कोहलपुर, बैशाख २४,
बाँके । कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ मा विदेशी खेलाडीको सहभागितालाई लिएर जिल्ला प्रशासन कार्यालय बाँकेले निर्देशन जारी गरेपछि प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलको तालिका परिवर्तन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुर रेसिङ साहारा क्लबलाई पत्र पठाउँदै पर्यटक भिसामा रहेका केही विदेशी नागरिक प्रतियोगितामा सहभागी भएको गुनासो प्राप्त भएको उल्लेख गरेको छ । कार्यालयले अध्ययनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा नगरी विदेशी नागरिकलाई प्रतियोगितामा सहभागी नगराउन र नगराएमा प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनी दिएको पत्रमा उल्लेख छ । प्रशासनले वैशाख २५ गते जारी गरेको पत्रमा æपर्यटक भिसामा रहेका विदेशी नागरिकलाई प्रतियोगितामा सहभागी नगराउन अनुरोध गरिएको छ । उक्त पत्र सार्वजनिक भएसँगै प्रतियोगितामा सहभागी जस्ट जोन एफसी -नाइजेरिया) प्रतियोगिताबाट बाहिरिएको आयोजकले जनाएको छ ।
लिग चरणको खेल जितेर सेमिफाइनलमा पुगेको जस्ट जोन एफसीका खेलाडीको वर्क परमिट तथा भिसासम्बन्धी प्रक्रिया नमिलेपछि टिमलाई अगाडि खेल्न नदिइएको हो । आयोजक रेसिङ साहारा क्लबका अनुसार अब जस्ट जोन एफसीको स्थानमा रोयल फुटबल क्लब -कर्णाली प्रदेश) ले अवसर पाएको छ । आज हुने दोस्रो सेमिफाइनल खेलमा रोयल फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । विदेशी खेलाडीको सहभागिताले प्रतियोगितामा थप आकर्षण बढाएको भए पनि प्रशासनको निर्देशनपछि आयोजक दबाबमा परेको देखिएको छ । यद्यपि आयोजकले प्रतियोगिता निर्धारित तालिकाअनुसार नै सञ्चालन गरिने जनाएको छ ।


