सेवा सुविधा सस्तो र सुलभ छ, कुनै शुल्क महँगो लिएका छैनौँ’ श्रीअगा हस्पिटल

कोहलपुर, असोज ६,

सामाजिक सञ्जालमा श्रीअगा हस्पिटलले बिरामीबाट चर्को शुल्क असुल्ने गरेको आरोप सार्वजनिक भएपछि अस्पताल प्रशासनले त्यसको खण्डन गरेको छ।

अस्पताल प्रशासन प्रमुख श्रीराम चौधरीका अनुसार एक बिरामीको जम्मा बिल १ हजार ५ सय २५ रुपैयाँ आएको थियो । उक्त रकममध्ये इमरजेन्सी पर्चाको शुल्क २ सय रुपैयाँ, एक्स–रेको ८ सय २५ रुपैयाँ र चिकित्सकको कन्सल्टेसन शुल्क ५ सय रुपैयाँ रहेको उनले बताए । डाक्टरको ड्युटी समय सकिइसकेको अवस्थामा इमरजेन्सी सेवाअन्तर्गत कन्सल्टेसन शुल्क ५ सय रुपैयाँ लिइएको चौधरीको भनाइ छ। उनका अनुसार सामान्य समयमा भने चिकित्सकको कन्सल्टेसन शुल्क १ सय रुपैयाँमै सेवा दिइँदै आएको छ।

प्रशासन प्रमुख चौधरीले अस्पतालले बिरामीलाई उपलब्ध गराउँदै आएको सेवा सुविधा सस्तो तथा सुलभ रहेको दाबी गर्दै कुनै पनि सेवामा अनावश्यक वा महँगो शुल्क नलिएको दावी गरे । उनले भने,-‘अस्पतालले बिरामीलाई सस्तो र सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । कुनै पनि चार्ज महँगो लिइएको छैन ।’

सामाजिक सञ्जालमा अस्पताल र चिकित्सकमाथि लगाइएका आरोपप्रति अस्पताल प्रशासनले आपत्ति जनाउँदै वास्तविक शुल्क तथा सेवाका आधारमा विषयलाई बुझ्न आग्रह गरेको छ। बाँकेको कोहलपुरस्थित श्रीअगा हस्पिटलले बिरामीबाट चर्को शुल्क असुल्ने गरेको आरोप सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भएपछि अस्पताल प्रशासनले सेवाग्राहीहरुमा अफवाह नफैलाउन आग्रह गरेको छ । यता सुदीप खड्का भन्छन्,-‘श्रीअगा अस्पतालमा उपचारका क्रममा आफ्नी छोरीको स्वास्थ्यमा हेलचेक्र्याइँ भएको, चिकित्सकले आफ्नी छोरीको हातमा प्लास्टर गर्नुपर्ने बताएका थिए, तर आफूले छोरीलाई अर्को अस्पतालमा लैजाने बताएपछि भने एकाएक प्लास्टर गर्नुपर्ने अवस्था नरहेको र हात निको भएको बताइएको बताए ।

खड्काले भने, “डाक्टरले मेरो छोरीको हातमा प्लास्टर गर्ने भनेपछि मैले अर्को अस्पताल लैजान्छु भनेँ । त्यसपछि एकाएक हात निको पारियो । यहाँ आर्थिक कुरा मात्रै रहेन, बच्चाको स्वास्थ्यमाथि पनि खेलवाड भएको महसुस भयो ।” उनले भने, “मैले जस्तै पीडा अरू कसैले भोग्न नपरोस् भनेर जानकारी गराएको हुँ। स्वास्थ्यमा हेलचेक्र्याइँ गरेर गलत उद्देश्यले आर्थिक लाभ लिने प्रवृत्तिका कारण अरू बिरामीलाई पनि यस्तो नहोस् भन्ने मेरो उद्देश्य हो।”

 

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !