कोहलपुर, असोज २३,
चाडपर्वमा महिला सुरक्षा र सामाजिक जिम्मेवारी विषयक अन्तरक्रिया तथा दशैँ, तिहारको शुभकामना आदानप्रदान कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ ।
सञ्चारिका समूह नेपालको बाँके शाखाको आयोजनामा तथा कोहलपुर नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष रूपा गहतराजको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि नवीन गिरीले चाडपर्वका समयमा महिला सुरक्षा, सामाजिक जिम्मेवारी र सञ्चार क्षेत्रको भूमिकाबारे आफ्नो धारणा राखेका थिए । उनले चाडपर्वलाई सुरक्षित, मर्यादित र सभ्य बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने विषयमा जोड दिएका थिए । पूर्व पत्रकार महासंघ बाँकेका अध्यक्ष नीरज गौतमले चाडपर्वका समयमा महिला तथा बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले सामाजिक विकृति र विसङ्गति न्यूनीकरणका लागि समाजका सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे ।
राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका कोहलपुर नगर समिति अध्यक्ष राजेन्द्र श्रेष्ठले सामाजिक जिम्मेवारी निर्वाह गर्दै महिला सुरक्षाका विषयमा सचेतना फैलाउनुपर्ने बताए। उनले महिला हिंसा तथा विभेदमुक्त समाज निर्माणका लागि सबै नागरिक जिम्मेवार बन्नुपर्नेमा जोड दिए । इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रहरी निरीक्षक सानु श्रेष्ठले चाडपर्वका समयमा हुन सक्ने महिला हिंसा, दुर्व्यवहार तथा अन्य सुरक्षा चुनौतीप्रति सचेत रहनुपर्ने बताइन्। उनले कुनै पनि हिंसाजन्य घटना हुन नदिन समुदाय र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको धारणा राखिन् । पत्रकार विष्णु बेल्वासे र पुष्पराज हमालले पनि महिला सुरक्षा, सामाजिक उत्तरदायित्व र चाडपर्वलाई सुरक्षित तथा मर्यादित रूपमा मनाउनुपर्ने विषयमा मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, पत्रकार तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा चाडपर्वको शुभकामना आदानप्रदानसँगै महिला सुरक्षा र सामाजिक जिम्मेवारीका विषयमा अन्तरक्रिया गरिएको थियो । संचारिका समुह बाँके शाखाको आयोजना तथा कोहलपुर नगरपालिका तथा वडा नम्बर २, ३, ५, ९, ११ र १३ नम्बर वडाको सहयोगमा कार्यक्रमा सम्पन्न भएको हो ।
