कोहलपुर, फागुन २३,
तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार बिच खेल हुँदैछ ।
कोहलपुर रेसिङ साहारा क्लब बाँकेले शनिबार हुने फाईनल खेल बारे जानकारी दिएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत् तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधिका लागि फाईनल खेलमा प्रवेश गरेका राईजिङ स्टार फुटबल क्लब नवलपरासी र आयोजक कोहलपुर रेसिङ साहारा क्लब बिच शनिबार हुने तयारी तथा जितका लागि गरिएका रणनीतिबारे जानकारी गराएको हो । खेलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तान र प्रशिक्षकले विजयीको लक्ष्यसहित मैदान उत्रिने बताएका छन् ।
फाईनल राउण्डसम्म पुगेका दुवै टोलीको खेल निकै रोमान्चक हुने दर्शक तथा आयोजकले आँकलन गरेका छन् । दुवै टोलीले जितको लक्ष्य राखेका छन् । उपाधी आफूले नै लिने दुवै टिमले दावी गरिरहेका छन् । आयोजक कोहलपुर रेसिङ साहारा क्लबका कोच रामजित चौधरीले गोल्डकपको फाइनल राउण्डसम्म पहिलो पटक पुग्न सफल भएको बताउँदै उपाधि चुम्ने दृढ लक्ष्य रहेको बताएका छन् । आफ्नो टोली उत्कृष्ट लयमा रहेको भन्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने उनले बताए ।
तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि जित्ने आफूहरुको एकमात्र लक्ष्य रहेको कोहलपुर रेसिङ साहारा क्लबका कप्तान निराजन शाहीको भनाइ थियो । पत्रकार सम्मेलनमा बोल्दै राईजिङ स्टार फुटबल क्लब नवलपरासीका टिम म्यानेजर धर्मेन्द्र अग्रहरीले आफ्नो टोलीले ट्रफी लिने उद्देश्यसहित फाइनल खेल्ने बताए । यस्तै,नवलपरासी कप्तान विनोद केवटले आयोजक क्लबलाई दर्शक र घरेलु मैदानको सहजता भएपनि आफ्नो टिम एकताबद्ध भएकाले निर्धारित समयमै जित्ने गरेर फाइनल खेल्ने बताएका थिए ।
उक्त अवसरमा बोल्दै कोहलपुर रेसिङ साहारा क्लबका अध्यक्ष चक्र चिमला क्षेत्री दुवै टोलीलाई जितको अग्रिम शुभकामना व्यक्त गरे । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपका खेल संयोजक कर्ण बस्नेतका अनुसार फाइनलमा प्रति व्यक्ति एक सय रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । बृद्धबृद्धा र बालबालिकाको हकमा फाइनलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले जानकारी दिए । गोल्डकपमा आठ वटा टिमको सहभागिता रहेको थियो ।



