कोहलपुर, पुष २,
मोहन्याल गाउँपालिका कैलाली जिल्लाको पहाडी क्षेत्रमा अवस्थीत छ । तत्कालिन मोहन्याल, पण्ड़ौन र सुगरखाल गाविसहरु मिलेर बनेको यो गाउँपालिका कुल क्षेत्रफल ६२६.९५ वर्ग कि. मि.मा फैलिएको छ । पूर्वमा सुर्खेत जिल्ला, पश्चिममा चुरे गाउँपालिका, उत्तरमा डोटी र सुर्खेत जिल्ला र दक्षिणमा गौरिगंगा न.पा., घोडाघोडी न.पा., लम्कीचुहा न.पा.र बर्दगोरिया गा.पा.सँग यो गाउँपालिका जोडीएको छ । देशकै बढी जनसंख्या भएको जिल्लाहरुको अग्र पंक्तिमा पर्ने कैलाली जिल्लामा रहेको यस गाउँपालिकामा विकास तथा जनघनत्वका हिसाबले निकै पछि परेको छ । समुन्द्र सतहबाट १ हजार १ सय मिटरदेखि चुरे पर्वत फैलिएको स्थान १ हजार ७ सय मिटरको उचाईमा यो गाउँपालिका अवस्थित छ । वन सम्पदा तथा प्राकृतिक सुन्दरताका हिसाबले यो गाउँपालिका अग्र पंक्तिमा रहेको छ । प्राकृतिक सौन्दर्यको उत्कृष्ठ क्षेत्रका रुपमा यस गाउँपालिकालाई लिन सकिन्छ गाउँपालिकाको वडा नम्बर ७ राजकाँडालाई ।
पहाडको टुप्पोमा भिरालो पाखा । जता हेरे पनि सुन्दर हरियाली । पाखामा बढेका घाँसे क्षेत्र तल हेर्दा देखिने हरियाली जंगल र तराईको समथर भु–भाग तथा घुमेको कर्णाली । बिहानीपख सुर्योदय, साँझमा सुयास्त, पृष्ठभूमिमा लहरै रहेका अपीदेखि सैपालसम्मका हिमालहरुको मनमोहक दृष्य । बादल हट्दा देखिने निलो आकाश । राजकाँडा पुग्दा चित्रकारले कोरेको क्यानभास अवलोकन गरेझै आभास हुन्छ । यहाँबाट अपी र सैपाल हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । बर्दिया राष्ट्रिय निकुञ्जको तराई तथा पहाडी भूगोलको मनमोहक दृष्य यहाँका आकर्षण हुन् । शान्त वातावरण र चिसो हावापानीमा रमाउन पाउँदा उमंगको अनुभूति हुने गर्दछ ।
प्राकृतिक सुन्दरताको अनुपम उदाहरणका रूपमा वर्णन गरिने राजकाँडा पछिल्लो समय निकै चर्चामा रहेको छ । यही सुन्दरतालाई नजिकबाट नियाल्न नेपालगंज साईक्लिङ क्लबका राईडर्सको यात्रा सुरु हुन्छ । वास्तवमै, शारीरिक चुस्तता, शारीरिक सन्तुलन, सृजनात्मक, कलात्मक, उर्जाशिल बनाउन तथा प्रकृतिसँगको साक्षात्कार अनूभुत गर्न नेपालगंज साईक्लिङ क्लबका राईडर्सहरुले हाईकिङको आयोजना गरेका थिए । गएको मंसिर २९ गते शनिबार बिहान झिसमिसेमा बाँकेका विभिन्न स्थानमा छरिएर रहेका यस क्लबका सदस्यहरु एकअर्कासँग सम्पर्कमा रहँदै आफ्नो–आफ्नो यात्रा अघि बढाउँछन् । करिब ९ बजे कर्णाली चिसापानी पुगेर सबै जना एकआपसमा भेटिएर खाजा नास्ता खाईसकेर राजकाँडाको उकालो चढ्न थाले । नेपालगंज साईक्लिङ क्लबका राईडर्सकोहरु दीपक गुरुङ, दिनेश थापा मगर, बाबुराम विश्वकर्मा, अज्जु के.सी., रमेश थापा, प्रियङ्का थापा, विजयेन्द्र जि.सी., रविन्द्र चौधरी लगायतको टोली रमाउँदै, गाउँदैं नाच्दै बाटो कटाउँदै थिए । बाटो उकालो भएपनि मनै लोभ्याउने सम्पदा, गन्तव्य भेट्न लगातार बगिरहेको कर्णालीको अलौकिक दृष्यहरुले मनै तरङ्गित गराईरहेको थियो ।
प्राकृृतिक छटा त छ नै, थकाई मेट्नका लागि बस्दा देखिने सुन्दर तराईका फाँटहरुले उकालो चढ्न हिम्मत दिईरहेको थियो । बाटाभरीका हरिया घाँसे फाँटहरुले स्वागत गरिरहेको अनुभव गर्न सकिन्थ्यो । सँधै घर, परिवार, व्यवसाय, कार्यालय, उहि दैनिकी, अनि उस्तै समस्याहरु बीच खुम्चिएको अस्तव्यस्ततालाई केही घण्टाको लागि भए पनि बिर्सेर प्रकृतिसँग हराउन पुग्दा आफ्नो शारीरिक, मानसिक र सामाजिक स्थितिलाई मनभित्रैबाट नियालिरहेका थिए हाईकिङमा गएका सबै जना । उनीहरु स्वास्थ्य, मानसिक चुस्तता, सामाजिक सदभावका लागि पनि महत्वपूर्ण रहने सामूहिक हाईकिङले नजिकबाट आफूसँगै, प्रकृतिलाई नियाल्ने प्रयास गरिरहेका थिए । एकाध घण्टाको उकाली, ओरालीमा धुलीकोट राजकाँडा पुगिन्छ । वरीपरी पहाडले घेरेको सानो मानव वस्ती । वस्तीहरुको एक छेउमा छ धुलीकोट होम स्टे । बाईसे चौबिसे धुलीकोटे राजा बसेको हुँदा उक्त होम स्टेको नामाकरण पनि धुलीकोट होम स्टेबाट भएको थियो । होम स्टेमा पारिवारिक वातावरणमा ग्रामीण जीवनशैलीको सुवास पाइन्छ ।
आत्मीयता, मिठो खाना र सस्तो मूल्यका कारण धुलीकोट होम स्टेमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । राजकाँडाको डाँडाबाट उदाउँदो तथा अस्ताउँदो सुर्य हेर्नकै लागि यो होम स्टेमा पुग्ने गर्छन पर्यटकहरु । करिब ४ वर्ष पहिले मीन बहादुर बोहोराले होम स्टे संचालन गर्दै त्यँहा घुम्न आउनेहरुलाई आवासीय व्यवस्थापन गर्दै आएका छन् । बोहोरा त्यहाँका स्थानीय भएपनि विभिन्न अभाव तथा समस्याहरुका कारण कैलालीको लम्की बस्दै आएका थिए । आफूले नयाँ केही गर्नुपर्ने सोचका साथ तराईबाट पहाड पसेका मीन बहादुरले होमस्टे संचालन गरे । होम स्टे संचालन गरेको केही समय ग्राहक नआउँदा उनीसहित उनको परिवारले निकै नै सास्ती खेप्नु परेको थियो । विस्तारै राजकाँडाको चर्चा चल्न सुरु भएपछि उनको हो स्टे पनि राम्रै चल्न थालेको छ । करिब १ सय जना पाउनाहरुलाई उक्त होम स्टेमा आवासीय व्यवस्थापन गर्दै आएका छन् । यो होम स्टे अर्गानिक र परम्परागत खाना पाउने ठाउँको रुपमा परिचित बन्दै गएको छ ।
होम स्टे संचालन गर्दाको बेलामा नै अर्गानिक र स्थानीय स्तरमा उत्पादन हुने खाद्यान्नहरु मात्र पाहुनाहरुलाई खुवाउने गरी स्थापना गरिएको संचालक मीन बहादुर बोहोराले बताएका छन् । स्थानीय उत्पादनको स्वाद चाख्नको लागि पनि होमस्टेमा गएर बस्नेहरुको लहर बढेदै गएको उनको भनाई छ । पर्यटन भनेकै नयाँ ठाउँमा घुमफिर गर्ने, प्रकृतिमा भएका बिभिन्न सम्पदाको अवलोकन गर्ने र विभिन्न जातिहरुको भाषा, संस्कृति अनेकौं सांस्कृतिक क्षेत्रहरु पर्दछन् । तीनै स्थानहरुको अवलोकन गर्न आफूहरु हाईकिङ आएको. दीपक गुरुङले बताएका छन् ।
उनले राजकाडाँ निकै सुन्दर रहेको तथा पर्यटन प्रवद्र्धनका लागि विकास जरुरी रहेको बताए । गुरुङले भौगोलिक, जैविक तथा सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यतामा राजकाँड निकै सम्पन्न भएको भन्दै यसलाई पर्यटकीय क्षेत्रमा रुपमा विकास गरिनु गर्ने बताए । यस्तै साईक्लिङ क्लबका अर्का सदस्य दिनेश थापा मगर भन्छन्,–‘आन्तरिक पर्यटनको लागि पर्यटकीय सम्भावना बोकेका गन्तव्यहरु धेरै छन् । ती गन्तब्यहरुको आवश्यक पूर्वाधार र उचित प्रचारप्रसार भएको छैन । पर्यटन विकासको लागि पूर्वाधार नभएसम्म दूरदराजका गाउँहरुमा पर्यटकहरु पुग्दैनन् ।’
राजकाँडा घुमफिर गर्न आउने पर्यटकहरुको लागि आकर्षक गन्तब्य बन्न सक्ने प्रसस्तै उदाहरण तथा सम्भावनाहरु छन् । राजकाँडाको डाँडामा रहेको जाल्पादेवी मन्दिर यहाँको धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्छ । तर पर्यटनको लागि यस्ता गन्तब्य भए पनि पर्यटन प्रवद्र्धनको क्षेत्रमा आवश्यक पूर्वाधार बन्न नसक्दा पर्यटन क्षेत्रहरु ओझेलमा परेका छन् । पर्यटनको विकास गर्न सडक यातायात, सूचना प्रविधि, आवास, स्वच्छ पिउने पानी, शौचालय, विद्युत आपूर्ति, फोहोरमैला व्यवस्थापन जस्ता पूर्वाधार पर्यटकको पहिलो रोजाइमा पर्दछन् । यस्ता थुप्रै अभावहरु प्नि यस क्षेत्रले भोगिरहेको हुँदा पर्यन फस्टाउन समस्या हुने विजयेन्द्र जि.सी.ले बताए । गाउँमा रहेका प्रकृतिक र ऐतिहासिक सम्पदा, विभिन्न धार्मिक मठ मन्दिर, आवत जावत मार्गहरुको विकासले राजकाँडालाई सम्पन्न बनाउन सकिने तथा त्यहाँका स्थानीयलाई सोही ठाउँमा रोक्न सकिने जि.सी.ले बताए ।
यता हाईकिङमा सहभागि प्रियङ्का थापाले आफू पहिलो पटक पुगेको बताउँदै यहाँको वातावरण निकै सुन्दर लागेको अनुभव सुनाईन् ।
राजकाँडा पर्यटनका हिसाबले फराकिलो बन्दै जादा तेस्रो पटक घुम्न जादा पनि अवस्था जस्ताको त्यस्तै रहेको बाबुराम विश्वकर्माले बताएका छन् । उनले प्राकृतिक सौन्दर्यसँग लडिबुडी गर्दै गर्दा विकासका अवस्था जस्ताको त्यस्तै रहनु दुखद भएको बताए ।
राजकाँडाको सुन्दरता सुनेर आफूलाई नजिकबाट हेर्न मन लागेर त्यहाँसम्म पुगेको रमेश थापाले बताए ।
पर्यटनको विकासले नै आर्थिक विकास हो । पर्यटनको विकास गर्नुपर्ने माग सबैको छ । विकासका कुरा उठ्ने बित्तिकै पर्यटनका कुराहरु उठने गर्दछन् । विकासको महत्वपूर्ण आधारनै पर्यटन हो । पर्यटनको बहुआयामिक रुपले विकासमा टेवा पु¥याउँछ । पर्यटनले प्रत्यक्ष आर्थिक आर्जन गराउँछ, रोजगारी सृजना गराउँछ र गाउँघरमा उत्पादन भएको वस्तुहरुको खपत हुन्छ । तर यहाँ अझै पनि स्तरीय मोटरबाटो छैन् । यहाँका पर्यटकीय क्षेत्रहरुको पर्याप्त मात्रामा प्रवद्र्धन हुन सकेको छैन । पर्यटकीयस्थलहरु ओझेलमा परेका छन् । पर्यटक पुग्ने सडक पर्यटनमैत्री छैनन् । पर्यटकीय सम्पदाको पूर्वाधारको विकास र पर्याप्त प्रचारप्रसार हुन सकेको छैन ।
बिधुत्मा रैका, प्रधान सम्पादक