बिधुत्मा रैका,
कोहलपुर, चैत ८,
४ बाहिनी अड्डा राँझा नेपालगंजले भुपु सैनिक सम्मेलन २०८१ भव्यताका साथ मनाएको छ ।

नेपाली सेनाका पूर्व सैनिक (भूपू सैनिक) हरुको भव्य सम्मेलन बज्रदल गण ४ बाहिनी अड्डा राँझामा मनाईएको हो । उपरथी दीपक कुमार बानिया तथा सहायक रथी रोशन समशेर जबराले संयुक्त रुपमा दीप प्रज्वलन गर्दै सम्मेलनको उद्घाटन गरेका थिए । सम्मेलनलाई लाईभ मल्टिटेलिकास्ट मार्फत सम्बोधन गर्दै प्रधान सेनापति महारथी अशोकराज सिग्देलले भूपू सैनिकहरूको योगदानको चर्चा गर्दै भूपू सैनिकहरुले राष्ट्र सेवामा गरेका त्याग र समर्पणको उच्च प्रशंसा गरेका थिए । प्रधान सेनापति सिग्देलले भूपू सैनिकहरूको योगदानको उच्च प्रशंसा गर्दै उनीहरू राष्ट्र सेवाका अभिन्न अंग भएको उल्लेख गरे ।प्रधान सेनापति सिग्देलले आफ्नो सम्बोधनमा भने,–‘भूपू सैनिकहरू राष्ट्रका अमूल्य सम्पत्ति हुन् । तपाईंहरूले गरेको त्याग, समर्पण र अनुशासनले नेपाली सेनाको गरिमा अझ बढाएको छ । हामी तपाईंहरूको हितका लागि सधैं तत्पर छौं ।’ प्रधानसेनापति सिग्देलले सैनिकहरूको सम्मेलनले आपसी सम्बन्ध सुदृढ गर्नुका साथै राष्ट्र सेवाको भावना झन् प्रगाढ बनाउने धारणा राखेका थिए ।

पृतनापति अनुपजंग थापाले वर्तमान प्रधानसेनापति अशोकराज सिग्देलले आफ्नो कार्यकालको सुरुवाती चरणमै नेपाली सेनामा आवद्ध भएका श्रीमानका एकल श्रीमतीहरुलाई दिईदै आएको मासिक रु ४ हजार ५ सय, ३ हजार ५ सय र १ हजार ५ सय पुर्याईएको जानकारी दिएका छन् । सम्मेलनमा मल्टिकास्ट मार्फत बोल्दै उनले पछिल्लो समय नेपाली सेना आर्थिक अवस्था सुढृढीकरणको अभिलाषा, व्यवसायीक सीपको विकास र लगानी सुनिश्चित महशुस नहुनु जस्ता कारणले अवकास पश्चात वैदेशिक रोजगामा जानु पर्ने बाध्यात्मक परिस्थिती रहेको उल्लेख गरे । थापाले आफूसँग भएको सीपलाई आफ्नै देशभित्र व्यवसायीक उन्मुख बनाई आर्थिक उन्नती र प्रगति गर्ने अभिप्रायका साथ सहुलियतपूर्ण कर्जा संचालन गरिएको बताएका छन् । नेपाली सेनाबाट उपलब्ध व्यवसायीक सीपमुलक तालिमहरु हासिल गर्दै प्राप्त सहुलियत कर्जाको सदुपयोग गरि बढिभन्दा बढि लाभ लिन सबैको ध्यानाकर्षण गराएका छन् । उनले भने,–‘सैनिक कल्याणकारी कोषको रकम हाम्रै रगत पसिनाबाट आर्जेको सम्पति हो । जसलाई संरक्षण गर्नु तथा उचित सदुपयोग गर्नु हाम्रो दायित्व हो । त्यसकारण काल्याणकारी सेवा सुविधाहरुको मितव्ययीता पूर्वक उपयोग गर्नु हाम्रो कर्तव्य पनि हो ।’ उनले यस सम्मेलनमा सहभागिहरुबाट प्राप्त हुने महत्वपूर्ण राय सुझावले कल्याणकारी कोषको दिगोपन तथा बाँकी कार्यक्रमहरु तय गर्न दिशा निर्देशन गर्नेमा विश्वस्त रहेको बताए ।


थापाले प्रधान सेनापति मार्ग निर्देशन २०८१ मा कल्याणकारी कोष दिगोपन तथा सेवा सुविधाहरुलाई निरन्तरता दिई थप विस्तार र व्यवस्थापन गर्ने व्यवस्था अनुसार कोषको पहुँच र दायरा फराकिलो बनाएको बताए । सम्मेलनमा जेष्ठ नागरिक, सार्वोकृष्ठ तथा उत्कृष्ठ उद्यमीहरुलाई सम्मान गरिएको थियो । सम्मेलनका प्रमुख अतिथी उपरथी बानिया तथा सहायक रथी जबराले भिडन्तमा परी घाईते भएका भुपु सैनिक, उनका अशक्त तथा अपाङ्गता भएका परिवारका सदस्यहरुलाई ह्वील चियर तथा बैशाखी वितरण गरेका थिए । ९ जनालाई ह्वील चियर, ४ जनालाई बैशाखी गरि १३ जना घाईते तथा अशक्त व्यक्तिलाई प्रदान गरिएको बज्रदल गण प्रमुख सेनानी रविन श्रेष्ठले बताएका छन् ।


सम्मेलनमा सहभागिहरुका गुनासा सुन्दै प्रमुख अतिथी बानियाले आफूसँग आएका गुनासाहरुको सम्बोधन तथा समाधानका लागि पहल गर्ने बताए । उनले भूपू सैनिकहरूको हितका लागि विभिन्न सेवा सुविधा विस्तार गर्दै भुपु सैनिक तथा उनका परिवारमार्फत् आफूमाझ आएका गुनासा तथा समस्याहरु जंगी अड्डासम्म पुर्याउने प्रतिवद्धता व्यक्त गरे । सम्मेलनमा बाँके र बर्दियाका भूपू सैनिक तथा एकल महिलाहरुको उत्साहजनक सहभागिता थियो । कार्यक्रममा बाँके र बर्दिया जिल्लाका गरि ३ हजार १ सय ५ जना भूपू सैनिक तथा उनका परिवारहरु सहभागि थिए । कार्यक्रममा नेपालगंज सैनिक अस्पतालका प्रमुख सेनानी डा. मोहित थापा मगर लगायत यस क्षेत्रका नेपाली सेनामा आवद्ध उच्च पदस्थ व्यक्तिहरुको पनि उपस्थिती रहेको थियो । सम्मेलनमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । सम्मेलनको संचालन ४ बाहिनी अड्डाका प्रमुख सेनानी दीपक गुरुङले गरेका थिए ।




