कोहलपुर, बैशाख २४,
बिभागीय टोली नेपाल पुलिस क्लब चौथो संस्करणको प्यजबउिगच न्यमि ऋगउ को फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार कोहलपुर–२ स्थित प्रस्तावित फुटबल रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा कर्णाली प्रदेशको रोयल फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै पुलिसले उपाधि नजिक स्थान बनाएको हो । दुवै टोलीबीच निर्धारित समयभर प्रतिस्पर्धात्मक खेल भएपनि कुनै गोल निस्कन सकेन । आक्रमण र प्रतिआक्रमणले भरिएको खेलमा गोलरक्षकहरूको उत्कृष्ट प्रदर्शनका कारण खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो । जारी प्रतियोगितामा पहिलो पटक खेलको नतिजा पेनाल्टीमार्फत टुंगिएको हो ।
टाइब्रेकरमा नेपाल पुलिस क्लबका कप्तान राम बगाले, अनिल टमाटा, सञ्जिव लामा, हेमन्त श्रेष्ठ र सुजन मगरले लगातार गोल गर्दै टोलीलाई जित दिलाए । कर्णालीका तर्फबाट करण शाही, दिवश बिसी र बिक्रम अलीले गोल गरे पनि कप्तान सुदन विश्वकर्मा चुकेपछि टोली फाइनल पुग्न असफल बन्यो । यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक कोहलपुर रेसिङ साहारा क्लबले लालीगुराँस एसोसियसन क्लब पोखरामाथि २–१ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो । अब उपाधिका लागि वैशाख २६ गते आयोजक कोहलपुर रेसिङ साहारा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा देशका आठ टोली सहभागी रहेका छन् । विजेता टोलीले नगद आठ लाख रुपैयाँसहित ट्रफी र शिल्ड प्राप्त गर्नेछ भने उपविजेताले चार लाख रुपैयाँसहित ट्रफी हात पार्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । वैशाख १९ गतेदेखि सुरु भएको प्रतियोगिताले कोहलपुरमा फुटबलप्रेमी दर्शकको उल्लेखनीय उपस्थिति तानिरहेको छ ।

