कोहलपुर, असोज १६,
नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले कोहलपुर–१० स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयमा एक दिने ‘विद्युतीय सुरक्षा तथा जनचेतनामूलक कार्यक्रम’ सम्पन्न गरेको छ।
असोज १६ गते वितरण केन्द्र प्रमुख रमेश अवस्थीसहितको टोलीले आयोजना गरेको कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका तथा कक्षा ९ मा अध्ययनरत करिब ९० जना विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा विद्युत शक्तिको सुरक्षित प्रयोग तथा विद्युतीय दुर्घटनाबाट बच्ने उपाय, विद्युत चोरी नियन्त्रण र त्यससम्बन्धी कानुनी प्रावधान, प्राविधिक तथा गैरप्राविधिक विद्युत चुहावट नियन्त्रणलगायतका विषयमा जानकारी तथा छलफल गरिएको थियो ।
त्यसैगरी, विद्युत महसुल समयमै संकलन तथा भुक्तानी गर्ने विषयका साथै घरमै बसेर अनलाइन माध्यमबाट विद्युत महसुल भुक्तानी गर्ने प्रक्रियाबारे पनि विद्यार्थी तथा शिक्षकलाई जानकारी दिइएको थियो । कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थी तथा शिक्षकहरूले विद्युत शक्तिको सुरक्षित, मितव्ययी र नियमसम्मत प्रयोग गर्ने तथा समाजमा विद्युतीय सुरक्षासम्बन्धी चेतना फैलाउने प्रतिबद्धतासहित सपथ ग्रहण गरेका थिए ।
विद्युतीय दुर्घटना न्यूनीकरण तथा विद्युतको सुरक्षित प्रयोगबारे विद्यार्थीमार्फत समुदायमा समेत चेतना विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कोहलपुर वितरण केन्द्रले जनाएको छ । नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले ‘विद्युतीय सुरक्षा अपनाऔं, दुर्घटनाबाट बचौं र बचाऔं’ भन्ने सन्देशसहित विद्युतको सुरक्षित र जिम्मेवार प्रयोगमा जोड दिएको छ ।

