कोहलपुर, साउन ७,
भूमि समस्या समाधान समितिका केन्द्रीय पदाधिकारीहरूसँग कोहलपुर नगरपालिकाका प्रतिनिधिबीच भएको भेटघाटमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पुर्जा लालपुर्जा वितरण प्रक्रिया यथाशीघ्र अघि बढाउने विषयमा छलफल भएको छ।
भेटका क्रममा कोहलपुर नगरपालिकाले भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाण–पुर्जा उपलब्ध गराउने प्रक्रियाका लागि आफ्नो तर्फबाट पूरा गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेको जानकारी गराएको छ । नगरपालिकाले जेन्जी आन्दोलनपछि रोकिएको लालपुर्जा वितरण कार्य पुनः सुरु गर्न, वडा नं. १ मा वितरण गरिएका जग्गाधनी प्रमाण–पुर्जाको मालपोतमा श्रेस्ता कायम गर्न तथा वडा नं. २, १२ र १३ मा पर्ने मध्यवर्ती क्षेत्रसम्बन्धी समस्या समाधानका लागि आवश्यक पहल गर्न भूमि समस्या समाधान समितिको ध्यानाकर्षण गराएको जनाएको छ । छलफलका क्रममा समितिका अध्यक्षसहित पदाधिकारीहरूले कोहलपुर नगरपालिका र भूमि आयोगबीच आवश्यक समन्वय गरी सम्पूर्ण प्रक्रिया तत्काल अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कोहलपुर नगरपालिकाले भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाको स्वामित्व दिलाउने अभियान सामाजिक न्याय, नागरिक अधिकार र सम्मानसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण कार्य भएकाले वास्तविक लाभग्राहीको हातमा यथाशीघ्र जग्गाधनी प्रमाण–पुर्जा पुर्याउन आफू सदैव प्रतिबद्ध रहेको जनाएको छ । साथै, भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्न सम्बन्धित सबै निकायसँग सहकार्य गर्दै आवश्यक पहललाई निरन्तरता दिने प्रतिबद्धता पनि नगरपालिकाले दोहोराएको छ।
