कोहलपुर, बैशाख २४,
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ ले कोहलपुर गोल्डकपमा विदेशी खेलाडीलाई रोक लगाउनु कानुनी प्रक्रिया पालना गराउनका लागि गरिएको बताएका छन् ।
कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ मा ‘वर्क परमिट’ तथा उपयुक्त भिसा प्रक्रिया पूरा नगरेका विदेशी खेलाडी सहभागी भएको विषय सार्वजनिक भएपछि प्रशासनले आयोजकलाई आवश्यक निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी तामाङले विदेशी नागरिकले पर्यटक भिसामा आएर अन्य गतिविधिमा संलग्न हुन नपाउने स्पष्ट बताए । उनले भने,-‘भिसामा पर्यटक भनेर आउँछु भन्ने अनि अर्को काम गर्न पाइँदैन । कुनै पनि देशमा त्यस्तो अनुमति हुँदैन ।’
उनले समयअनुसार कानुनी व्यवस्थामा कडाइ हुँदै गएको उदाहरणसमेत दिए । ‘हिजोका दिनमा सीमापारीबाट जति पनि सामान बोकेर ल्याउने चलन थियो, अहिले भन्सारमा कडाइ छ, ल्याउन पाइँदैन ।’ यो विषय पनि त्यस्तै हो, उनले भने । सिडिओ तामाङका अनुसार विदेशी खेलाडी सहभागी गराउँदा सम्बन्धित कानुनी प्रक्रिया, वर्क परमिट तथा आवश्यक अनुमति अनिवार्य रूपमा पूरा गर्नुपर्छ । प्रशासनले नियमविपरीत गतिविधि भए प्रचलित कानूनअनुसार कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेको निर्देशनपछि सेमिफाइनलमा पुगेको जस्ट जोन एफसी नाइजेरिया प्रतियोगिताबाट बाहिरिएको छ भने अब रोयल फुटबल क्लब कर्णाली प्रदेशले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने तय भएको आयोजकले जनाएको छ । तर आयोजक रेसिङ साहारा क्लबले भने प्रतियोगिताको सुरुआतदेखि नै सम्पूर्ण गतिविधिबारे प्रशासनलाई जानकारी गराइएको जनाएको छ । आयोजकका अनुसार पहिलो पत्रकार सम्मेलनदेखि खेल तालिका (टाइसिट) सम्म प्रशासनलाई उपलब्ध गराइएको थियो भने आवश्यक स्वीकृतिसमेत लिइसकिएको अवस्था थियो ।
आयोजक पक्षको भनाइमा प्रतियोगिता सुरु भइसकेपछि र सेमिफाइनलमा पुगिसकेको टिमलाई अचानक रोक लगाउने निर्णयले प्रतियोगिताको निष्पक्षता मात्र होइन, हजारौं खेलप्रेमीको उत्साहमा समेत असर पुगेको छ । विदेशी टोलीको सहभागिताले प्रतियोगितामा छुट्टै आकर्षण थपिएको अवस्थामा अन्तिम चरणमा आएर गरिएको निर्णयले दर्शक निराश बनेका छन् ।

