रसुवाका बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार तीव्र, टनेलभित्र उद्धार टोलीको प्रवेश

कोहलपुर, भदौ १७,

रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोपछि बेपत्ता तथा प्रभावितको खोजी र उद्धारका लागि हवाई तथा जमिनी अभियानलाई तीव्र पारिएको छ।

विभिन्न जलविद्युत आयोजनाका टनेलमा समेत उद्धार टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ। नेपाली सेनाका अनुसार रसुवागढी हाइड्रोपावरको टनेलभित्र उद्धार टोली करिब १५० मिटर प्रवेश गरेको छ। टनेलभित्र ठूला चट्टान भेटिएपछि थप अगाडि बढ्न कठिनाइ भए पनि पुनः खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

लाङटाङ हाइड्रोपावरको टनेलमा विदेशीसहित २५ जनाको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी सम्भावित स्थानमा खोज तथा उद्धार गरिरहेको छ। चिलिमे हाइड्रोपावरमा पनि विदेशीसहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।

हाँकुस्थित अपर त्रिशूली–१ आयोजनामा नेपाली सेनाको टोलीले खोज तथा उद्धार गरिरहेको छ। यस्तै, त्रिशूली–३ ए आयोजनामा नेपाली सेनासहित ९३ जनाको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। त्रिशूली–३ ए मा तीनवटा स्काभेटर र एउटा बोबक्याट प्रयोग गरी माटो पन्छाउने, कम्प्रेसर मेसिन र ब्रेकरको प्रयोग गर्ने तथा ब्लास्टिङ गर्ने कामपछि टनेलको आउटलेट फेला पारिएको छ। वर्षाका कारण राति टनेलमा जम्मा भएको करिब १।५ मिटर पानी पम्पमार्फत बाहिर निकाल्ने काम गरिएको सेनाले जनाएको छ।

त्रिशूली–३ बी आयोजनामा नेपाली सेनाका ६१ जना, तीन जना गैरसैनिक तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। टोलीले आयोजनाको कार्यालय तथा निवास रहेको क्षेत्र पहिचान गरी उक्त स्थानसम्म पुग्न एक्स्काभेटरको प्रयोगबाट बाटो निर्माण गरिरहेको छ।

टनेल उद्धारसँगै प्रभावित क्षेत्रका जङ्गल, डाँडाकाँडा, खोला तथा बस्तीमा समेत जमिनी खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ। स्थानीय बासिन्दालाई सुरक्षा प्रत्याभूति दिलाउँदै उद्धारको आवश्यकता मूल्याङ्कन गर्न पैदल गस्ती गरी प्रभावितको अवस्थाबारे जानकारी संकलन भइरहेको छ। त्रिशूली नदीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोट जिल्लाका विभिन्न स्थानमा समेत खोज तथा उद्धार कार्य भइरहेको छ।

टिमुरे क्षेत्रमा फेला परेका शवलाई व्यवस्थापनका लागि त्रिशूलीसम्म ल्याउन नेपाली सेनाले स्लिङ लोड अपरेसन सुरु गरेको छ। बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन र आपत्कालीन उपचारका लागि नेपाली सेनाका ९ हजार २ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ।

सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले समन्वयात्मक रूपमा खोज तथा उद्धार गरिरहेका छन् । प्रभावित क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी, घाइतेको उद्धार तथा उपचार, शव व्यवस्थापन र अवरुद्ध सडक खुलाउने कार्यलाई प्राथमिकतामा राखिएको छ। उद्धार टोलीले जोखिमपूर्ण भूगोल र प्रतिकूल मौसमका बाबजुद टनेल तथा प्रभावित बस्तीमा खोजी अभियानलाई निरन्तरता दिइरहेको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !