प्रकृति प्रेमी (मनोज)
कोहलपुर, बैशाख १३,
हालको नेपालगञ्ज उपमहानगरपालिका–८ का युवा मोहन गोडिया अहिले नागरिकता अभावको पीडामा मात्रै होइन, आफ्नै मुलुकमा पहिचानविहीन जीवन बिताउन बाध्य छन् । २०५८ साल असोज १६ गते बुबा पारस र आमा मायाकुमारीको कोखबाट जन्मिएका गोडियाले अहिलेसम्म पनि नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सकेका छैनन् ।
वडास्तरमा प्रक्रिया पूरा गरे पनि, बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले “बुबा नभई नागरिकता दिन नमिल्ने“ भन्ने अडान लिएपछि मोहनले २०७७ नागरिकता पाउँ भनी तुलसीपुर उच्च अदालतमा मुद्दा दायर गरे । २०७८ सालमा अदालतले स्पष्ट आदेश दिंदै भनेको थियो, “व्यक्ति नेपाली नागरिक आमा वा बुबामार्फत प्रमाणित भएमा नागरिकता दिनु अनिवार्य छ; नागरिकता भनेको पहिचान हो, कुनै पनि योग्य व्यक्तिलाई त्यसबाट वञ्चित गर्न मिल्दैन ।’’
तर, उच्च अदालतको आदेश पनि सरकारी संयन्त्रको ढिलोचाँडो र उपेक्षाले कार्यान्वयन हुन सकेन । गोडियाले २०८१ सालको असार र चैत महिनामा गृह मन्त्रालयमा समेत धाउनुप¥यो । गृह सचिवले ‘सम्बन्धित मुचुल्का उठाएर प्रक्रिया पु¥याएमा नागरिकता जारी गर्न मिल्छ’ भनेर मौखिक आश्वासन दिए । तर जब कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्यलाई समेतसँगै लिएर प्रक्रिया पूरा गराउन खोज्दा पनि कुनै सुनुवाइ भएन, गोडिया मिडियामा आफ्ना पीडा पोख्न बाध्य भए ।
यसबीच, नागरिकताको विषयमा पत्रकार शुभाकर विश्वकर्माले बाँकेका हालका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीसँग फोनमार्फत बुझ्न प्रयास गर्दा, जोशीले ‘नागरिकताको लागि फोन गर्ने सबै दलाल हुन्’ भन्ने अवमानजनक टिप्पणी गरे । यो भनाइ बाहिरिएपछि विषयले झन् नयाँ मोड लिएको छ । यही क्रममा बाँकेका प्रहरी प्रमुख (एसपी) तुलबहादुर कार्कीले समेत पत्रकार विश्वकर्मालाई स्पष्टिकरणका लागि फोन गरेको भन्ने आरोप लागेपछि, पत्रकार र सञ्चारकर्मीहरू थप आक्रोशित भएका छन् । विभिन्न सञ्चार समूहले संयुक्त प्रेस वक्तव्य जारी गर्दै प्रजिअ जोशीको तत्काल सार्वजनिक माफीको माग गर्दै विरोध कार्यक्रमहरू जारी राख्ने चेतावनी दिएका छन् ।
मोहनको सपनामा तगारोः पढाइ र खेलकुद दुबै रोकिने
नागरिकताको अभावले मोहन गोडियाको जीवनका अनेक अवसरहरू गुमेका छन् । उच्च शिक्षाका लागि आवश्यक कागजात नपाउँदा उनले पढाइ रोक्नुप¥यो । त्यसैगरी राष्ट्रिय स्तरको एथ्लेटिक्स खेलाडीका रूपमा उदयमान भएका मोहनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत गुमाउनुप¥यो । उनले भने,–‘म नागरिकता नभएका कारण पढ्न पनि सक्दिन, खेल्न पनि सक्दिन ।’ उनले दुःखेसो गरे,–‘देशको झन्डा उठाउने सपना बोकेका हामीलाई यस्तै अवस्थामा राखिन्छ भने युवाले कस्तो भविष्य देख्ने ?’
नागरिकता समस्याले गहिरिँदै अन्याय
मोहन गोडियाको घटना कुनै एक व्यक्तिको मात्रै पीडा होइन । देशभर थुप्रै नेपालीहरू जन्मसिद्ध नेपाली नागरिक भएर पनि कागजी प्रक्रियामा रुमलिँदा जीवनभर पहिचानविहीन बाँच्न बाध्य छन् । यस्ता घटनाले राज्य संयन्त्रको असंवेदनशीलता र मानव अधिकारप्रति गम्भीर प्रश्न उठाएको छ । सम्बन्धित निकायहरूले गम्भीर चासो नदिई नागरिकता वितरण प्रक्रियालाई सहज, पारदर्शी र द्रुतगतिमा अगाडि नबढाएमा यस्ता घटनाहरूले अझै राष्ट्रिय संकट निम्त्याउने खतरा देखिन्छ ।



