कोहलपुर, जेठ ९,
कोहलपुरमा पछिल्लो एक हप्तादेखि अत्यधिक गर्मी बढेसँगै विद्युत अवरुद्ध हुने समस्या पनि बढ्दै गएको छ ।
दैनिक तापक्रम ४० देखि ४१ डिग्री सेल्सियससम्म पुग्न थालेपछि सर्वसाधारण रातदिन विद्युत कटौतीको समस्याबाट प्रभावित भएका छन् । अत्यधिक गर्मीका कारण एयर कन्डिसन, कुलर, फ्रिज, पंखा लगायत विद्युतीय सामग्रीको प्रयोग ह्वात्तै बढ्दा कोहलपुर वितरण केन्द्र अन्तर्गतका ट्रान्सफर्मरहरूमा अत्यधिक चाप परेको छ ।
नेपाल विद्युत प्राधिकरण अन्तर्गतको कोहलपुर वितरण केन्द्रका प्रमुख रमेश अवस्थीका अनुसार अहिलेको समस्या लाइन क्षमताभन्दा पनि ट्रान्सफर्मरमा आएको ओभरलोड र प्राविधिक समस्याका कारण सिर्जना भएको हो । ‘लाइनको क्षमता पर्याप्त छ, तर बढ्दो जनसंख्या र बढ्दो विद्युत प्रयोगका कारण ट्रान्सफर्मरहरूमा समस्या देखिएको छ,’ उनले भने ।
उनका अनुसार केही वर्षअघिसम्म कोहलपुर वितरण केन्द्र अन्तर्गत दैनिक १६ देखि १७ मेगावाट विद्युत आवश्यक पर्ने गरेकोमा अहिले माग बढेर २२ देखि २३ मेगावाटसम्म पुगेको छ । गर्मी बढेसँगै घर–घरमा एसी, कुलर, फ्रिज तथा अन्य विद्युतीय उपकरणको प्रयोग बढेकाले विद्युत लोड अत्यधिक बढेको अवस्थीको भनाई छ । गर्मी सुरु हुनुअघि नै वितरण केन्द्रले मर्मत तथा लाइन परीक्षणका काम गरेको जनाएको छ । पुराना तार, पोल तथा ट्रान्सफर्मर मर्मत र केही स्थानमा प्रतिस्थापनको काम समेत भइरहेको कार्यालयले जनाएको छ । यद्यपि अत्याधिक लोडका कारण कतिपय ट्रान्सफर्मर जोखिम अवस्थामै रहेको उनले बताए ।
लाइन ट्रिप हुने समस्या बढ्दा विद्युत आपूर्ति पुनः सञ्चालन गर्न प्राविधिक टोली खटिने गरेको र आवश्यक स्थानमा वैकल्पिक फिडर प्रणालीमार्फत सेवा सुचारु राख्ने प्रयास भइरहेको पनि उनले बताए । अत्यधिक गर्मीका कारण रातभर बत्ती जाँदा बिरामी, वृद्धवृद्धा तथा बालबालिकालाई बढी समस्या भएको गुनासो समेत बढेको छ । अस्पताल, खानेपानी, इन्टरनेट सेवा तथा व्यवसायमा समेत असर परेको स्थानीयले बताएका छन् । पूर्वसूचना बिना लाइन काटिने गुनासोबारे प्रमुख अवस्थीले कार्यालयको फेसबुक पेजमार्फत नियमित जानकारी दिइरहेको बताएका छन् । उनले भने,–’अचानक प्राविधिक समस्या आउँदा तत्काल सूचना दिन नसकिएको अवस्था पनि हुन्छ, तर सकेसम्म सामाजिक सञ्जालमार्फत जानकारी गराइरहेका छौँ ।’
जनताले गुनासो गर्दा तत्काल प्रतिक्रिया नआएको आरोपबारे उनले जनशक्ति र प्राविधिक चापका बाबजुद सेवा सुधारका लागि निरन्तर प्रयास भइरहेको बताए । आगामी दिनमा थप ट्रान्सफर्मर जडान, लाइन विस्तार तथा नयाँ संरचना निर्माणको योजना अघि बढाइएको जानकारी दिँदै उनले दीर्घकालीन समाधानका लागि माथिल्लो निकायसँग समन्वय भइरहेको बताए । कोहलपुरवासीले भने अत्यधिक गर्मीमा नियमित र भरपर्दो विद्युत आपूर्तिको माग गर्दै समस्या समाधानमा विद्युत प्राधिकरणले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।
