कोहलपुर, साउन ११,
नेपाली सेनाको जबर जंग गण ले शीघ्र प्रभावी आयोजना (Quick Impact Projects–QIPs) अन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका–९ स्थित धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण ठाकुरद्वारा मन्दिरको स्तरोन्नति कार्य सम्पन्न गरी मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ।

आयोजना अन्तर्गत मन्दिर परिसरमा मूल पुजारी निवास (पुजारी घर) तथा महाआरती सेडघर निर्माण गर्नुका साथै मन्दिर परिसरको आवश्यक स्तरोन्नति गरिएको हो। निर्माण सम्पन्न भएसँगै मन्दिरमा धार्मिक गतिविधि सञ्चालन गर्न सहज हुने, श्रद्धालु भक्तजनलाई थप सुविधा पुग्ने तथा धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय समुदायको आवश्यकता र धार्मिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखी सञ्चालन गरिएको उक्त आयोजना सम्पन्न भएपछि निर्माण गरिएका संरचनाहरू औपचारिक रूपमा मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको जबर जंग गणले जनाएको छ। नेपाली सेनाले शीघ्र प्रभावी आयोजना (QIPs) मार्फत देशका विभिन्न स्थानमा सामुदायिक पूर्वाधार विकास, सार्वजनिक सेवाको विस्तार तथा स्थानीय समुदायसँगको सहकार्यलाई सुदृढ बनाउने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

