कोहलपुर, मंसिर २१,
क्रिसा कोहलपुर बाँकेको १६औँ रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

क्रिसा बाँकेका अध्यक्ष बेगप्रकाश चन्दको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष चन्दले खेलकुदलाई अनुशासन, नेतृत्व र व्यक्तित्व विकासको सबैभन्दा प्रभावकारी माध्यम भएको बताएका छन् । खेल केवल जित-हारको विषय मात्रै नभई चरित्र निर्माण र अवसर सिर्जनाको यात्रा भएको बताए । विद्यालय तहमै यस्ता व्यवस्थित र रचनात्मक ढङ्गका प्रतियोगिता सञ्चालन गर्न सकिए हजारौँ विद्यार्थीले आफ्नो क्षमता चिनाउने मौका पाउँने बताए । विद्यालय स्तरबाट संचालन भएको खेलले भविष्यमा राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा पुग्ने खेलाडी जन्मिने विश्वास व्यक्त गरे ।

उनले विद्यालय र स्थानीय तहबीचको सहकार्यले खेलकुदलाई अझ सुदृढ बनाउने उल्लेख गर्दै प्रतियोगिताहरूले विद्यार्थीको आत्मविश्वास अभिवृद्धि हुने जनाए । कार्यक्रममा प्रमुख अतिथी कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्ण प्रसाद आचार्यले खेलकुदले युवालाई सकारात्मक सोच, स्वस्थ प्रतिस्पर्धा र सामाजिक एकतामा जोड्ने भएकाले यस्ता आयोजनाले विद्यार्थीसँगै समुदायलाई पनि उजागर गर्ने बताएका छन् । खेलमैदानले सिकाउने अनुशासन, सहकार्य र मेहनत जीवनका हरेक क्षेत्रमा उपयोगी हुने भएकाले प्रतियोगितालाई निरन्तरता दिनुपर्ने उल्लेख गरेका थिए । संस्थागत विद्यालयहरुको साझा संगठन क्रिसाले स्थानीय तहसंग निति तथा कार्यक्रमहरुमा समन्वय र सहकार्यमा काम गरेको भन्द्र प्रसंसा गरेका थिए । राष्ट्रिपति रनिङ्गशिल्डका लागि मात्र खेलकुद हुँदैनन्, उनले भने, ‘बालबालिकाको सार्वाङ्गिक विकास गर्न खेलकुदले महत्वपूर्ण भूमिका खेल्छ ।’ खेलकुदलाई सफल बनाउन नगरपालिकाले आर्थिक, भौतिक, नैतिक र अन्य थप आवश्यक पर्ने सहयोगहरु पूर्ण रुपमा सहयोग गर्ने आचार्यले प्रतिबद्धता व्यक्त गरे । नगर भित्रका रहेका संस्थागत विद्यालयहरुलाई नितिगत, संस्थागत र अन्य कुनै पनि समस्याको समाधान गर्ने जानकारी गराउँदै गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गरी कोहलपुरलाई शैक्षिक हव बनाउन सबै एकजुट भएर लाग्न नगर प्रमुख आचार्यले अनुरोध गरे ।

क्रिसा बाँकेका संस्थापक स्वर्गियद्धय टिकाराम सुवेदी र नेत्र बहादुर चन्दलाई सभापति तथा कार्यक्रममा प्रमुख अतिथिले तस्बिरमा माल्याअर्पण गरेका थिए । यस वर्षको प्रतियोगितामा कोहलपुर, बैजनाथ तथा राप्ति सोनारी क्षेत्रका २३ वटा विद्यालयको सहभागिता रहेको छ । ब्राइट लाइट एकेडेमी, दीप ज्योति सेकेन्डरी स्कुल, डाइमण्ड स्टार एकेडेमी, दिव्य विद्या सदन, युरो स्कुल कोहलपुर, फुलबारी एजुकेसनल एकेडेमी, गोल्डेन फ्युचर एकेडेमी, ग्रीन पिस सेकेन्डरी स्कुल, ज्ञानकुञ्ज इङ्लिस मिडियम स्कुल, हिमालय विद्या निकेतन, जनज्योति पब्लिक हाइस्कुल, कोहलपुर बागेश्वरी, कोहलपुर सिटी एकेडेमी, मनकामना पब्लिक एकेडेमी, मेरी माउन्ट एकेडेमी, नोबेल इङ्लिस मिडियम स्कुल, प्रयत्न इङ्लिस मिडियम स्कुल, शमशेरगञ्ज इङ्लिस मिडियम स्कुल, श्री भृकुटी इङ्लिस मिडियम स्कुल, वेस्टर्न इङ्लिस मिडियम स्कुल लगायतका विद्यालयहरुले सहभागिता जनाएका छन् ।

कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास शाखा संयोजक ईश्वरी बिक, नेपाली कांग्रेस कोहलपुर नगर सभापति तथा वडा नं. १२ का अध्यक्ष वीरेन्द्र कुमार शाह, नेकपा एमाले कोहलपुर नगर सचिव हेमकुमार रावत, राप्रपा कोहलपुर नगर अध्यक्ष अर्जुन जंग शाह, कोहलपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष लालबहादुर राना, वडा नं. १० का अध्यक्ष गौरा भट्टराईसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा समुदायको उपस्थितिले कार्यक्रम भव्य बनेको थियो । कार्यक्रमको सञ्चालन कृषि बाँकेका सचिव प्रकाश मल्लले गरेका थिए । पहिलो दिन विभिन्न विधाका खेलहरू उत्साहजनक ढङ्गमा सम्पन्न भएका छन् । विद्यार्थी, शिक्षक र अभिभावकको उपस्थिति तथा उत्साहले सम्पूर्ण वातावरण खेलमय बनेको थियो । २३ वटा विद्यालयहरुले मार्च पास समेत प्रस्तुत गरेका थिए । मार्च पासमा प्रथम हुनेमा कोहलपुर २ मा रहको जनज्योति पब्लिक हाइ स्कुल, कोहलपुर ५ मा रहेको वेष्र्टन ई.मि.स्कुल द्वितीय, कोहलपुर १२ मा रहेको ग्रिन पिस स्कुल तृतीय भएका छन् ।



