प्रकृति प्रेमी
कोहलपुर, कार्तिक २२,
चितवन साहित्य परिषद्ले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसर पारेर तीन जना स्रष्टालाई सम्मान गरेको छ ।
परिषद्ले कार्तिक २१ गते भरतपुरमा एक कार्यक्रम आयोजना गरी साहित्य तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मान गरेको हो ।
भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनालको प्रमुख आतिथ्यता तथा चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चिसाप माधव खनाल स्मृति साहित्य पुरस्कारबाट चिरञ्जीवी दाहाल, चिसाप लीला–नर्मदा साहित्य पुरस्कारबाट मीना रिमाल र भीष्मकान्त शिक्षा साहित्य पुरस्कारबाट लकाश पौडेल सम्मानित भएका हुन् ।
सम्मानित व्यक्तित्वहरूको साहित्यिक तथा शैक्षिक योगदानबारे क्रमशः पूर्णबहादुर अधिकारी, बालकृष्ण थपलिया र केदारनाथ खनालले चर्चा गरेका थिए । पुरस्कारको राशि क्रमशः ३५ हजार, ४५ रुपैयाँ, १५ हजार ४५ रुपैयाँ र २५ हजार ४५ रुपैयाँ रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि, सभाध्यक्ष तथा पुरस्कारका संस्थापकहरूले सम्मानित स्रष्टाहरूलाई टीका र खादा लगाएर प्रमाणपत्रसहित नगद पुरस्कार हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि खनालले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै नेपाली साहित्यमा उहाँले पुर्याएको योगदानको चर्चा गरेका थिए । सोही अवसरमा कथाकार सीताराम कोइरालाको नवीनतम कथा सङ्ग्रह ‘बुधनियाको बर्बादी’ समेत विमोचन गरिएको थियो ।
चितवन साहित्य परिषद्का सचिव एवम् कवि नवराज ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार रमेश प्रभात, सुरेन्द्र अस्तफल, धनराज गिरि, रेवतीरमण खनाल, रामबाबु घिमिरे, सरला जोशी, होमनाथ घिमिरे, गायत्री श्रेष्ठ, प्रेम खनाल, पदमप्रसाद अर्याल, डा। धनेश्वर भट्टराई, सरस्वती रिजाल, बाबुराम ढकाल, अर्जुन अस्तफल, शिवराज लामिछाने, जमुनादेवी रिमाल, गणेश श्रमणलगायत करिब सात दर्जन स्रष्टा तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो ।
