कोहलपुर, बैशाख २१,
कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन जारी गरेको १० दिने सूचना प्रति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कोहलपुर नगर समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नगरपालिकाले वैशाख १६ गते सूचना जारी गर्दै अतिक्रमण हटाउन आग्रह गरेपछि पार्टीले त्यसप्रति प्रतिक्रिया जनाउँदै सार्वजनिक सम्पत्तिको संरक्षण राज्य र स्थानीय सरकारको कानुनी दायित्व भएको उल्लेख गरेको छ । तर, वर्षौंदेखि सार्वजनिक जग्गामा बसोबास गर्दै आएका नागरिकलाई वैकल्पिक व्यवस्था नगरी हटाउने निर्णय मानवीय संवेदनासँग मेल नखाने पार्टीको धारणा रहेको प्रेस विज्ञप्तीमार्फत उल्लेख गरेको छ ।
पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन उद्धृत गर्दै वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूका लागि सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ । साथै, पहिचान भएका नागरिकलाई व्यवस्थापन नगरी जबर्जस्ती हटाउने कार्य उचित नहुने बताइएको छ। रास्वपाले राखेका मुख्य मागहरू वास्तविक सुकुम्बासीको पहिचानपछि मात्र हटाउने प्रक्रिया अघि बढाउनुपर्ने, प्रभावित नागरिकका लागि गाँस, बास र कपासको सुनिश्चितता गर्नुपर्ने, मानवीय दृष्टिकोण अपनाउँदै पर्याप्त समय दिएर व्यवस्थापन गर्नुपर्ने कोहलपुर नगर समिति सचिब देविन सुवेदीद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
पार्टीले विकास र संरक्षणको नाममा नागरिकलाई विस्थापित गर्नु राज्यको दायित्वविपरीत हुने भन्दै मानवीय समाधान खोज्न कोहलपुर नगरपालिकाकासँग आग्रह गरेको छ। पछिल्लो समय कोहलपुर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमणको विषय बारम्बार उठ्दै आएको छ, जसले स्थानीय स्तरमा विवाद र तनाव समेत निम्त्याउने गरेको छ।


