कोहलपुर, असोज २३,
नेपाल विद्युत् प्राधिकरणले अनलाइन माध्यमबाट विद्युत् महसुल भुक्तानी गर्ने सम्पूर्ण उपभोक्तालाई थप सुविधा दिने भएको छ ।
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्राधिकरणले ‘स्मार्ट पे रिवार्ड’ कार्यक्रम ल्याएको हो । नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख रमेश अवस्थीका अनुसार अनलाइनबाट विद्युत् महसुल भुक्तानी गर्ने ग्राहकले यसअघि पाउँदै आएको दुई प्रतिशत छुटसँगै थप शून्य दशमलव पाँच प्रतिशत स्मार्ट पे रिवार्ड पाउनेछन् । यससँगै डिजिटल माध्यमबाट महसुल तिर्ने सम्पूर्ण ग्राहकले कुल दुई दशमलव पाँच प्रतिशत छुट प्राप्त गर्नेछन् ।
पहिलो चरणमा छ महिनाका लागि लागू गरिएको यस कार्यक्रमले उपभोक्तालाई अनलाइन भुक्तानीतर्फ आकर्षित गर्नुका साथै विद्युत् महसुल तिर्ने प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ । अनलाइनबाट महसुल भुक्तानी गर्दा ग्राहकले कार्यालयको काउन्टरमा पुग्नुपर्ने झन्झटबाट मुक्ति पाउनुका साथै समय र आवतजावत खर्चसमेत बचत गर्न सक्नेछन् । डिजिटल कारोबारले नगदको प्रयोग घटाउने र वित्तीय कारोबारलाई थप पारदर्शी तथा सुरक्षित बनाउन पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।
त्यसैगरी, भौतिक काउन्टरमा लाग्ने जनशक्ति तथा स्रोतसाधनलाई अन्य ग्राहक सेवामा परिचालन गर्न सकिने भएकाले डिजिटल भुक्तानीलाई प्राथमिकता दिन आवश्यक रहेको प्राधिकरणले जनाएको छ । विद्युत् महसुल भुक्तानीलाई थप सहज र सुविधाजनक बनाउन ग्राहकहरूले मोबाइल बैंकिङ, डिजिटल वालेट तथा उपलब्ध अन्य अनलाइन माध्यम प्रयोग गरी समयमै महसुल भुक्तानी गर्न सक्नेछन् ।
प्राधिकरणले अनलाइन भुक्तानीबाट प्राप्त हुने अतिरिक्त छुटको लाभ लिन तथा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्न सम्पूर्ण घरेलु विद्युत् उपभोक्तालाई अनलाइन माध्यमबाटै महसुल तिर्न आग्रह गरेको छ ।
