स्वच्छ पानीका लागि कोहलपुरमा अन्तरक्रिया कार्यक्रम

कोहलपुर कात्तिक ३०,

“स्वास्थ्य नै धन हो, पानी नै जीवन हो” भन्ने मूल नाराका साथ स्मार्ट टोटल केयरको आयोजना तथा रेडियो कोहलपुर एफएमको समन्वयमा शुद्ध पिउने पानीसम्बन्धी अन्तरक्रिया कार्यक्रम कोहलपुर पार्टी प्यालेस, साझा चोकमा सम्पन्न भएको छ ।

कार्यक्रमका सभाध्यक्ष तथा अनुसन्धानकर्ता÷प्रशिक्षक प्रेमबहादुर श्रेष्ठले बजारमा पाइने विभिन्न बोटल र फिल्टर पानीका नमुनाहरू संकलन गरी गरिएको परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले धेरैजसो पानीमा अम्लीयता (ब्अष्मष्तथ) उच्च मात्रामा रहेको बताउँदै शरिरलाई आवश्यक पर्ने प्राकृतिक खनिज अभावका कारण दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने चेतावनी दिए । श्रेष्ठले पानीमा आवश्यक खनिज सन्तुलन मिलाएर मात्र उपभोग गर्दा शरीरलाई वास्तविक फाइदा हुने उल्लेख गरे ।

स्मार्ट टोटल केयरका सीईओ राजु गोतामेले वर्तमान बजारमा उपलब्ध धेरैजसो पानीमा आवश्यक खनिज तत्व नपाइने हुँदा आफूहरूले खनिजयुक्त फिल्टर र बोटल पानी बजारमा ल्याएको जानकारी गराए । उनले शुद्धिकरण मात्र पर्याप्त नभएर शरीरका लागि उपयोगी मिनरलहरूको मात्रा पनि अनिवार्य हुने बताए । कार्यक्रमका प्रमुख अतिथि कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले निजी क्षेत्रबाट पानीको गुणस्तर सुधारका लागि गरिएको यस्तो पहल सराहनीय भएको बताए । उनले बजारमा आउने उत्पादनहरूमा गुणस्तर मापन तथा निगरानीलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्दै भविष्यमा खाद्य तथा अन्य उपभोक्ता सामग्रीको गुणस्तरसम्बन्धी विषयहरू समेत समेटेर यस्ता कार्यक्रम विस्तार गर्न सुझाव दिए ।

अन्तरक्रिया सत्रमा सहभागीहरूले हालको पानीको अशुद्धता, अत्यधिक रासायनिक प्रक्रियाबाट प्रशोधित पानीका जोखिम, र किन शुद्ध तथा खनिजयुक्त पानी उपभोग गर्नुपर्छ भन्ने विषयमा आफ्ना प्रश्न राखेका थिए । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव राजेन्द्र श्रेष्ठसहित विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रमको समन्वय तथा सहजीकरण रेडियो कोहलपुर एफएमका प्रबन्ध निर्देशक कपिल अञ्जानले गरेका थिए । स्मार्ट टोटल केयरले यसअघि ज्ञानज्योति मावि बगिया र डायनामिक मावि कोहलपुरमा पनि यस्तै कार्यक्रम सम्पन्न गरिसकेको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !