बिधुत्मा रैका,
कोहलपुर, जेठ २२,
बाँकेको जंगल सधैं शान्त लाग्छ, तर त्यो शान्तिभित्र लुकेको हुन्छ गर्जन । त्यो गर्जन, जुन सुस्तरी आएको हावाजस्तै कानमा पर्छ र एकाएक मनभित्र तर्साउने कम्पन उठाउँछ । त्यो गर्जन जंगलको राजा पाटेबाघको हो । यो गर्जनसँग बाँकेको आत्मा जोडिएको छ । बाँके राष्ट्रिय निकुञ्ज सायद अरू धेरै कुराले पनि परिचित हुन सक्थ्यो । तर पाटेबाघको उपस्थिति नै यसको असली परिचय बन्न पुगेको छ । बाघ यहाँ केवल एक जनावर होइन, एउटा उपस्थितिको नाम हो । जुन उपस्थितिले जंगललाई जंगल बनाउँछ । बाघ जहाँ हुन्छ, त्यहाँ सन्तुलन हुन्छ । त्यहाँ डर हुन्छ, तर सम्मान पनि हुन्छ । बाँके निकुञ्जले बाघलाई राखेको मात्रै छैन, उसलाई चिनाएको पनि छ । जंगलको मुटु भनेर जसलाई बुझिन्छ, त्यही ठाउँ पाटेबाघले वर्षौंदेखि चलाइरहेको एउटा मौन साम्राज्य हो । तर यो साम्राज्य सधैं मौन छैन । कहिलेकाहीँ गर्जन सुनिन्छ टाढाबाट । घना बुट्यानबाट । त्यो गर्जन केवल उसको शक्ति प्रदर्शन होइन, उसको सीमाको घोषणा हो ।
हरियाली, बाघ र अन्य जनावरको दृष्यावलोकन हेर्न बाँके राष्ट्रिय निकुञ्ज सक्षम बनिसकेको छ । बाघ हेर्नु मात्र होइन, उसलाई महसुस गर्न जान्नु पनि कला हो । बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघको उपस्थितिले धेरै कुरा जगेर्ना गरेको छ । जंगल, चराचुरुङ्गी, स्यालदेखि चितलसम्मको जैविक विविधताको रक्षा गरेको छ । बाघ केवल शिकारी होइन, सन्तुलनकर्ता पनि हो । ऊ लोप भयो भने बाँकी सबैको जीवनशैली बिग्रिन सक्छ । बाघले बाँकेलाई चिनाएको हो भने, बाँकेले बाघलाई जोगाएको पनि हो । यो सहअस्तित्व हो । बाघसँग नदेखिएको तर महसुस गर्न सकिने सम्बन्ध छ । जहाँ बाघ बिना जंगल अधुरो हुन्छ, अनि जंगल बिना बाघ पनि । बाँके राष्ट्रिय निकुञ्ज कुनै सरकारी सीमाभित्रको भूगोल मात्र होइन । यो एउटा लय हो, एक मौन संगीत हो, जसको धड्कन पाटेबाघको पदचापसँग मिल्दोछ । बाँके राष्ट्रिय निकुञ्ज केवल हेर्न होइन, सुनेर भ्रमण गर्न सकिन्छ । शब्दभन्दा बलियो गर्जन जुन यस निकुञ्जको पहिचान हो ।
बाँके राष्ट्रिय निकुञ्जका जंगलहरूमा गर्जेको जंगलको राजा बाघलाई हामीले नभेट्ने पनि हुन सक्छौं । तर यहाँ एउटा विशेष कथा छ । एउटा बाघको कथा, जसलाई उसको आमाले छोडेको थियो र बिरामी अवस्थामा जंगलमा फेला परेको थियो । जन्मेको झण्डै दुई वर्ष बितिसकेको त्यो बाघ सिकार गर्न नसक्ने अवस्थामा थियो । जङ्गलमा एक्लो, कमजोर र असहाय थियो । सामान्य अवस्थामा बाघले आफैं खाना खोज्छ, तर यसले त्यो क्षमता गुमाइसकेको थियो । त्यसैले बाँके राष्ट्रिय निकुञ्जको टोलीले उसलाई सुरक्षा दिन र स्वस्थ्य बनाउन खोरभित्र ल्याएर विशेष हेरचाह थाले । खोर भनेको एउटा संरक्षित ठाउँ हो, जहाँ बाघलाई पूर्ण सुरक्षा, खाना र आवश्यक उपचार प्रदान गरिन्छ । यस बाघलाई निकुञ्जका कर्मचारीहरूले दैनिक सरसफाई, पोषणयुक्त खाना र माया–ममता दिन्छन् । जब बाघ बिरामी हुन्छ, तत्काल जनावरको डाक्टरलाई बोलाएर उपचार गरिन्छ । यसरी, बिरामी अवस्थाबाट सुरु भएको जीवनमा आशाको नयाँ किरण बलियो हुँदैछ । पर्यटकहरू पनि यो संरक्षणको काम देख्न रुचाउँछन् । उनीहरूलाई निकुञ्ज प्रशासनले सचेत बनाएको छ कि खोरमा प्रवेश गर्न अनुमति नलिईभित्र पस्न नपाइने नियम छ । यसले बाघको सुरक्षा सुनिश्चित गर्छ भने पर्यटकलाई संरक्षणको महत्व बुझ्न सहयोग गर्छ । यो खोर केवल एउटा बन्दीक्षेत्र होइन, जीवनको दोस्रो मौका दिने सुरक्षित आश्रय हो । यहाँ बाघलाई प्राकृतिक जीवनशैली जस्तो अनुभव दिलाउने प्रयास गरिन्छ । निकुञ्जले देखाएको यो प्रेम र संरक्षणले मात्र बाघ बाँचेको हो, र बाँके निकुञ्जलाई वन्यजन्तु संरक्षणको उदाहरण बनाएको छ ।
बाघलाई सहयोग गर्न सकिन्छ, जब हामी उसलाई सही माया र सुरक्षा दिन्छौं । वन्यजन्तुको संरक्षण हामी सबैको जिम्मेवारी हो, र सफल प्रयासले जीवन बचाउन सक्छ । प्रकृतिप्रति सम्मान र संरक्षणले मात्र हामी दिगो वातावरण र समृद्धि बनाउन सक्छौं । यो बाघको कथाले हामीलाई सिकाउँछ । जहाँ संरक्षण हुन्छ, त्यहाँ जीवन रहन्छ । बाँके राष्ट्रिय निकुञ्जले देखाएको प्रतिबद्धता र माया सबैका लागि प्रेरणा हो । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत विरेन्द्र कंडेलले बाघ केवल वन्यजन्तु नभई जंगलको जैविक सन्तुलन कायम राख्दैं मानव तथा वन्यजन्तु बिचको सम्बन्ध कायम राख्ने जनावर भएको बताए । उनले बाघ संरक्षणको महत्वबारे बताउँदैं बाघलाई सुरक्षित राख्न सकियो बने सम्पूर्ण पारिस्थितिक प्रणालीलाई जोगाउँन मद्दत पुग्ने बताए । उनले थपे,–‘खोरमा राखिएको बाघको स्याहार हाम्रो प्रतिबद्धताको प्रतीक हो । यो केवल एक जनावरको जीवन बचाउने कुरा होइन, यो सम्पूर्ण जैविक विविधताको संरक्षण हो ।’
कंडेलले बाघको स्याहारमा संलग्न टोलीको समर्पणको प्रशंसा गर्दै माया र सेवा बिना यो सम्भव नभएको उल्लेख गरे । उनले खोरको वातावरणबारे उल्लेख गर्दै भने,–‘हामीले खोरलाई प्राकृतिक बनावटमा निर्माण गरेका छौं । जसले बाघलाई जंगलको अनुभव दिन्छ । यसले उसलाई मानसिक र शारीरिक रूपमा स्वस्थ राख्न मद्दत गर्छ ।’ कंडेलका अनुसार बाघको आमाले छोडेको अवस्था निकै संवेदनशील थियो । निकुञ्जको पहिलो प्राथमिकता बाघलाई जोगाउनु थियो । खोरभित्र राखेर उसलाई सुरक्षा मात्र दिएका दिईएको छैन उसलाई दोस्रो जीवन पनि दिएको छ । बाँके राष्ट्रिय निकुञ्जको खोरमा रहेको बाघ संरक्षणको कथा एउटा प्रकृति र मानवको सहकार्यको उदाहरण हो । यहाँ तीनवटा कोठा छन्, जहाँ बाघलाई सुरक्षित राखेर हेरचाह गरिन्छ । जब कोठा सफा गरिनुपर्छ, बाघलाई अर्को कोठामा सारिन्छ ताकि उसलाई कुनै असुविधा नहोस् । तर खोरको विशेषता के हो भने, यो कुनै सामान्य पिंजडा होइन । बाघलाई प्राकृतिक वास जस्तो महसुस गराउने लक्ष्यका साथ खोरभित्र जंगलको वातावरण निर्माण गरिएको छ । रुखहरू छन्, जहाँ बाघले जंगलको महसुश गर्न सक्छ । सानो पानीको ताल छ, जसले पोखरीमा पसेर आराम दिन्छ र खोरलाई प्राकृतिक रूपमा जीवन्त बनाउँछ । यी सबै तत्वले बाघलाई थुनिएको महसुस भन्दा, जंगलमै भएको अनुभूति दिन्छ ।
त्यही कारणले बाँके राष्ट्रिय निकुञ्जले खोरलाई केवल सुरक्षा स्थल मात्रै होईन बाघको ‘घर’ बनाउन प्रयास गरेको छ । बिरामी अवस्थामा भेटिएको बाघलाई अहिले यहाँ माया र संरक्षणका साथ स्वस्थ्य बनाईएको छ । यो संरक्षणको प्रक्रिया सरल छैन । तर प्रत्येक दिन सफाई, उपचार र खोरको वातावरण सधैं जाँच गर्ने समर्पित टोलीले बाघलाई सहज र स्वस्थ राख्न आफूलाई समर्पित गरेको छ । पर्यटकहरू पनि यहाँ आउने मौका पाउँदा बाघको जीवनशैली र संरक्षण प्रक्रियालाई नजिकबाट बुझ्न पाउँछन् । निकुञ्जले पर्यटकलाई खोरभित्र प्रवेशमा कडाइ गर्छ, जसले बाघलाई तनावबाट बचाउँछ र उसको प्राकृतिक व्यवहार कायम राख्न मद्दत गर्छ । यस खोरले वन्यजन्तुको संरक्षणमा नयाँ युग सुरु गरेको छ, जहाँ थुनिएको पिंजडामा होइन, प्राकृतिक जीवनमै आधारित संरक्षणमा जोड दिइन्छ । बाँके राष्ट्रिय निकुञ्जको यो उदाहरणले वन्यजीवन र मानवबीचको सौहार्दपूर्ण सहअस्तित्वको मार्ग देखाएको छ ।
‘सुरुमा डर लाग्थ्यो, अहिले बानी परिसक्यो’ बाघको स्याहार गरिरहेका धन बहादुर केसीले भने । उनले सुरु–सुरुमा बाघ नजिक जानै डर लागेको अनुभव सुनाए । ‘ठूलो जनावर, तीव्र दृष्टि, अनि कहिले काही गर्जिने आवाजले मनमा हल्का त्रास हुन्थ्यो । तर समयसँगै सबै कुरा फेरियो ।’ विगत ६ महिनादेखि खोरमा राखिएको बाघको स्याहार, खाना, पानी र सरसफाइको जिम्मेवारी लिएका केसी भने । उनी थप्छन्,–‘अब त बानी परिसक्यो । बिहानको काम नै खोर सफा गर्नु, पानी फेरि दिनु, अनि बाघको स्वास्थ्य र मुड बुझ्नु हो ।’
केसीको लागि यो केवल रोजगारी होइन, भावना र जिम्मेवारीको विषय बनिसकेको छ । उनी भन्छन्,–‘बाघलाई खाना दिँदा, ऊ टाढाबाट हेरेर चुपचाप बसिरहेको देख्दा, वा कहिले कहिले रमाएको जस्तो व्यवहार गर्दा एक किसिमको सन्तोष मिल्छ । जसरी हामी घरको पाल्तु जनावरको माया गर्छौं, अहिले त्यस्तै महसुस हुन्छ ।’ धन बहादुर केसीको अनुभवले देखाउँछ साँचो समर्पण, निरन्तर माया र सेवा भावले वन्यजन्तुप्रति पनि आत्मीयता विकास गर्न सकिन्छ । उनले बाघको व्यवहार बुझ्ने क्षमता मात्रै होइन, त्यसप्रति आत्मीय अनुभूति पनि हासिल गरेका छन् । उनले भने,–‘अब त रमाइलो लाग्छ ।’ केसीको जंगलको राजा भनेर चिनिने बाघको स्याहार गर्न पाउनु, त्यो पनि दैनिक, एउटा विशेष अनुभव हो ।