कोहलपुर, माघ १२,
बाँके जिल्लाको राजनीतिमा अहिले नयाँ नामले चर्चा पाउन थालेको छ गोविन्द बहादुर थारु । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बाँके जिल्ला क्षेत्र नम्बर–१ समानुपातिकतर्फ थारु क्लस्टर उम्मेदवार बनेका थारुले आफ्नो राजनीतिक यात्रा र वर्तमान राजनीतिक परिस्थितिलाई नयाँ दृष्टिकोणबाट हेरेका छन् । उनले आफूले राजनीति सुरु गर्दा हिजोका दिनहरूमा राजनीतिक दलहरूप्रति रहेको वितृष्णा र पुराना दलहरूले जनताप्रति गरेको व्यवस्थित बेवास्ता देखेर निरास भएको अनुभव सुनाए । पुराना दलहरूप्रति विश्वास घट्दै गएपछि, जेन्जी आन्दोलनबाट उत्पन्न परिस्थिति राजनीतिक दलहरूको विकल्पको रूपमा उभिएको र यसले राजनीतिलाई नै देश परिवर्तन गर्ने माध्यम बनाउन सक्ने अवस्था सिर्जना गरेको उनको बुझाइ हो ।
थारुको तर्क छ, असल राजनीतिज्ञ बिना देशको विकास र असल नीति बसाल्न सम्भव छैन । यही विश्वासले गर्दा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको विकल्प रोजे र अहिले निर्वाचनको संघारमा आफूलाई प्रस्तुत गरेका छन् । थारुले भने,–‘राजनीतिबाटै देशको विकास सम्भव छ भन्ने सोचले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिन प्रेरित गरेको हुँ ।’ अहिलेको निर्वाचनलाई एउटा निर्णायक मोडको रूपमा हेरेका थारुले समानुपातिकबाट सदनमा पुगे भने पार्टी र व्यक्तिगत दुवै स्तरबाट देशको नीति तथा विकास निर्माणमा सहयोग पु¥याउने बताए ।
उनले आफ्नो मुख्य रुचि शिक्षा र कृषि क्षेत्रमा रहेको बताए । ‘कृषिमा धेरै ठूलो समस्या छ, शिक्षामा पनि समस्या छ,’ उनले भने । यस क्षेत्रमा सुधार ल्याउनका लागि एउटा असल राजनीतिज्ञको आवश्यकता रहेको उनको धारणा छ । थारु कृषिमा रहेका समस्या र त्यसको समाधानलाई निकै व्यक्तिगत र गहिरो रूपमा हेर्छन् । उनले कृषकहरूले विगतदेखि भोग्दै आएको समस्यालाई विस्तारमा उल्लेख गर्दै भने,–‘बिउ र मलमा समस्या, विदेशी मल र बिउले नेपाली भूमिको उत्पादकत्व घटाएको । विदेशी बिउहरूको प्रयोग गर्दा त्यहाँको रासायनिक मलले छ ।’ ‘रैथाने बिउ’ संरक्षणको आवश्यकता औँल्याउँदै उनले कृषकहरूले रैथाने बिउ पाए भने माटो सुहाउँदो बिउ हुनेछ र उत्पादन बढ्ने विश्वास व्यक्त गर्दै आफू सदनमा पुगे यसका लागि पहल गर्ने बताए । उनी भन्छन्,–‘यही माटोमा उब्जने बिउले उत्पादन बढाउँछ । जसका कारण देशको अर्थतन्त्र बलियो बन्न सक्छ र कृषकहरूलाई पनि ठूलो योगदान पुग्छ ।’
थारु लामो समयदेखि शिक्षण पेशामा रहेका छन् । त्यसैको आधारमा आफ्नो राजनीतिक यात्रालाई अर्थपूर्ण बनाउने प्रयासमा छन् । उनले शिक्षामा सुधार ल्याउन राजनीतिक परिवर्तन आवश्यक रहेको बताए । उनी भन्छन्,–‘शिक्षामा सुधार ल्याउनको लागि शिक्षाको नीतिमा सुधार ल्याउनको लागि राजनीतिमा आएको हुँ । राजनीति मार्फत शिक्षा क्षेत्रमा लागेका राजनीतिक दागहरू मेटाउन सकिन्छ कि ।’ थारुले यसै क्षेत्रमा राजनीतिमा आएर शिक्षा नीति सुधार गर्ने लक्ष्य राखेका छन् । उनका अनुसार अहिलेको राजनीतिक अस्थिरताले वैदेशिक रोजगारीलाई प्रवद्र्धन गरेको र यसले गाउँ–घर खाली हुने अवस्था सिर्जना गरेको छ । उनले शिक्षा र राजनीति जोडेर यस क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अठोट व्यक्त गरेका छन् ।
गोविन्द बहादुर थारुका लागि राजनीति केवल सत्ता हासिल गर्ने माध्यम होइन । उनी राजनीतिलाई देश सुधार्ने र समाजको संरचना बदल्ने माध्यम मान्छन् । पुराना दलहरूप्रति जनतामा बढ्दो वितृष्णा र असन्तुष्टिलाई उनले राजनीतिक चेतना को रूपमा व्याख्या गर्छन् । उनले बुँदा–बुँदामा समस्या उठाउँदै यसको समाधानका लागि आफूलाई असली राजनीतिज्ञको रूपमा अघि सारिरहेका छन् । राजनीति नै देशको विकासको मार्ग भएकोले असल नेतृत्व र नीति बिना विकास सम्भव नभएको बताए । अहिलेको निर्वाचनको संघारमा देशका समस्या र स्थानीय स्तरका चुनौतिहरूलाई आत्मसाथ गर्दै आफ्नो भूमिका तय गरिरहेको थारुले उल्लेख गरे । उनले कृषि र शिक्षा क्षेत्रको सुधारको विकल्पको रूपमा आफ्नो प्रस्तावलाई अघि राखेका छन् ।

