कोहलपुर, पुष ३०,
श्री राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगर ब्यारेक बाँकेमा सञ्चालन भइरहेको शीर्ष ५१औँ ब्याच जुनियर डिभिजन एनसीसी तालिम अन्तर्गत आयोजित सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।


कार्यक्रममा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न विद्यालयहरूबाट छनोट भई आएका १८ वटा विद्यालय सहभागी भएका थिए । विद्यालयहरूबीच भएको सांस्कृतिक प्रतिस्पर्धामा श्री सैनिक आवासीय माध्यमिक विद्यालय सुर्खेत प्रथम, श्री दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय कैलाली दोस्रो र श्रीकृष्ण माध्यमिक विद्यालय, बाँके तेस्रो हुन सफल भएका छन् । सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि श्री उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी श्री दिपेश जंग शाह रहेका थिए ।

कार्यक्रममा श्री चारवाहिनी अड्डाका सहायक रथी बाहिनीपति श्री प्रशान्त विक्रम राणा, श्रीपश्चिम असवाव खाना प्रमुख श्री महासेनानी सुबेस कायस्थ, श्री शिशिर केसी राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी शिशिर केसी, श्री बज्रदल गणका प्रमुख सेनानी रामचन्द्र श्रेष्ठ, श्री मध्यपश्चिम तालिम शिक्षालयका प्रमुख सेनानी दिनेश घले, सशस्त्र प्रहरी जवान तालिम शिक्षालय निमित्त समादेशक लगायत विभिन्न पदस्थ अधिकारी तथा अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

एनसीसी तालिम अन्तर्गत सहभागी १८ विद्यालयका क्याडेटहरूलाई बुधबार आयोजना हुने दीक्षान्त कवाज कार्यक्रममार्फत दीक्षित गरिने जानकारी दिइएको छ । दीक्षान्त समारोहमा उपरथी श्री दिपेश जंग शाहले क्याडेटहरूलाई दीक्षित गर्ने कार्यक्रम तय भएको छ । यस्ता गतिविधिहरूले विद्यार्थीहरूमा सांस्कृतिक पहिचानको संरक्षण तथा राष्ट्रप्रेमको भावना मजबुत बनाउने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ ।


