कोहलपुर, फागुन ७,
बाँकेको कोहलपुरमा ७औं उप–मेयर कप क्रिकेट प्रतियोगिता २०८१ को उद्घाटन गरिएको छ ।
बुधबार बिहान कोहलपुर नगरपालिकाका प्रमुख तथा उद्घाटन समारोहका प्रमुख अतिथी पूर्ण आचार्य तथा उपप्रमुख संगीता सुबेदीले शान्तिको प्रतिक परेका उडाएर सयुक्त रुपमा क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका थिए । कोहलपुरको अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी आचार्यले खेलकुदको विकासमा कोहलपुर नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताएका छन् ।
खेलकुद क्षेत्रको विकास जहिले पनि आफ्नो प्राथमिकतामा परेको आचार्यले बताए । उनले भने,–‘कोहलपुरबाट उत्पादन भएका खेलाडीहरु राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा समेत खेलिसकेका छन् । खेलमा महिला पुरुष बिच विभेद हुँदैन । कोहलपुरका महिला खेलाडीहरुले उत्कृष्ठ प्रदर्शन गर्दै आएका छन् ।’ उनले खेल क्षेत्रले नै अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम चिनाएको बताउँदै आचार्यले आगामी दिनमा देशको नाम उँचो राख्न सक्नेगरि मेहनत गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै उपप्रमुख सुबेदीले खेलकुदमा महिलाहरुको सहभागिता बढाउन नगरपालिकाले ७औं महिला क्रिकेट प्रतियोगिता आयोजना गरेको बताइन् । आफुहरू जहिले पनि महिलाहरुको साथमा रहेको बताउँदै दक्ष खेलाडी उत्पादन आफुहरूको प्राथमिकतामा रहेको बताईन् । उनी भन्छिन्–‘७औं उपमेयर कप क्रिकेट प्रतियोगिताले नयाँ खेलाडीको उत्पादनका लागि फलदायी हुने हामीले अपेक्षा लिएका छौं ।’
कोहलपुर नगर खेलकुद विकास समिति संयोजक चक्र चिमाला क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रम यस क्षेत्रका खेलप्रेमी, सुरक्षाकर्मी जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कोहलपुर नगरपालिकाको आयोजनामा तथा कोहलपुर नगर खेलकुद विकास समितिको सहकार्यमा सुरु भएको प्रतियोगितामा १८ विद्यालयका टिमको सहभागिता छ । महिला खेलाडीलाई प्रोत्साहन गर्न नगरपालिकाले प्रतियोगिता आयोजना गरेको हो । उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता १३ गतेसम्म संचालन हुने छ ।
प्रतियोगिताका लागि करिब ७ लाख रुपैया बजेट विनियोजन गरिएको छ । प्रतियोगितामा उत्कृष्ट तथा उपविजेतालाई पुरस्कार समेत बृद्धि गरिएको छ । यस क्रिकेट प्रतियोगितामा १९ वर्ष मूनीका खेलाडीहरु सहभागि छन् । प्रतियोगिताको विजेता टिमले ३५ हजार नगद, ट्रफी तथा २५ हजार बराबरको खेलकुद सामग्री प्राप्त गर्नेछ भने उपविजेता टिमले २० हजार नगद र १५ हजार बराबरको खेलकुद सामग्री जित्नेछ ।
व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ जसमा प्लेयर अफ द सिरिजलाइ ७५००, बेस्ट ब्याटर ५०००, बेस्ट बलर ५०००र उदाउँदो खेलाडीका रूपमा एक जोडी क्रिकेट सुज (जूता) प्राप्त गर्नेछन् । खेलकुद विकास समितिको सिफारिसमा प्रतियोगिताबाट उत्कृष्ट ५ खेलाडीलाई क्रिकेट एकेडेमीमा निःशुल्क प्रशिक्षण प्रदान समेत गरिनेछ ।