बाँके राष्ट्रिय निकुञ्जको प्रचारप्रसारका लागि कोहलपुर चौराहमा ईन्दिरा श्रेष्ठद्धारा निर्मित जङ्गली जनावरका मूर्ति

कोहलपु, असार २१,

बाँके राष्ट्रिय निकुञ्जको प्रवर्धन र पर्यटकीय प्रचारप्रसारका लागि बाँकेको कोहलपुर चौराहामा विभिन्न जङ्गली जनावरका मूर्तिहरू स्थापना गरिएको छ ।

 

कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा निकुञ्जले शनिबार चौराहामा चार वटा जनावरका मूर्तिहरू राखेको हो । मूर्तिहरूमार्फत निकुञ्जको प्रचारप्रसार, संरक्षित जनावरहरूको महत्वको अभिवृद्धि गर्नुका साथै चौराहाको सौन्दर्यमा थप आकर्षण हुने अपेक्षा गरिएको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार चौराहाको चारै दिशामा दुईवटा बाघ, एउटा चौका र एउटा हात्तीको मूर्ति राखिएको छ ।

देशकै कान्छो राष्ट्रिय निकुञ्ज बाँकेमा संरक्षित जनावरहरू छन्, तिनको प्रवर्धन तथा पर्यटक आकर्षणका लागि चौराहामा मूर्ति राखिएको कँडेलले बताए । उनले भने,–‘निकुञ्जको प्रचारप्रसारका साथै कोहलपुरको सौन्दर्य अभिवृद्धिमा मूर्तिहरूले भूमिका खेल्ने छ । बाँके जिल्लाकै शान र पहिचान बनेको निकुञ्जको प्रवर्धनमा यसले टेवा पु¥याउनेछ ।’

चौराहाको पूर्वतर्फ र उत्तरतर्फ बाघ, पश्चिमतर्फ चौका र दक्षिणतर्फ हात्तीको मूर्ति राखिएको हो । डिभाईन आर्ट स्टुडियो पार्वतिपुर चितवनबाट निर्माण गरिएका मूर्तिहरू फाइबरबाट बनाइएका हुन्, जसले मौसम प्रतिरोधी र दीर्घकालीन टिकाउ हुने डिभाईन आर्ट स्टुडियोका मार्केटिङ म्यानेजर सुमित लामाले बताए ।

नगर प्रमुख पूर्णप्रसाद आचार्यले निकुञ्जको आग्रहमा मूर्ति निर्माण गरिएको जानकारी दिए । उनले भने,–‘यदि यो प्रयास प्रभावकारी देखियो भने नगरका अन्य प्रमुख स्थानहरूमा पनि यस्ता जनावरका मूर्तिहरू राख्ने योजना छ ।’ नगर प्रमुख आचार्यका अनुसार ढुवानीसहित करिब ७ लाखमा मुर्तिहरु ल्याईएको बताए । वर्ष २०६७ असार २८ गते स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापित भएको हो ।

मूर्तिहरू स्थापना भएपछि कोहलपुर चौराहामा फोटो खिच्ने, भिडियो बनाउने र टिकटक तयार पार्नेहरूको घुइँचो लागेको छ । जनावरका आकर्षक मूर्तिहरू हेर्न र सामाजिक सञ्जालका लागि सामग्री बनाउन स्थानीयबासीदेखि बाहिरी पर्यटकसमेत जुट्न थालेका छन् । यसले चौराहाको आकर्षण थप बढेको देखिएको छ । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको मुल्य निर्धारणपछि कोहलपुरमा स्थापना गरिएका मुर्तिहरु ईन्दिरा श्रेष्ठले निर्माण गरेकी हुन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !