोज ८,
बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणालीका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै बाँकेमा विपद् पूर्वतयारी तथा समन्वय बैठक सम्पन्न भएको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसम बुलेटिन तथा निरन्तरका मौसम अपडेट र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सतर्कता सम्बन्धी सूचनालाई आधार बनाउँदै जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला मनसुन कमाण्ड पोस्टमार्फत पूर्वतयारीका गतिविधि सञ्चालन गरिएको हो । २०८३ असोज ८ गते जिल्लाका सम्पूर्ण विषयगत निकाय तथा स्थानीय तहका विपद् सम्पर्क व्यक्ति, विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील संघसंस्था तथा निकायका प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागितामा पूर्वतयारी तथा समन्वय बैठक सम्पन्न भएको जनाइएको छ ।
बैठकमा सम्भावित बाढी, डुबान, कटान तथा पहिरोबाट हुनसक्ने जोखिम न्यूनीकरण, सुरक्षित आश्रयस्थलको व्यवस्थापन, आवश्यक सामग्री तथा स्रोत–साधन तयारी अवस्थामा राख्ने, उद्धार तथा राहत व्यवस्थापन र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गर्ने विषयमा छलफल भएको थियो ।
बैठकले जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने मौसम तथा विपद्सम्बन्धी पूर्वसूचना र ब्मखष्कयचथ को प्रभावकारी प्रचार–प्रसार तथा कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यस्तै, सबै स्थानीय तह तथा विषयगत कार्यालयले सम्भावित बाढी, डुबान, कटान र पहिरोको जोखिमयुक्त बस्तीको अवस्था विश्लेषण गरी सुरक्षित आश्रयस्थल व्यवस्थापन तथा खुला स्थानको समुचित प्रयोगका लागि आवश्यक उपकरण तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका लागि क्विक रेस्पोन्स टिम ९त्तच्त्० तथा र्यापिड रेस्पोन्स टिम ९च्च्त्० तयारी अवस्थामा राख्ने निर्णयसमेत बैठकले गरेको छ । नेपाल रेडक्रस सोसाइटीलगायत विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील गैरसरकारी संघसंस्थालाई विपद् प्रतिकार्य, उद्धार तथा राहत व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी काम गर्न आग्रह गरिएको छ । बैठकले विद्युत्, खानेपानी, दूरसञ्चारलगायत अत्यावश्यक सेवा सुचारु राख्न सम्बन्धित निकायलाई जिम्मेवार भएर कार्यसम्पादन गर्न तथा मौसम र विपद्सम्बन्धी सूचना प्रवाहमा सञ्चारमाध्यमले सहयोग गर्ने निर्णयसमेत गरेको छ । बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङसहित विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, नगर प्रहरी, सरोकारवाला निकायको प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

