कोहलपुर, फागुन ४
बाँके जिल्लाको कोहलपुर नगरपालिका–१२, चप्परगौडीमा निर्माणाधीन जैविक पार्कको काम तीव्र गतिमा अघि बढिरहेको छ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार सूर्य ढकालको पहलमा सुरु भएको उक्त परियोजनाले स्थानीय तहमा हरियाली प्रवर्द्धन र वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। सांसद रहँदै उनले यस क्षेत्रमा जैविक पार्क निर्माणका लागि विशेष पहल गरेका थिए। सोही पहलको परिणामस्वरूप हाल पार्कको मुख्य प्रवेशद्वार (गेट) निर्माण सम्पन्न भइसकेको छ भने पार्क वरिपरि तारबारको कामसमेत सकिएको छ। अन्य संरचनागत पूर्वाधार निर्माण कार्यहरू चरणबद्ध रूपमा अगाडि बढाइँदै छन्। निर्माणाधीन पार्कलाई बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि उपयुक्त घुमफिर तथा विश्रामस्थलको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। पार्क क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण, पदमार्ग निर्माण, बस्ने स्थल तथा अन्य आवश्यक पूर्वाधार व्यवस्थापन गर्ने योजना रहेको जनाइएको छ।
स्थानीय बासिन्दाहरूले यस पहललाई सकारात्मक रूपमा लिँदै जैविक पार्क निर्माणले आन्तरिक पर्यटन प्रवर्द्धन, वातावरणीय सन्तुलन कायम गर्न तथा स्थानीयस्तरमा रोजगारी सिर्जनामा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

