कोहलपुर, असोज २३,
भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि कोहलपुर नगरपालिकाले २३ लाख ८४ हजार ६९५ रुपैयाँ संकलन गरी सम्बन्धित कोषमा जम्मा गरेको छ ।
कोहलपुर नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि तथा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको तर्फबाट उक्त रकम संकलन गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिएका छन् । आचार्यका अनुसार नगरपालिकाका कर्मचारीबाट १८ लाख ९३ हजार ८५४ रुपैयाँ, जनप्रतिनिधिबाट १ लाख ८८ हजार ४९३ रुपैयाँ र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको तर्फबाट थप ३ लाख २ हजार ३४८ रुपैयाँ सहयोग संकलन भएको हो ।
नेपाल सरकारको विपद् राहत तथा उद्धारसम्बन्धी निर्णयअनुसार नगरपालिकाका स्थायी, अस्थायी तथा करार कर्मचारीको तोकिएको अवधिको पारिश्रमिक बराबरको रकम कट्टा गरी राहत कोषमा जम्मा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताएका छन् ।
त्यस्तै, नगरपालिकाको भदौ १३ गते बसेको कार्यपालिका बैठकले जनप्रतिनिधिहरूबाट समेत राहतका लागि सहयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार वडा सदस्यबाट तीन दिन, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यबाट पाँच दिन र नगर प्रमुख तथा उपप्रमुखबाट सात दिन बराबरको पारिश्रमिक राहत कोषमा जम्मा गरिएको नगर प्रमुख आचार्यले जानकारी दिएका छन् ।
विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले कर्मचारी र जनप्रतिनिधिहरूले आफ्नो पारिश्रमिकबाट योगदान गरेको भन्दै नगर प्रमुख आचार्यले सहयोग गर्ने सम्पूर्ण कर्मचारी, जनप्रतिनिधि तथा सहयोगी मनहरूप्रति धन्यवाद र आभार व्यक्त गरेका छन् । उनले दुःखमा साथ र विपद्मा सहयोग गर्दै मानवीय सेवाप्रति नगरपालिकाको प्रतिबद्धता रहेको उल्लेख गरेका छन् ।
