कोहलपुर, असोज १७,
नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले आगामी माघ १ गतेदेखि विद्युत महसुल भुक्तानीका लागि कार्यालयमा रहेका सबै भौतिक काउन्टर बन्द गर्ने भएको छ ।
केन्द्रले ग्राहकलाई मोबाइल बैंकिङ, खल्ती, इसेवा तथा अन्य अनलाइन माध्यमबाट विद्युत महसुल भुक्तानी गर्न आग्रह गर्दै भौतिक काउन्टर बन्द गर्ने जानकारी दिएको छ । अत्यावश्यक सेवाका लागि भने एउटा मात्रै काउन्टर खुला रहने कोहलपुर वितरण केन्द्रका प्रमुख रमेश अवस्थीले बताएका छन् । विद्युत सेवालाई थप भरपर्दो, प्रविधिमैत्री तथा प्रभावकारी बनाउने उद्देश्यले कोहलपुर वितरण केन्द्रले अनलाइन महसुल भुक्तानी, ग्राहक पहिचान विवरण अद्यावधिक तथा आकस्मिक विद्युत सेवासम्बन्धी सूचना जारी गरेको केन्द्र प्रमुख अवस्थीले बताए । कार्यालयमै उपस्थित भएर महसुल बुझाउँदा लामो लाइनमा बस्नुपर्ने, समयको बर्बादी हुने तथा यातायात र खाजामा अनावश्यक खर्च हुने भएकाले ग्राहकलाई घरमै बसेर डिजिटल माध्यमबाट महसुल भुक्तानी गर्न अनुरोध गरिएको केन्द्रले जनाएको छ ।
नयाँ प्रणाली लागू हुँदै, केवाईसी अनिवार्य
कोहलपुर वितरण केन्द्रमा नयाँ रेभिन्यु म्यानेजमेन्ट सिस्टम ‘आरएमएस’ लागू हुन गइरहेको छ । उक्त प्रणाली लागू भएपछि मिटर रिडरले घरमै पुगेर बिल काट्नेबित्तिकै ग्राहकको मोबाइलमा एसएमएसमार्फत स्वचालित रूपमा बिल प्राप्त हुने जनाइएको छ । नयाँ प्रणालीबाट सेवा लिन ग्राहकले आफ्नो केवाईसी विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ । ग्राहकले अनलाइन वा कार्यालयमै उपस्थित भएर केवाईसी अद्यावधिक गर्न सक्नेछन् ।
अनलाइनबाट विवरण अद्यावधिक गर्न प्राधिकरणको वेबसाइटमा गई लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्ज र कोहलपुर वितरण केन्द्र छनोट गर्नुपर्नेछ । विद्युत महसुल बिलमा रहेको ८ अंकको कन्जुमर नम्बर र ग्राहक आईडी प्रविष्ट गर्नुपर्नेछ । प्यान वा भ्याटमा दर्ता भएका ग्राहकले ‘हो’ चयन गरी प्यान नम्बर राख्नुपर्नेछ भने दर्ता नभएकाले ‘होइन’ चयन गरी अगाडि बढ्नुपर्नेछ । ग्राहकले आफ्नो पूरा नाम, बाबु वा पतिको नाम, बाजे वा ससुराको नाम, जिल्ला, पालिका, वडा नम्बर, टोल तथा नजिकको मुख्य स्थल चिन्ह खुलाउनुपर्नेछ । साथै नागरिकता वा राष्ट्रिय परिचयपत्र नम्बर, मोबाइल नम्बर र इमेल ठेगाना भरेर विवरण सबमिट गर्नुपर्नेछ । कार्यालयमै उपस्थित भएर विवरण अद्यावधिक गर्न चाहने ग्राहकले नागरिकताको प्रतिलिपि र जग्गाधनी प्रमाणपुर्जा अर्थात् लालपुर्जाको फोटोकपीसहित कोहलपुर वितरण केन्द्रको मुख्य प्रशासनिक भवन, कोहलपुर–११ स्थित कोठा नम्बर ५ मा उपस्थित भई फाराम भर्न सक्नेछन् ।
६० दिनसम्म महसुल नतिरे लाइन काटिने
केन्द्रले विद्युत महसुल बक्यौताबारे पनि ग्राहकलाई सचेत गराएको छ । मिटर रिडिङ भएको मितिले ६० दिनसम्म विद्युत महसुल नबुझाएमा प्राधिकरणको नियमानुसार जुनसुकै बेला विद्युत लाइन काटिन सक्ने सूचनामा उल्लेख छ । लाइन काटिने असुविधा तथा थप जरिवानाबाट बच्न समयमै विद्युत महसुल चुक्ता गर्न केन्द्रले ग्राहकलाई अनुरोध गरेको छ ।
विद्युत दुर्घटना भए यी नम्बरमा सम्पर्क गर्न आग्रह
विद्युतको पोल ढलेको, तार चुँडिएको, ट्रान्सफर्मर वा डिस्क पड्किएको, आगलागी भएको वा अन्य कुनै प्रकारको विद्युत दुर्घटना देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन केन्द्रले आग्रह गरेको छ । त्यस्ता समस्या देखिएमा कोहलपुर वितरण केन्द्रको नो–लाइट सेवाका लागि ०८१–५४०१११ र ०८१–५४००३९ मा सम्पर्क गर्न सकिनेछ । त्यस्तै, २४ सै घण्टा सञ्चालनमा रहने लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जको प्रादेशिक कल सेन्टरमा ११५० डायल गरी ९ थिचेर पनि जानकारी गराउन सकिनेछ । कल सेन्टरमा प्राप्त सूचना तत्काल कोहलपुर वितरण केन्द्रमा पुग्ने भएकाले विद्युतसम्बन्धी समस्याको छिटो र भरपर्दो समाधानमा सहयोग पुग्ने केन्द्रले जनाएको छ । नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालय नेपालगन्जअन्तर्गत रहेको कोहलपुर वितरण केन्द्रले ग्राहकलाई अनलाइन भुक्तानी प्रणाली प्रयोग गर्न, केवाईसी विवरण अद्यावधिक गर्न तथा विद्युतसम्बन्धी समस्या देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ ।
केवाईसि (KYC)फारमका लागि : https://kyc.nea.org.np/?
