कोहलपुर, मंसिर २८,
आगामी पुष ९ गतेदेखि संचालन हुने कोहलपुर महोत्सव २०८२ सफल पार्न पत्रकार तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रियात्मक छलफल कार्यक्रम गरिएको छ ।
“दिगो विकासको उत्सव” भन्ने नारासहित आयोजना हुन लागेको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव २०८२ लाई व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले पत्रकार तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । कोहलपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पौष ९ गतेदेखि १८ गतेसम्म कोहलपुर नगरपालिका-११ स्थित खुल्ला मैदानमा सञ्चालन हुने महोत्सवको प्रवद्र्धनमा पत्रकार तथा सञ्चारकर्मीहरूको भूमिकाबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो ।
साथै, सञ्चारकर्मीहरूले महोत्सवप्रति अपनत्व महसुस गर्न सक्ने वातावरण कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा सुझाव संकलन गर्ने तथा आपसी सहकार्य, समन्वय र समझदारीलाई थप मजबुत बनाउने उद्देश्य पनि कार्यक्रमको रहेको थियो । अन्तरक्रियामा सहभागी पत्रकारहरूले महोत्सवसम्बन्धी सूचना तथा समाचार सम्प्रेषणका लागि सहज वातावरण मिल्नुपर्ने, सञ्चारकर्मी र आयोजकबीच आपसी सहकार्य हुनुपर्ने तथा महोत्सवको प्रचार-प्रसारमा सञ्चारकर्मीले गरेको योगदानको उचित मूल्याङ्कन गरिनुपर्ने सुझाव दिएका थिए ।
साथै, सबै सञ्चारमाध्यमलाई समान व्यवहार गरिनुपर्ने, कसैलाई काखा कसैलाई पाखा गर्ने प्रवृत्ति नहुनुपर्ने र महिला पत्रकारहरूलाई पनि विशेष प्राथमिकतामा राख्नुपर्ने विषयमा जोड दिइएको थियो । महिला पत्रकारहरूले पनि आफ्ना सुझाव राख्दै सुरक्षित, सम्मानजनक र समान अवसरको वातावरण सुनिश्चित गर्न आग्रह गरेका थिए ।
पत्रकारहरूले उठाएका सम्पूर्ण समस्या र सुझावहरूलाई समेट्दै उचित व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गर्दै कोहलपुर उद्योग वाणिज्य सङ्घका प्रेस सल्लाहकार निर्मल आचार्यले महोत्सवको सफलताका लागि सञ्चारकर्मीहरूसँग निरन्तर सहकार्य र समन्वय गरिने स्पष्ट पारे । आयोजकका अनुसार पत्रकारहरूसँगको यस्ता छलफलले महोत्सवको प्रचार–प्रसारलाई प्रभावकारी बनाउने तथा महोत्सवलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

