कोहलपुर, माघ १६,
कोहलपुर नगरपालिकाको आयोजनामा आठौं मेयर कप र सत्रौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधवारदेखि कृष्ण म.वि.को खेल मैदानमा सुरु हुँदैछ।
प्रतियोगिताको पुर्व सन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा खेलकुदकालागि सम्पुर्ण तयारी पुरा भएको जनाउदै खेलकुद छनौट प्रतियोगिताका सदस्य सचिव दिलिप ओलिले पत्रकारसँगको भेटमा यस प्रतियोगितामा एथलेटिक्स, भलिवल, कवड्डि, मार्शल आर्ट र चेस खेल समावेश गरिएको जानकारी दिए।
प्रतियोगितामा मावि र आवि तर्फका विभिन्न खेलाडी र टिमहरूले प्रतिस्पर्धा गर्नेछन्। मावि तर्फ ६७३ जना र आवि तर्फ ५१५ जना एथलेटिक्समा, भलिवलमा मावि तर्फ ३८ र आवि तर्फ २३ टिम, कवड्डिमा ४४ टिम र मार्शल आर्टमा १३३ खेलाडी प्रतिस्पर्धा गर्नेछन्। कुल २,१६७ जना खेलाडीको सहभागिता रहने छ।
कोहलपुर नगरपालिकाले प्रतियोगिताको लागि १० लाख बजेट विनियोजन गरेको र सहभागिता शुल्कबाट लगभग ३ लाख संकलन भएको सदस्य सचिबले बताएका छ्न । मावि तर्फ प्रथम हुनेलाई ७५ हजार, द्धितिय हुनेलाई ६५ हजार र तृतीय हुनेलाई ५५ हजार नगद पुरस्कार दिइनेछ भने आवि तर्फका खेलाडीहरूलाई क्रमशः २५ हजार, २० हजार र १५ हजार पुरस्कार मिल्नेछ। यस वर्ष पुरस्कार वितरणमा खेलकुदका उत्कृष्ट खेलाडीलाई ५१ हजार नगद पनि दिइनेछ।
प्रतियोगितामा मावि तर्फ १३ सामुदायिक र २७ संस्थागत विद्यालयको सहभागिता रहनेछ भने आवि तर्फ ८ सामुदायिक र ५ संस्थागत विद्यालय सहभागी हुनेछन्।
नगर प्रमुख पुर्ण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन बुधवार अपरान्ह १ बजे हुने बताइएको छ। नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्रिले कोहलपुरलाई खेलकुद पर्यटनको केन्द्र बनाउनका लागि स्थानीय सरकारसहित प्रदेश र संघीय सरकारको सहयोग आवश्यक रहेको र यस खालका प्रतियोगिताहरूको लागि बजेट विनियोजन गर्नुपर्ने बताए ।
सामाजिक विकास समिति संयोजक ईशवरी प्रसाद विश्वकर्मासहितको उपस्थितिमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा २ दर्जन भन्दा बढी स्थानीय पत्रकारहरूको सहभागिता रहेको थियो। यस प्रतियोगिता द्वारा कोहलपुरमा खेलकुदको प्रगति र यसका लागि आवश्यक नीति निर्माणको पक्षमा व्यापक छलफल भएको थियो।