प्रकृति प्रेमी कलाकुञ्ज, चितवन,
के हो भेटी ? शब्दमा ‘ई’ प्रत्यय लागेर भेटी बनेको हो जसको अर्थ देवदेवी वा पूज्य व्यक्तिलाई आदरपूर्वक चढाईने नगद वा सुनचाँदी भन्ने बुझिन्छ र को हुन् विष्णु पन्थी ‘विनु’ ? पिता बुद्दिराम तथा माता धनकला पोख्रेलको सन्तानको रुपमा मालारानी -३, हाँसिया डाँडा , अर्खाखाँचीमा जन्म भएको हो र तिलकराम पन्थीसँग बिवाह बन्धनमा बाँधिएपछि उनको उच्च शिक्षाले निरन्तरता पाउएसँगै साहित्यिक क्षेत्रमा समेत आफ्ना कलमलाई चलाउँदै आइरहेकी छिन् र उनको ईशान र प्रशान्त दुईवटा सुपुत्रहरू सहित गैँडाकोट-२, नवलपुरमा स्थायी बसोबास रहेको छ र नेपाली विषय लिएर एम.ए. , बि.एड. गरेकी उनी हाल शिक्षण पेशामा आवद्ध छिन् र सृजनात्मक ब्रह्माण्डु पत्रिकाको २०७३-७५ु सम्म सम्पादन गरेको अनुभवसमेत उनीसँग छर विषयप्रवेश स्-भेटी ९२०८१० विष्णु पन्थी ‘विनु’ द्वारा रचित पहिलो कृति, लघुकथा सङ्ग्रह हो जसलाई नमस्ते आधुनिक लघुकथा मञ्च, चितवनले प्रकाशन गरेको हो र कुल ९२ पृष्ठ रहेको प्रस्तुत सुरुका १२ पृष्ठमा लघुकथा वन्दना, आलोकाचरण, लघुकथा मञ्चको संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटीुकृष्णजी शर्माु को प्रकाशकीय लेख, डा। विदुर चालिसेको लेख, लेखकको आफ्नो कुरा र लघुकथाक्रमले ओगटेका छन् ।
त्यस्तै बाँकी ८२ पृष्ठमा ४० वटा लघुकथाहरू अटाएका छन् । कसरी जन्मियो भेटी ? कुनै एक सार्वजनिक संस्थामा कामको सिलसिलामा पुग्दा घुमाउरो तवरले घुस मागिएको घटनाले विचलित भएर उनी व्यङ्यात्मक लघुकथा लेखनमा अग्रसर भएको धारणा राख्छिन् र साथै केही समय अघिको विश्वव्यापी महामारी कोभिड-१९ र यसले निम्त्याएको विनाश, त्रासदीपूर्ण समय, लकडाउनको समयमा घरभित्रै रहनुपर्ने बाध्यता रह्यो र सो समयमा राहत वितरणको नाममा दुईचार पोका चाउचाउ , एकदुई पोका नुन , केही दाल,चामल बाँडेको तस्बिर खिचेर केके न दिएझैँ गरि सामाजिक सञ्जालमा पोस्ट गरेका दृश्यहरूले आह्लादित बनेकी ुविनुु को लेखनीमा थप टेवा पुर्याउने काम गर्यो ।
प्रस्तुत लघुकथा सङ्ग्रहभित्र समाविष्ट लघुकथाहरू अध्ययनपश्चात् तरङ्गित भावनात्मक तरङ्गहरूलाई शब्दचित्रमा उन्ने प्रयास मेरो रहेको छ र १० जालस्- फुलन्दे नामक पात्रले छिमेकीको घरमा झगडाको बीउ रोपेको , कुलतमा फसाएको र ऋण दिएर ऋणी बनाई जग्गा हडपेको प्रसंग जाल कथामा छ । २० तिहार चाडपर्वको समयमा निम्न वर्गीय परिवारमा सामान्य खर्च समेत धान्न धौधौको अवस्थामा छोराछोरी र श्रीमतीको अरुको देखासिकिबाट अनेकानेक फर्माइसहरू आउँदा रामबहादुर नामक पात्रमा उत्पन्न मनोदशा तिहार कथामा पाईन्छ ।
दशैँ : छोरीहरू जति भए पनि छोरा पाउनैपर्न नेपाली समुदाय माइती गरिब भएपछि घरपरिवारबाट हेपिनुपर्ने बाध्यता, श्रीमान् बाट श्रीमतीप्रति गरेको दुर्व्यवहार दशैँ कथाको मुल सार हो । पछिल्ला केही वर्षहरूदेखि तीजको बेला एकदुई महिना अघिदेखिनै दर खाने, रमाइलो गर्ने प्रचलन बढ्दो छ । यो एक विकृति हो भन्ने सन्देश दर कथाले दिएको छ । वर्षभरि हेँला गर्ने बालाई कुशेऔंशीको दिन फलफूल दिएर अपनत्व देखाईने परिपाटीलाई प्रदर्शन कथामार्फत् उजागर गर्ने प्रयास भएको छ ।
अँध्यारो कोठा : सरल, सहयोगी , मिलनसार स्वभावकी निरा आफ्नो प्रेमी, पतिबाट धोका खाईसकेको अवस्थामा अर्को तेस्रो पुरुष जसमानको सामीप्यता, माया स्विकार्य नभएको विषयमाथि अँध्यारो कोठा कथा लेखिएको छ ।
पीडित : समाजमा कथित समाजसेवीको ढोँग रच्दै हिँड्ने कुन्तलीले आफ्नै घरमा श्रीमान् लाई कुटपिट गर्ने, गालीगलौज गर्ने अत्याचार गर्ने गरेको रहस्योद्घाटन भएपछिको मनोदशा पीडित कथामा पढ्न सकिन्छ ।
नेता : सरसफाइ अभियानमा खटिएका बालबालिकाहरूले फोहोर डस्टविनमा फाल्न आग्रह गर्दा नमान्ने नेता स्वयम् ले टोल सफा नभएकोमा गुनासो गरेको व्यङ्ग्य नेता कथामा पढ्न सकिन्छ ।
मालिक : आफ्नो घरखेत, बिरामी शरिर र प्रतिकुल मौसमका बाबजुद हलिया रणेले मालिकको बफादार भई काम गरेको , सेवा गरेको विवश अवस्थालाई मालिक कथामा चित्रण गरिएको छ ।
चुनाव : निर्वाचनको समयमा रुपैयाँ बाँड्ने , बाटोखर्च दिने, भोजभतेर गर्ने अवस्थाका साथसाथै कोरोना समयको अवस्थाको समेत चुनावु कथामा समेटिएको छ ।
अभिभावकः उमाकान्त आमासँग पैसा मागीमागी विद्यालय नगई केटी साथी लिएर कहिले होटल जाने, कहिले घुम्न जाने गरेको र पछि सोही व्यवहार, उस्तै बाटो उसको छोराले समेत अँगालेको विचलित भएको घटना ‘अभिभावक’ कथामा समेटिएको छ।
चन्दा: मन्दिर परिसरमा शिलालेखमा नाम लेखाउन चन्दा दिन दाजुभाइको प्रतिस्पर्धा हुने, तर सिकिस्त बिरामी आमाको उपचारमा दुबैले वेवास्ता गरी पैसा छैन भन्दै तर्किएको व्यवहारप्रति व्यङ्ग्य ‘चन्दा’ कथाले उठान गरेको छ।
न्याय: नाबालिका बलात्कार, हत्या, श्रीमतीप्रति शङ्का, आवेगमा श्रीमतीको बिरामी साथीको हत्या, विरोध प्रदर्शन, बलात्कारीलाई कारबाहीको माग, प्रदर्शनीका क्रममा प्रहरीको गोली लागी मृत्यु जस्ता समसामयिक परिवेशलाई ‘न्याय’ कथाले न्याय दिने प्रयास गरेको देखिन्छ।
आसन ग्रहण: नाली सरसफाइ समितिका अध्यक्षसमेत रहेका हरिबोलले एक कार्यक्रममा मर्यादाक्रममा आफूलाई नराखेको भन्दै कुर्सी थेचारेर गरेको विरोधले वर्तमान समयको वास्तविक यथार्थको चित्रण ‘आसन ग्रहण’ कथामा पाइन्छ।
अलच्छिन: शारीरिक अपाङ्गता हुँदैमा, विधवा हुँदैमा कोही अलच्छिन हुँदैनन् भन्ने वास्तविकता ‘अलच्छिन’ कथाले दर्शाउने प्रयास गरेको छ।
निःशब्द: ‘किन हामीलाई कसैले फलफूल ल्याएर दिँदैनन् भनेको त बाबाको फोटोमा ल्याएर राखिदिन पो रहेछ है आमा।’ पाँच वर्षीय बालकले बोलेको यो संवादले नै ‘निःशब्द’ कथाको गहिराइ बुझ्न सकिन्छ।
अर्को बाटो: श्रीमान् बिरामी हुँदा श्रीमतीले हारगुहार गरेर, सरसापट गरेर उपचार गरी बचाएको, तर पछि तिनै श्रीमती बिरामी हुँदा ‘यो मरे त अर्को बिहे गर्ने थिएँ’ भन्ने आशयको श्रीमान्को मनसायलाई ‘अर्को बाटो’ कथामा भेट्न सकिन्छ।
चिन्ता: उही समय, अवस्था र परिस्थितिमा मन्दिर जान लागेको सुविधासम्पन्न धनी व्यक्तिको सोचाइ, मनोदशा र अर्को मन्दिर अगाडि मागेर गुजारा गर्ने गरिब व्यक्तिको सोचाइ, मनोदशा ‘चिन्ता’ कथामा चित्रण गरिएको छ।
आशीर्वाद: गरिबी, अशिक्षा र अरूको उक्साहटमा अझै पनि कतिपय समाजमा छोरीहरूको कम उमेरमै विवाह गरिदिने चलन छ। छोरी, नातिनीको बिहे गरिदिई खुट्टाको जल पिए स्वर्गको ढोका खोलिन्छ भन्ने पनि अझै छन्। तर छोराछोरीलाई पढाएर योग्य बनाउन सफल एक असल पिताको साहसिक कथा ‘आशीर्वाद’ कथामा समेटिएको छ।
गुनासो: कथाकार विष्णु पन्थी स्वयं शिक्षण पेसामा आबद्ध रहेको हुँदा शिक्षा क्षेत्रमा रहेका समस्या, विद्यार्थीलाई विद्यालय र अभिभावकले गर्ने व्यवहार, अभिभावकले प्राचार्य, हेडसरप्रति गर्ने व्यवहार, हेडसरबाट अन्य शिक्षकहरूप्रति गर्ने व्यवहार ‘गुनासो’ कथामा जस्ताको तस्तै समेटिएको छ।
विशेषता: सामान्य विषयवस्तु, सामाजिक समस्या, विकृति विसङ्गति, शैक्षिक समस्या एवम् सामन्ती प्रवृत्तिमाथि सरल, पठनीय तथा सामान्य बोलीचालीको भाषाशैली प्रयोग गरी कथा लेख्न सक्नु कथाकार ‘विनु’ को खुबी हो।
यद्यपि, भाषाशैली र वाक्यगठनमा सामान्य त्रुटि, प्रस्तुतिकरणमा फितलोपन जस्ता कमीकमजोरीहरू पनि नभएका होइनन्, तर त्यसलाई आगामी दिनहरूमा पक्कै पनि सुधार्दै लगिनेछ भन्नेमा म विश्वस्त छु। अन्त्यमा, पहिलो प्रसव पीडा जोकोहीलाई गाह्रो हुन्छ। ‘भेटी’ प्रकाशित भएको छ, यो पक्कै पनि सकारात्मक पक्ष हो। ‘भेटी’ ले लघुकथाको क्षेत्रमा एउटा सम्मानजनक उपस्थिति पक्कै जनाएको छ भन्नेमा म आशावादी छु।
अर्को कुरा, यही भदौ २७ गते शनिबार विष्णु पन्थी ‘विनु’ को कविता सङ्ग्रह ‘जेन्जीकी आमा’ समेत प्रकाशित भइसकेको छ, जुन कविता सङ्ग्रह वि.सं. २०८२ भदौ २३ र २४ गते देशभर घटेको विध्वंसकारी एवम् नेपाली राजनीतिक क्षेत्रमा प्रलय ल्याउन सफल एउटा आन्दोलन भएको थियो। यस क्रममा ७६ जनाको मृत्यु भएको थियो र सयौँ घाइते भएका थिए। यसै घटनालाई आधार बनाएर लेखिएको कविता सङ्ग्रह ‘जेन्जीकी आमा’ को समेत सफलताको कामना व्यक्त गरेँ। कथाकार विष्णु पन्थी ‘विनु’ को शैक्षिक पेसाप्रतिको इमानदारिता, साहित्यिक–सामाजिक क्षेत्रप्रतिको लगनशीलता अझै बढ्दै जाओस्। व्यक्तिगत एवम् पारिवारिक सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना।
ॐ सर्वे भवन्तु सुखिनः।

प्रकृति प्रेमी
२०८३ अअसोज १२ सोमबार
कलाकुञ्ज, चितवन
