कोहलपुर बिद्युत कार्यालयको विद्युतीय सुरक्षा तथा सचेतना कार्यक्रम, विभिन्न विद्यालयमा जारी

कोहलपुर, असोज २३,

नेपाल विद्युत् प्राधिकरण, कोहलपुर वितरण केन्द्रले बाँकेको राप्ती सोनारी गाउँपालिका–९ स्थित श्री गणेश माध्यमिक विद्यालयमा विद्युतीय सुरक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार आयोजित एकदिने कार्यक्रममा कक्षा ९ का करिब ५० जना विद्यार्थी तथा शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो । कार्यक्रममा बिद्युत्को सुरक्षित प्रयोग, बिद्युत् दुर्घटना न्यूनीकरण, बिद्युत् चुहावट नियन्त्रण तथा बिद्युत महसुलको अनलाइन भुक्तानीलगायतका विषयमा जानकारी प्रदान गरिएको कोहलपुर वितरण केन्द्रका प्रशासन प्रमुख मनोज जि.सीले जानकारी दिए ।

बिद्युत्को प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे विद्यार्थी तथा शिक्षकहरूलाई सचेत गराउने र विद्युत् दुर्घटनाबाट हुने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममार्फत बिद्युत्को सुरक्षित प्रयोगसम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै अनलाइन माध्यमबाट विद्युत् महसुल भुक्तानी गर्ने प्रक्रियाबारे समेत जानकारी आदानप्रदान गरिएको थियो ।

यसैगरि बिहीबार कोहलपुर नगरपालिका–२ स्थित श्री शिवशक्ति माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको थियो । यसभन्दा अघि पनि विभिन्न विद्यालयमा कार्यक्रम गरि सकिएको कार्यालय प्रमुख रमेश अवस्थीले जानकारी दिए । कार्यक्रम सफल बनाउन समन्वय तथा सहयोग गर्ने विद्यालय परिवार र सहभागी सबैप्रति कोहलपुर वितरण केन्द्रले धन्यवाद व्यक्त गरेको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !