झुपडीको व्यथासँग एकछिन आनन्दानुभूति–प्रकृति प्रेमी

साहित्यमा किसान प्रेमीका नामले परिचित किसान वि.क. खातीका पिता दलबहादुर हुन् । माता पार्वती खातीको कोखबाट वि.सं. २०१९ वैशाख २१ गते बागलुङमा जन्मिएका उनी पत्नी गीता खाती र छोराहरू किसुसन र रविनका साथ भरतपुर–१२ किसानकुटीमा स्थायी बसोबास गर्छन् । निजामती सेवाबाट निवृत्त किसान पछिल्ला दिनहरूमा अध्ययन, भ्रमण, लेखन र साहित्यिक सामाजिक भेलाहरुमा उपस्थितिमा व्यस्त देखिन्छन् । उनको पहिलो प्रकाशित कविता “जनताको विलौना“ हो जुन साहस साप्ताहिकमा २०५२ सालमा छापिएको थियो ।

साहित्यका विविध विधामा कलम चलाउने किसानका हालसम्म “गाउँबस्ती रोइरहेछ“ (कविता संग्रह२०५९) , “गजब छ मान्छे” (गजल संग्रह २०६३) र “चेतना“ (खण्डकाव्य २०६९) छन् । झुपडीको व्यथा लघुकथा संग्रह(२०८०) उनको पछिल्लो कृति हो । तरन्नुम शैलीमा गजल गुन्गुनाउन मन पराउने फुटकर लेख रचनाहरु स्थानीय तथा राष्ट्रिय पत्रपत्रिका एवम् एफ.एम. रेडियोहरुबाट प्रकाशित , प्रसारित हुने गरेको पाइन्छ भने उनका अन्तर्वार्ताहरु पटकपटक सुनिरहेकैँ छौं । “अञ्जानमा गयौ कि?“ गजल संग्रह प्रकाशनको तयारीमासमेत उनी जुटेका छन् ।

किसान प्रेमी गजलमञ्च चितवनको संस्थापक तथा पूर्वअध्यक्ष, प्रगतिशील लेखक संघ, चितवनको पूर्वउपाध्यक्ष, अभिव्यञ्जना साहित्य प्रतिष्ठान चितवनको पूर्वकोषाध्यक्ष, साहित्य संगम चितवनको आजीवन सदस्य, राष्ट्रिय जनसाहित्यिक संघ नेपालको केन्द्रीय सदस्य, नेपाल राष्ट्रिय दलित साहित्य प्रतिष्ठानको पूर्व केन्द्रीय सदस्य रहेर साहित्यिक एवम् सामाजिक संघसस्थाहरुमा सेवा प्रदान गरिसकेका छन् ।
वर्गीय मुक्ति र जातीय दलन भत्काउन निरन्तर कलम चलाइरहने किसान प्रेमीले कालिका एफ. एम. चितवन, हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवन, गजल मञ्च चितवन, साहित्य संगम चितवन, पं निलकण्ठ पौडेल साहित्य प्रतिष्ठान, पल्लव साहित्य प्रतिष्ठान चितवन लगायत दर्जनौं साहित्यिक, सामाजिक संघसस्थाहरुबाट पुरस्कृत, सम्मानित भैसकेका छन् । झुपडीको व्यथाभित्र समावेश भएका ५२ वटा लघुकथाहरुमाथि निहित रहेर पाठकीय प्रतिक्रिया दिने प्रयत्न यहाँ गरिँदैछ :

ए, अचम्म संग्रहको पहिलो कोशेली हो जहाँ एउटा बालकले बाबुले चलाउने रिक्सामा बसिदिन यात्रीलाई गरेको मीठो आग्रह, यात्राभरि बालकले अनुभव गरेका जीवनभोगाई चित्रण गरिएको छ । छोरालाई पढाउने र छोरीलाई मेलपात, घरको काममा लगाउने र गाउँसमाजले कुरा काटे भनेर छिट्टै बिहे गरिदिने प्रचलनलाई “ओसिलो आँखा” मा उतारिएको छ ।
विदेश जाने प्रलोभनमा आफ्नै प्रेमीलाई धोका दिएर विवाह गरेको पुरुषबाट स्वयम् धोका पाएको परिवेश सोचेको जस्तो कहाँ हुन्छ ? कथामा भेटिन्छ ।

सहिद दिवसमा सहिदहरुको त्याग र बलिदानबाट प्राप्त गणतन्त्रमा नेताहरू निजी स्वार्थ र लुटतन्त्रमा लिप्त भएकोमा अवस्थामा सहिद पत्नीको माध्यमबाट देश र जनताका लागि काम गर्न र सहिदहरुको सपना पूरा गर्न नेताहरूलाई खबरदारी गरिएको छ । विनोद वृद्दाश्रममा अमेरिकाप्रतिको मोहले घरगृहस्थी तहसनहस भएको देखाइएको छ । हवल्दारनीको चिठी मा राजनीतिक द्वन्द्वग्रस्त समयमा हवल्दारले आफ्नै छोरालाई गोली हानेर मारेको कथावस्तुले विह्वल बनाउँछ ।

गोहीको आँशुमा अर्को व्याजदरमा रिन दिने तर विचरालाई साँच्चिकै आपत परेको रहेछ भनेर दुःख व्यक्त गर्ने प्रवृत्तिलाई उजागर गरिएको छ ।
‘सानोको जिन्दगी’मा माछालाई विम्व बनाएर ठूलाले सानालाई खाएर जिन्दगीको यात्रामा अघि बढ्ने कुरा व्यक्त छ । भरियाको जीवनमा शाहुमहाजनले भरियाप्रति गर्ने क्रुर व्यवहार देखाइएको छ ।
दलितले मन्दिरभित्र गएर पुजा गर्न नहुने तर उनीहरूले चढाएको रुपैयाँ चाहिँ लिन प्रवृत्ति विडम्बना कथामा दर्साइएको छ ।
विधवा आमाले अनेक दुःखकष्ट गरेर हुर्काएको तर उसले एउटी केटीले धोका दिएर अर्को पुरुषसँग विवाह गरेपछि विषपान गरेर आत्महत्या गरेको विषयवस्तु अधुरो कथामा भेटिन्छ ।

ऐनाको टुक्रामा एउटा दलितले कथित ठूला जातको दुधको भाँडो छोएको निहुँमा मरणासन्न कुटाइ खाएको तर उल्टै जरिवाना तिर्नुपर्ने सन्दर्भलाई उल्लेख गरिएको छ । बाढीले विस्थापितहरुलाई राहत बाँड्न आउदा ज्यानको बाजि खोला तरि आएका वृद्दालाई पल्लो गाउँको भनेर राहत नदिएको घटनालाई राहतको पोकोमा दर्साईएको छ ।
दुई पक्षबिचको लडाइँमा अर्को तेस्रो पक्षसमेतलाई क्षति हुने कुरा साँढेको लडाइँ बाच्छाको मिचाई मा छ । डाक्टरहरु सरकारी अस्पताल र निजी क्लिनकमा बिरामीप्रति गरिने व्यवहार, प्रदान गर्ने सेवासुविधाप्रतिको भिन्नता युवा पत्रकारमा पाइन्छ ।

नेताले छोरालाई उच्च शिक्षा पढाउनभन्दा आफूजस्तै नेता बनाउन गरेको अठोट र छोराले झुट बोल्नुपर्छ नेता बन्दिन भन्ने अठोटलाई अठोट कथामा प्रस्तुत गरिएको छ । पत्रपत्रिका घर र कविजी मा पसले पत्रिका बिक्री नभएर चिन्तित भएको र कविजी अभावका कारण पत्रिकाको बार्षिक ग्राहक बन्न नसकेको यथार्थ छचल्किन्छ ।
“तिमीजस्ता साहसी मेरा असल साथी हौ“ चियापसलमा चियासँगै आफ्नो जवानी साटिरहेकी महिलाको दिनचर्या देखाउन खोजिएको छ । घरव्यवहार, छोराको पढाइसमेतलाई वेवास्ता गरि कविता सिर्जनामा तल्लिन एउटा प्रतिनिधि कविको कथा कवितामा हराएका कवि मा पाउन सकिन्छ ।
निष्ठुरी रातले नेपालको स्वास्थ्य स्थिति, राजनीतिक द्वन्द र प्राकृतिक प्रकोपको चित्रण गरिएको छ, टेलिफोनको घण्टीमा घरव्यवहारको वेवास्ता गर्ने महिला र छोरा बिरामी छ अस्पताल लैजानुपर्यो भन्दा अफिसमा धेरै काम छ आउन भ्याउन्न भनेर हाकिमबिचको रोमान्स चित्रण छ । सुनमायामा सासुको दुव्र्यवहार सहन बाध्य बुहारीको पीडादायी कथा छ । अनिश्चित यात्रामा कुखुरीले आफ्ना चल्लाहरुलाई बाजबाट जोगाउन गरेको संघर्ष, पाएको सफलता छ ।

“कोही नपाएर त्यही जैसिनीको छोरासँग डेरामा बसेको रैछस् हैन …?“ माइतीको खोक्रो ईज्जत जाने डरले देवरको छोरालाई इंगित गरी बोलेको कटुवचन र गरेको दुर्व्यवहार ‘उज्यालोतिर’ पाउन सकिन्छ । मन्त्रीपरिषद् गठनको पुर्वसन्ध्यामा दर्शकदिर्घाबाट अर्को आवाज आएपछि सहिद पत्नी र छोरालाई मञ्चमा ससम्मान राखिन्छ यसबाट नेतागणहरु लज्जित भएर भुइँमा बसेको अन्दाज मा भेटिन्छन् ।

“तिमी नै रहेनौँ भने यो संसार नै अध्यारो हुन्छ, म यी शोषकहरुको कठपुतली हुन्छु“ यो उत्कृष्ट अभिव्यक्ति भुमरीमा परेको कथामा पाउन सकिन्छ । सोचमा कुलतमा लागेको छोराले लोकतान्त्रको खिल्ली उडाएकोमा राष्ट्रिय भावनाले ओतप्रोत बाबुले थप्पड हानेर खबरदारी गरेका छन् । गरिब, दलित समुदायबाट विद्यालय बनाउन श्रम लिने तर पढ्न नदिने प्रवृत्तिलाई खै चेतना ? मा उजागर गरिएको छ ।
विद्यालयको जागिरले घरगृहस्थी धान्न नसकेपछि घरखेत बेचेर बुझाएको रकम लिएर म्यानपावर भागेपछि आत्महत्या गर्न विवश पात्रको दर्दनाक कथा सपना टुक्रिएपछि मा छ । दलितले बोकेर लगेको पुजासामाग्री सुनपानीले चोख्याउन खोज्ने प्रवृत्तिलाई मुखिनीमार्फत् मनले माने सबै ठिक कथामा गलत सावित गरिएको छ ।

संघर्षपुर्ण जिन्दगी व्यतित गर्दै छोराछोरीको पालनपोषण, शिक्षादीक्षा दिएको तर उनीहरू ठूला भएपछि वृद्दाश्रम मा जीवनलिला समाप्त गर्न विवश प्रतिनिधि पात्रको कथा एकल वृद्धको कथामा छ । कथा विशेषांकमा लेखक, सम्पादक, प्रकाशक , विज्ञापनदाता र पुरस्कार वितरणमा हुने राजनीतिप्रतिको व्यंग्य छ ।
शिक्षकले विद्यार्थीलाई, “बाबुसँगै कपडा सिलाउन छाडेर केको पढ्न आईस् ?“ भन्दा बालमष्तिष्कमा उब्जिएका विविध प्रश्नहरुको जवाफ चेतनामूलक विज्ञापनमा खोजिएको छ ।
नयाँ बिहानीमा अर्को ब्जाजदरमा सावा रिन असुल्ने र हङकङलगायत देशमा जान अर्काको छोराछोरी , श्रीमती साटासाट गर्न पनि पछि नहट्ने घृणित प्रवृत्तिको चित्रण छ ।
सोझा, निमुखा सर्वसाधारणको जग्गा बैंकमा राखेर ठगी गर्ने प्रवृत्ति भूमाफियामा पढ्न सकिन्छ । साहित्यिक कार्यक्रममा प्रमुख अतिथिबाट “कामीको पालो पुसमा आउँछ“ भन्ने भनाइलाई इंगित गर्दै यस्ता वाक्याहरुले साम्प्रदायिक एकतामा खलल पु¥याउने शिक्षा ‘परिवर्तन खै ?’ कथाले दिएको छ ।
समाजमा कुप्रथाको रुपमा रहेको दाइजो प्रथा हटाउन अभियान चलाएका पात्र शिक्षित र साथ दिन्छु भन्नेहरु नै दाइजो लिनेदिने गरेको देखेर दिक्क मानिरहेको विषय दाइजो प्रथामा समेटिएको छ ।

साहित्यकारको अन्तर्वार्ता भन्दा मन्त्रीको मन्तव्य प्रसारण गर्न चाहने रेडियो , टेलिभिजनको पार्टीको चाकरी गर्ने प्रवृत्तिलाई माफ गर्नु है चित्रण गरेको छ । समाजसेवाको खोल ओढेर अकुत सम्पत्ति कमाइरहेका पात्रलाई अख्तियारले समातेको विषय कर्मको फल कथामा भेटिन्छ ।
कुकुरको पुजा गर्दा मान्छेलाई छोईन्छ भन्ने रुढीबादी परम्परा कुकुर तिहारमा उजागर गरिएको छ । जनयुद्धमा परिवार गुमाएका, अंगभंग भएका, शरिरभरि बम र गोलीका छर्रा लिएर बाँचिरहेकाहरुको पीडा जिउँदा सहिदमा छ ।
दशैँ केटाकेटीका लागि नयाँ लुगा, पिङ, दक्षिणा र चंगा का लागि विशेष मानिन्छ । गरिब परिवारको बालकले चंगा किन्न नसकेर आफैँ बनाउन खोज्दा आमाबाट खाएको पिटाइ चंगा कथामा छ ।

वैदेशिक रोजगारमा गएको छोराको मृत्युको खबरले परिवारमा भएको रुवावासी सपना हो कि विपना ? कथाले प्रतिनिधित्व गर्दछ । कच्चा वैद्यको मात्रा यमपुरीको जात्रा भन्ने उखान मुर्ख गोपीराममा चरितार्थ भएको छ ।
गरिब वस्ती, चेतनाको अभाव, बिहानबेलुकी खानलाउनको समस्याले विद्यालय जान नसकेको विद्यार्थी र उनको बाबुलाई शिक्षकहरु, साथीहरूले सम्झाएर पढ्न जाने वातावरण तयार गरिएको कथा झुपडीको व्यथामा समेटिएको छ । सबैभन्दा बढी आर्थिक अनियमितता हुने हाकिमको कोठामा पनि सिसि क्यामेरा हुनुपर्ने र कम्प्युटर गेटबाहिर सर्वसाधारणले देखिने गरि राखिनुपर्ने सन्देश सिसीक्यामेरा कथाले दिएको छ ।
पारिवारिक कलहले माइत पुगेकी बुहारी, विदेश पुगेको छोरो फाँसीको सजाय पाउन लागेको खबरले बाध्यता कथा पठनीय छ । अरुबेला मुन्टो फर्काएर हिड्ने तर चुनावको बेलामा गरिने भोजभतेर, आर्थिक चलखेलविरुद्द गरिएको खबरदारी प्रतिकार कथामा पाइन्छ । धनी र गरिबबिच, कमाउने र नकमाउने छोराछोरीबिच, आफ्नो र अर्काको पार्टीबिच गरिनेफरक व्यवहारलाई दुहुनो गाई र गोरुको उपमा दिएर स्वार्थ कथामा प्रस्तुत गरिएको छ ।

“बा, विष्टहरुले कामीलाई देखेपछि साइत पर्दैन भन्दा रैछन् ,किन होला?“ यो प्रश्नको जवाफ ’कुत्सीत परिपाटी ले दिने प्रयास गरिएको छ ।
अस्पताल भर्ना भएको व्यक्ति हिजोसम्म मजासँग गफ गरिरहेको , खाना खाएको बिरामीको भोलिपल्ट मृत्युु हुँदा अस्पतालको सेवासुविधा र नियतमाथि प्रश्न उठाउने ठाउँ आकाश खस्यो कथामा भेटिन्छ । छोराको मृत्युुबाट विक्षिप्त भइ एकोहोरिएकी आमाको हेरविचार, स्याहारसुसार गर्नुपर्ने, मातृसेवाभन्दा ठूलो कुनै धर्म नहुने सन्देश आमाको माया कथाले दिएको छ, जुन संग्रहको अन्तिम कथासमेत हो ।
यसरी हेर्दा झुपडीको व्यथाभित्र अभावको कथा छ, राजनीतिक द्वन्द्व र यसले निम्त्याएको समस्या छ, समाजसेवाको नाममा गरिएको ठगी धन्दा छ, सामन्ती प्रवृत्ति छ । यतिमात्रै होइन दाइजोजस्तो कुप्रथा, जातीय विभेद, छुवाछूत, सहिदहरुका सपनाप्रति खेलवाड, नेताहरुको व्यवहारप्रति गरिएको खबरदारी सबै सबै पाउन सकिन्छ ।

कथाहरु पढ्दा प्रत्येक कथाले कुनै न कुनै सन्देश दिएकै छन् । कथाहरू हामीले भोगेका, देखेका अनुभव गरेका र अघिल्लो पुस्ताबाट सिकेका, सुनेका भोगाइहरु तरंगित छन् । पात्रहरुको स्वभाव, घटनाक्रम र परिवेशले कथाहरू पढ्दा आनन्दानुभूति प्रदान गर्दछन् ।
बाह्र वर्षपछि खोलो फर्किन्छ भन्ने युक्तिलाई चरितार्थ गर्दै चेतना खण्डकाव्य प्रकाशन भएको १२ वर्षपछि नै लघुकथा संग्रह झुपडीको व्यथा बजारमाझ आइपुगेको छ ।
समय पहिलेको जस्तो छैन, कृति प्रकाशन गर्ने क्रम बढेसँगै वौद्विक पाठकहरुको संख्यामा वृद्धि भएको छ । यतिमात्रै होइन सामाजिक सञ्जालमार्फत् दिनहुँ पोस्ट गरिने सयौं सिर्जनाहरुले लेखकलाई लेखक मात्रै होइन पाठक बन्नसमेत तयार हुनुपर्ने अवस्था आएको छ ।

प्रतिस्पर्धात्मक युगमा लेखकलाई साथ र हौसला प्रदान गर्ने पारिवारिक वातावरण, कृति प्रकाशनमा प्रेरणा दिने रमेश प्रभात, उदय अधिकारी जस्ता समालोचक र लेखराम सापकोटा जस्ता सह्दयी मन भएका व्यक्तिहरुको हौसला र सहयोगले स्रष्टालाई स्थापित गराउन मद्दत पुग्नेछ । कृति सफलताको सविशेष शुभकामना स्रष्टा किसान प्रेमीलाई ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !