बिधुत्मा रैका,
कोहलपुर, मंसिर ८,
कर्णाली, मानव सभ्यता र संस्कृतिसँग जोडिएको एउटा आधार हो । कर्णाली सुन्दर छ । निश्चल छ । र कर्णाली शान्त पनि छ । यो एउटा इतिहास हो । बेलाबेला आफ्नो स्वरूपलाई कर्णाली आफैले बिगार्ने पनि गर्दछ । यो एउटा सिंगो सभ्यता पनि हो । कर्णाली केबल नाम मात्रैको कर्णाली हैन । वास्तवमा यो नदिसँग जोडिएको सभ्यता पनि हो ।
यही सभ्यतासँग जोडिएको छ यहाँ मानिसहरूको जीवन । नेपालका ७ प्रदेशमध्ये कर्णाली प्रदेश क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो, ३०,२११ वर्ग कि.मी.मा अवस्थित छ । इतिहासलाई केलाउने हो भने त्यसबेला पनि कर्णाली एक शक्तिशाली र समृद्ध राज्य थियो । बार्हौ शताब्दीमा नागराजले पालराज्य जितेपछि आफ्नो राजधानीको नाम सिँजा राखेका थिए । खस राजधानी सिँजा, नेपाली भाषा, संस्कृति र साहित्यको मूल उद्गमस्थल पनि हो कर्णाली ।
प्राकृतिक सुन्दरताले सजिएको यो प्रदेश पौराणिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदामा निकै धनि छ । यस प्रदेशमा हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान र सुर्खेत गरी १० वटा जिल्लाहरू रहेका छन् । सुर्खेतको वीरेन्द्रनगर यसको राजधानी हो भने यस प्रदेशको पूर्वमा गण्डकी प्रदेश, पश्चिममा ७ नम्बर प्रदेश, उत्तरमा छिमेकी राष्ट्र चीन र दक्षिणमा लुम्बिनी प्रदेश रहेका छन् ।
कर्णाली देख्दा सुन्दर लागे पनि, यहाँ दुःखको ठूलो पहाड छ । सुन्दर हुनु भनेको दुःख हुनु पनि हो । तथापी यहाँ सम्भावना पनि उत्तिकै प्रचुर मात्रामा रहेका छन् । सम्भावनाहरूको उचित्र मात्रामा अझै पनि पहिचान भने हुन सकेको छैन । दुःखलाई लिएर हिड्न सक्नेहरू मात्रै यहाँ टिक्न सकेका छन् । यहाँका सुख, दुःखका साथी भनेकै यहाँ दिनरात खट्दै आएका महिला तथा बालबालिकाहरू नै हुन् । अक्सर पुरूषहरू कामका लागि जिल्ला बाहिर, छिमेकी देश भारत र अन्य मूलुक जाने भएकाले पनि यहाँका दुखसँग जुझ्ने भनेकै पहिलो पात्र महिलाहरू नै हुन् । त्यसपछि दोस्रो पात्रका रूपमा यहाँका बालबालिकाहरू रहेका छन् । किनभने, बालबालिकाहरू बाहिर जान नसक्ने र सबैको पहुँच बाहिरी जिल्लाको बसाइ नभएकाले पनि हो ।
गााउँमा रहेका यहाँका मानिसहरु प्रत्यक्ष खेतीकिसानी, वनजंगल अथवा वरिपरी रहेका प्राकृतिक सम्पदाको उपयोग र व्यवस्थापनमै आफ्नो दैनिकी चलाउँदै आएका छन् । पछिल्ला वर्षहरूमा यिनै प्राकृतिक सम्पदाहरूको चरम दोहन, लापरवाही जस्ता कुराहरूले यिनीहरूको स्वरूप बिग्रदो अवस्था आएको छ । मानिसले यिनै प्राकृतिक कुराहरूको उचित उपयोग र व्यवस्थापन गर्न नसक्दा विस्तारै त्यसको असर मानव लगायतको जीवनमा देखिँदै जान थालेको छ । विस्तारै मौसम परिवर्तनको असर देखिन थालेको छ ।
कुनै पनि ठाउँमा विकास हुनु राम्रो पक्ष हो । तर पनि विकास गर्दा सकेसम्म प्रकृतिको स्वरूपमा धेरै परिवर्तन नहुने र त्यसलाई असर नपुग्ने गरि विकास गर्नु पर्ने कुराको ख्याल नगरि काम गर्नाले त्यसको असर देखिन थालेको छ । औद्योगिकरण र प्राकृतिक स्रोतको विनाशले जलवायु परिवर्तन हुन गई कर्णालीको समाज, अर्थव्यवस्था र पारिस्थितिक प्रणालीलाई असर गरिहेको छ । यसले जटिल तथा खतरनाक मौसमका घटनाहरू, हिमालय लगायत मानव जीवन, सामाजिक–आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पु¥याउन थालेको छ । फलस्वरूप अतिवृष्टि, अल्पवृष्टि, बाढी, पहिरो, हावाहुरी, असिनापानी, हिमपहिरो, सुख्खा पहिरो, धुलो, तुवालो लाग्ने जस्ता प्राकृतिक विपद्को जोखिम निम्तिने खतरा देखिएको छ । खेतबारीमा उब्जाउ कम हुने भएकाले र आफू कसरी बाँच्ने र बालबालिकाहरूलाई कसरी बचाउने भन्ने कुराले पिरोल्दै आएको छ ।
पछिल्लो समय भैरहेको जलवायु परिवर्तनले यहाँको जनजीवनमा विस्तारै प्रभाव देखिन थालेको छ । दैनिक रूपमा तापमान र मौसमको स्वरुपमा आएको परिवर्तनले यहाँका मानिसहरुरको दैनिकलाई प्रभाव पारिरहेको छ । यति मात्र हैन जलवायु परिर्वतनले वनजंगलमा समेत असर पारिरहेको छ । हिजो हरिया देखिने गरेका डाँडा पाखा, वनजंगल अचेल नाङ्गा, रूखो र बन्जर देखिन थालेका छन् । जलवायु परिवर्तनले खाद्यान्न उत्पादनमा समेत कमि हुँदै आएको छ । यहाँका सम्पूर्ण मानिस तथा जीवजन्तुमा परिरहेको छ । जलवायु परिवर्तनले विस्तारै यहाँका वासिन्दामा नकारात्मक असर पार्दै आएको छ ।
जलवायु परिवर्तनका कारणले पशुपालनका लागि राम्रो घाँस उब्जिन कम हुँदै गएको छ । पहिले जस्तो हिमालमा हिउँ देखिएको छैन । जलवायु परिवर्तनले गर्दा हिमालको हिउँ केहि महिनामै पग्लेर जाने, खोलानालामा पनि पानीको सतह घट्ने बढ्ने भएकाले नदिसँग आश्रीत परिवारहरू विस्तारै समस्यामा पर्दै जान थालेका छन् । पानीका मुहानहरू विस्तारै सुक्न थालेपछि त्यसको सोझो असर मानव तथा जीवजन्तुको जीवनयापनमा पर्न गर्नको छ । थुप्रै ठाउँमा मूल सुकेका वा अभाव बढेकाले पानी ल्याउनका लागि टाढा–टाढासम्म पुग्नुपरेको छ । यहाँका मानिसहरु जीविकोपार्जनका लागि कृषिमा निर्भर छन्, अर्थात् कर्णालीमा खाद्य असुरक्षा बढी रहेको छ । भौगोलिक हिसाबले दुर्गम रहेको कर्णालीका मानिसहरु मौसम पुर्वानुमानको जानकारीमा कम पहुँच, बाली र जीविकोपार्जनका कम विकल्प, अन्य आयश्रोतको अभाव, र वित्तीय संस्था र कर्जामा कम पहुँचका कारण पनि जलवायु परिवर्तनको बढी असर पर्ने गरेको पाइन्छ ।
हिमाली क्षेत्रका मानव जातिमा जलवायु परिवर्तनको अझ धेरै प्रभाव देखिन्छ । जानकारी, स्रोतसाधन र अनुकूलन सबैमा उनीहरूको पहुँच र क्षमता कम भएका कारण यो समस्याको चपेटामा परिरहेका छन । इतिहासको कुनै कालखण्डमा आत्मनिर्भर, आर्थिक सम्पन्नता भएको यो क्षेत्र राज्यबाट घोर उपेक्षाका कारण परनिर्भरताका साथै रोग, भोक, अशिक्षा र अभावको परिचायक बन्न गएको छ भने अर्कोतिर विकास सम्पूर्ण तहमा राष्ट्रिय मूल प्रवाहबाट अलग छ । अन्य क्षेत्र तथा अन्य देशमा गर्ने ठूल्ठूला विकासका कामले नेपालको पश्चिम उत्तरी पहाडी तथा हिमाली जिल्लामा बसोबास गर्ने समुदायहरूमा असर पर्न थालेको छ ।
कर्णालीका १० जिल्लाका आम समुदाय नै जलवायु परिवर्तनको असरको मारमा छन् । यहाँका नागरिकहरुको स्वास्थ्यमा निकै समस्या देखिन थालेको छ । जलवायु परिवर्तनले गर्दा राम्रो उब्जान हुन सकिरहेको छैन । पोषणयुक्त खाने कुरा छैन् । महिलाहरूको स्वास्थ्यमा बढी समस्या देखिन थालेपछि आवश्यक मात्रामा दुध खानबाट नवजात शिशुहरू पनि वञ्चित अवस्थामा छन् भने विस्तारै स–साना बालिबालिकाहरू कुपोषणको शिकार हुँदै गएका छन् । बालबालिकाहरू निरोगी हुनुको साटो रोग लिएर बाँच्नुको दोस्रो विकल्प नभएको अवस्थामा छन् । जलवायु परिवर्तनले गर्दा खोलानालामा बाढि, पहिरो आउने भएकाले बालबालिकाहरूलाई विद्यालय जान आउन पनि निकै समस्या देखिएको छ । असिनापानी लगायतले बाली नष्ट गरिदिने भएकाले पनि अन्न उत्पादनमा कमि हुँदै आएको छ । जसका कारण सोचेजति उत्पादन हुन सकेको छैन ।
जलवायु परिवर्तनले खेतीवाली नष्ट गरिदिने, अनिकाल लाग्ने, बच्चाहरु कुपोषित हुने जस्ता थुप्रै समस्याहरु भोग्दै आएका छन् । लामो समयदेखी टाढाबाट पानी ओसार्ने, घाँसदाउराको लागि पनि निकै टाढा जानु पर्ने, थोरै कामको लागि पनि धेरै समय खर्चिनु पर्ने जस्ता समस्या झेलदै छन् कर्णालीवासी । धारामा फागुन, चैत र वैशाखमा नियमित पानी नआउने जस्ता समयस्या कर्णालीका नौला समस्या होईनन् । यहाँका मान्यता, जीवनयापन, खाद्यान्न, पानी र ऊर्जाको प्रयोग, पारिवारिक जीवन, चिन्ता लगायतका क्षेत्रमा नकारात्मक असर पारिरहेको छ ।
जलवायु परिवर्तनले कृषि क्षेत्रमा बढी नकारात्मक असर परेको छ । जलवायु परिवर्तनले कीराकीरीको प्रकोप बढिरहेको छ । पराम्परागत बाली लोप भएका छन् । जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य संकटले बालविवाहलाई पनि बढावा दिएको देखिन्छ । जसबाट किशोरीहरूको स्वास्थ्य जोखिममा परिरहेको छ । तापक्रम र वर्षात्को चक्र, खडेरी, यही गतिमा बढ्दै जाने हो भने कर्णालीमा आउने शताब्दीसम्म जलवायु परिवर्तनले महिला र सीमान्तकृत समुदायको जनजीवनमा अकल्पनीय क्षति पुग्ने सम्भावना रहेको छ । कर्णालीका कालीकोट, दैलेख, जाजरकोट, रूकुम पश्चिम, सल्यान, रुकुम जलवायु परिवर्तनको उच्च संकटासन्न सूचीमा छन् । बढ्दो जलवायु जोखिमले महिला, बालबालिका तथा सीमान्तकृत समुदायमा बढी प्रभाव पार्ने भएकाले अनुकूलन र न्यूनीकरणमा संवेदनशील भएर सरकारले पर्याप्त काम गर्नुपर्ने देखिन्छ । मानव जीवन मात्र नभई कर्णाली प्रदेशको संस्कृति, स्थानीय भाषा,सामाजिक संरचना, सांस्कृतिक क्षेत्रमा पनि जलवायु परिवर्तनको असर परिरहेको छ ।
यहाँको कृषि बनस्पति, जलप्राप्ति र जीवनयापनमा प्रत्यक्ष असर पर्दै गईरहेको छ भने हिमाली क्षेत्रका नदिनाला सुक्दै गईरहेका छन् । प्राकृतिक सुन्दरताका हिसाबले उत्कृष्ठ रहेको कर्णालीका हिमालयहरुमा जलवायु परिवर्तनका कारण हिउँ पग्लिने र अन्य जलवायुजन्य जोखिमको दर बढ्दा पर्यटन क्षेत्रमा गम्भीर असर पर्ने देखिएको छ । हिउँ पग्लिने दरमा वृद्धि, बाढी, पहिरो, हिमआँधी, हिमपहिरो र मौसमी गतिविधिजस्ता जलवायुजन्य प्रकोपले पर्यटन क्षेत्रको अर्थतन्त्रमा असर निम्त्याइरहेको छ ।
संकटासन्न समुदायको पहिचान गरेर अनुकूलनमा सघाउनुपर्ने, कृषिलाई यान्त्रिकिकरण, व्यवसायिकिकरण तथा आधुनिकिकरण गर्दै परम्परागत खाद्य ज्ञानहरूलाई प्रवद्र्धन गरिनुपर्ने छ । प्रदेश सरकार कर्णालीमा जलवायु परिवर्तनको असर डरलाग्दो बन्दै गएको भन्दै सचेत भैसकेको छ । प्रदेश सरकाले कर्णालीका जैविक संरक्षणका लागि योजना अगाडी सारेको छ । यहाँका सजीव प्राणी, वनस्पति लगाायतको संरक्षणमा प्रदेश सरकार अघि सरेको छ । प्रकृति र जीवजन्तुको सौन्दर्यलाई बचाइराख्न कर्णाली प्रदेश जैविक विविधताको संरक्षण गर्दै यहाँका नागरिकहरुको जनजीवन सामान्य बनाउनमा लाग्दै आएको छ ।
जलवायु परिवर्तनको पछिल्लो सिलसिलाले मानिसको दैनिक जिविकोपार्जनमा समेत असर गर्न थालेको छ । घाँस दाउराको मात्र कुरा होइन, मानिसले जलवायु परिवर्तनका कारण ठाउँ र परिवेश अनुसार फरकफरक समस्या भोगिरहेका छन् । कर्णालीमा जलवायु परिवर्तन तिब्र गतिमा भइरहेको छ । जलवायु परिवर्तन र त्यसले ल्याउने जोखिम नै अहिले कर्णालीको प्रमुख मुद्दा बनेको छ । जलवायु परिवर्तन र त्यसले उत्पन्न गराएको समस्या कर्णालीको प्रमुख चुनौती बनिसकेको छ ।
प्रदेश सरकारले जलवायु परिवर्तनको जोखिममा परेका घरपरिवारलाई पनि सूचीकृत गरेको छ । यहाँका नागरिकहरुलाई जलवायु अनुकूलन गर्न सघाउने उद्देश्यका साथ प्रदेश सरकार कर्णालीका घर आँगनमा पुगेको छ । कृषिमा जलवायु परिवर्तन अनुकूलन र विपद् जोखिम व्यवस्थापन नीतिसहित यहाँका नागरिकहहरुको सहज जीवनयापनको क्षेत्रलाई समेट्दै प्रदेश सरकारले महिलालाई अनुकूलनमा सघाउन वर्षाको पानी संकलन, बीउ ब्यांक, बाली रोप्ने समय फेर्ने, भू–संरक्षण, पानी व्यवस्थापन, प्लास्टिक टनेल, कृषिमा अनुदान, घरेलु सामान र गोबरबाट आगो बाल्ने, आदिको प्रयोग गर्दै जलवायु परिवतर्नले पारेको जीवनका प्रभावबाट मुक्त गर्ने प्रयासमा छ ।
जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने सबैभन्दा सस्तो माध्यम वनजंगल भएकोले प्रदेश सरकारले जथाभावी जंगल फडानीमा रोक लगाएको छ । एक रुख काटेको खण्डमा अरु रुखहरु रोप्नु पर्ने नीति अघि सारेको छ । जलवायुजन्य कारणबाट सिर्जित प्रकोप र त्यसबाट हुने क्षति न्यूनीकरण तथा समस्या समाधान र स्थानीय समुदायको उत्थान गर्ने विषय प्रदेश सरकारको प्राथमिकतामा पारेको छ । यस्ता सहयोगले आयस्रोत बढाउन र जीविकोपार्जन गर्न सहयोग पुग्नेछ । आशा गरौं निकट भविष्यमा जलवायु परिवर्तनले पार्ने असरलाई कम गर्न कर्णाली प्रदेशसरकार थप जिम्मेवार भएर काम गर्दै जानेछ ।

