जनप्रतिनिधि र क्रियाशील पत्रकार महिला बिच भएको खेलमा पत्रकार विजयी, जितका लागि बिधुत्मा रैकाको उत्कृष्ठ गोल

कोहलपुर, बैशाख ३,

बाँकेमा महिला सशक्तिकरणको सशक्त सन्देश दिँदै मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

क्रियाशील पत्रकार महिला र स्थानीय जनप्रतिनिधि महिलाबीच भएको रोमाञ्चक प्रतिस्पर्धामा पत्रकार महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा पार्न सफल भएको हो । कोहलपुरस्थित गोर्खा युनाइटेड स्कुलको खेल मैदानमा सम्पन्न उक्त खेल निकै प्रतिस्पर्धात्मक र दर्शकका लागि रोमाञ्चक रह्यो । खेलको निर्णायक क्षणमा पत्रकार विद्युतमा रैकाले गरेको एक महत्वपूर्ण गोल नै टोलीको जितको आधार बन्यो । उनको शानदार प्रदर्शनले मैदान तताएको थियो भने दर्शकहरूले पनि भरपूर साथ दिएका थिए ।

प्रतियोगितामा विजेता बनेको पत्रकार महिला टोलीलाई ट्रफीसहित नगद रु १५ हजार प्रदान गरिएको थियो भने उपविजेता स्थानीय जनप्रतिनिधि महिला टोलीले नगद रु ५ हजारमा चित्त बुझायो । सिटी यूथ क्लबको आयोजनामा तथा सामाजिक विकास डिभिजन कार्यालय, नेपालगन्ज बाँकेको समन्वयमा सम्पन्न प्रतियोगिता लुम्बिनी प्रदेश सभा सदस्य माननीय मीना श्रेष्ठज्यूको सांसद विकास कोषबाट सञ्चालन गरिएको हो।

महिला सशक्तिकरण, नेतृत्व विकास र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताले सहभागीहरूबीच नयाँ ऊर्जा र उत्साह थपेको छ । साथै, यस्ता गतिविधिले महिलाहरूलाई खेलकुदमार्फत आत्मविश्वास बढाउने र सामाजिक रूपमा अझ सक्रिय बन्न प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !