बाँकेमा निर्माण भएका १० वटा पक्की पुलले आवत जावतमा सहज

बिधुत्मा रैका, कोहलपुर, असार २२,

बाँकेका कैयौं नागरिकहरुले हिउँदका साना हुन् या वर्खाका ठुला, खोला–नालाहरु पैदल नै पार गर्नुपर्ने अवस्था थियो । तर अब समय बदलिँदैछ । जिल्लाभर फैलिएका पुल निर्माण परियोजनामार्फत यी खोल्साका गाउँहरूलाई पुल पारी र वारीको जीवनसँग जोड्न थालेको छ । जसको प्रभाव आवतजावतमा सहज भैरहेको छ । बाँके जिल्लामा पछिल्लो एक वर्षमा सम्पन्न र निर्माणाधीन पुलहरूले यात्राको शैली नै फेरीन थालेको छ । पुलहरु निर्माण भएका खोलामा पानी बढ्दा आवत जावतका लागि पर्खिनु पर्दैन । नदी, खोल्सा र बाढीले टुक्रिएको बाँकेको भूगोल अब पुलमार्फत बिस्तारै एकअर्कासँग जोडिँदैछ । यही योजनाअन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा नौवस्ता–मनकामना, परस्पुर–गौघाट, बैजनाथ–बैरवा लगायतका स्थानहरूमा बहुप्रतिक्षित पुलहरू निर्माण सम्पन्न भएका छन् ।

भने केही पुलहरु निर्माणको चरणमा छन् । यसको गतिलो उदाहरणका रुपमा लिन सकिन्छ जिल्लाका विभिन्न स्थानहरुमा निर्माण भैएका पक्कीपुलहरु । लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत बाँके जिल्लामा विभिन्न स्थानमा पुलहरू निर्माण भैरहेका छन् । नौवस्ता–मनकामना सडकखण्डमा पर्ने जेठीखोला वनखेत पुल ४ करोड २ लाख सम्झौता अनुसारको लागतमा सम्पन्न भएको छ ।

यसैगरी, खजुरा र जानकी जोड्ने परस्पुर–गौघाट सडकमा किरण नाला पुल निर्माण सम्पन्न भई ५ करोड ५७ लाख रुपैयाँ बराबरको संरचना तयार भइसकेको छ । खजुरा–३ स्थित बि गाउँदेखि धौलागिरी आदर्श स्कुल हुँदै कपास विकास जोड्ने गडगैँचा नाला पुल ७ करोड ४५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको हो । बैजनाथ गाउँपालिका–४ मा पर्ने मनमाया चुनाको घरदेखि बैरवा जोड्ने सडकमा निर्माण गरिएको जेठीनाला सडक पुल पनि ५ करोडभन्दा बढी रकममा सम्पन्न भएको हो । यी सबै पुलहरूले स्थानीय यातायात सहज बनाएको छ ।

त्यसैगरी, जिल्लाका विभिन्न स्थानहरूमा हाल केही पुलहरू निर्माणाधीन अवस्थामा रहेका छन् । नेपालगञ्जको विशालचोक हुँदै जानकी गाउँपालिका र खजुरा गाउँपालिका जोड्ने मार्गमा पर्ने किरणनाला सडक पुलको निर्माण ५ करोड २६ लाख रुपैयाँ लागतमा भइरहेको छ । खजुरा गाउँपालिका–४ को सिर्जन टोल र जानकी गाउँपालिका–४ जोड्ने अर्को किरणनाला पुल पनि ४ करोड ६१ लाख रुपैयाँ लागतमा निर्माणाधीन छ । पिप्रीहवा, जयसपुर, शाहीगाउँ र राधापुर जोड्ने किरणनाला पुलको निर्माण ५ करोड रुपैयाँभन्दा बढीमा भइरहेको छ भने सिमलघारी–गिजरा–उडरापुर सडकमा निर्माण भइरहेको जेठीनाला पुल ८ करोड रुपैयाँको लागतमा बनिरहेको छ । त्यस्तै, राप्ती–सोनारी ९ को अर्गानिक क्षेत्रदेखि तल्लो खैरेनीसम्मको सडकमा पुल निर्माण कार्य पनि ५ करोड रुपैयाँभन्दा बढीमा भइरहेको छ ।

प्रदेश सरकारले तीव्र गतिमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । पुल निर्माणले जिल्लाभित्रको सडक सञ्जाल बलियो बनाउने तथा बाढी तथा खोल्साबाट जनजीवनलाई सुरक्षित राख्नेछ । पूर्वाधार सडक विकास कार्यालय बाँकेका निमित्त प्रमुख दीपक खड्का भन्छन्,–‘हामीले बाँकेको भौगोलिक चुनौतीलाई ध्यानमा राखी खोल्साहरूमा मजबुत र दिगो पुल निर्माणमा प्राथमिकता दिएका छौँ । सम्पन्न भएका पुलहरूले स्थानीयको जीवन सहज बनाएको देखिएको छ । अब बाँकेका सडक तथा पुल निर्माणले नयाँ गती लिएको छ ।’ स्थानीय नागरिकहरुले खोलाको भेल र जोखिमका कारण सेवा पाउन घण्टौं कुर्नुपर्ने बाध्यता अब क्रमशः हट्दै गएको उनको भनाइ छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !