रसुवागढीमा भीषण बाढी : १८ बेपत्ता, संरचना ध्वस्त, नेपाली सेनाको उद्धार जारी

कोहलपुर, असार २४,

नेपाल–चीन सीमामा पर्ने रसुवाको लेन्डेखोलामा आएको भीषण बाढीले ठूलो जनधन र भौतिक क्षति पु¥याएको छ ।

बाढीका कारण कम्तीमा १८ जना बेपत्ता भएका छन् भने दुई देश जोड्ने मितेरी पुल बगाउनुका साथै रसुवागढी भन्सार कार्यालय वरिपरिका कन्टेनर र गाडीहरू पनि बगाएका छन् । प्रहरीका अनुसार बेपत्तामध्ये नेपाल प्रहरीका ३ जना, ३ जना गाडी चालक, ६ जना नेपाली कामदार तथा ६ जना चिनियाँ नागरिक रहेका छन् । घटनास्थलमा अझै उद्धार तथा खोजी कार्य जारी छ । बाढीका कारण रसुवाको स्याफ्रुबेँसीदेखि रसुवागढी नाकासम्मको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा आंशिक क्षति पुगेको छ । विद्युतीय गाडीका चार्जिङ स्टेशनहरू ध्वस्त भएका छन् भने ७–८ वटा गाडी बगाएको प्रहरीले जनाएको छ ।

यसैबीच, आयोजनास्थलमा फसेका २३ जना कामदारलाई नेपाली सेनाले हेलिकप्टरमार्फत सकुशल उद्धार गरेको छ । निरन्तर वर्षाका कारण बाटो अबरुद्ध, पहिरो र जोखिमपूर्ण अवस्थाबीच उद्धार कार्य सम्पन्न गरिएको हो । सेनाको विशेष टोलीले स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र आयोजना व्यवस्थापनसँगको समन्वयमा उद्धार कार्य सञ्चालन गरिरहेको जनाएको छ ।

उद्धार कार्यमा नेपाली सेनाका साथै निजी हेलिकप्टर सेवा प्रदायक कम्पनीहरू पनि संलग्न छन् । प्रभावितहरूलाई रसुवाको टिमुरे क्षेत्रबाट अन्य सुरक्षित स्थानमा सारिएको छ । बाढीको प्रभाव नुवाकोट र धादिङसम्म देखिएको छ । त्रिशूली नदीमा आएको अत्यधिक बहावले नुवाकोटको विदुरमा घाँसदाउरा गर्न गएका ६७ वर्षीय पाल्देन तामाङ र उनकी पत्नी ६२ वर्षीया मङ्गली तामाङ फसेका थिए । उनीहरूलाई रुखमा बसेकै अवस्थामा नेपाली सेनाको हेलिकप्टरबाट सकुशल उद्धार गरिएको हो ।

धादिङको गजुरी गाउँपालिका–६ बेल्खु र गल्छी गाउँपालिका–२ केउरेनीमा दुई पुरुष शव फेला परेका छन् । त्रिशूली नदीको बेनिघाट रोराङ गाउँपालिका–७ मा शवदाह भइरहेको क्रममा आएको आकस्मिक बाढीले चितासहित शव समेत बगाएको स्थानीयले जानकारी दिएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार यो बाढी वर्षाका कारण नभई तिब्बत क्षेत्रको कुनै हिमताल विस्फोट भएर आएको हुनसक्ने प्रारम्भिक आकलन गरिएको छ । विश्व मौसम संगठनको ’फ्ल्यास फ्लड गाइडेन्स सिस्टम’ तथा ’ग्लोबल हाइड्रोएस्टिमेटर स्याटेलाइट–बेस्ड प्रिसिपिटेशन एस्टिमेट’ ले उक्त क्षेत्रमा उल्लेख्य वर्षा नभएको देखाएको छ । विभागले बाढीको वास्तविक कारण पत्ता लगाउन ‘सेन्टिनल एशिया प्लेटफर्म’ मार्फत आपतकालीन उपग्रह तस्बिरको अनुरोध गरिसकेको जनाएको छ ।

हिमताल विस्फोटको सम्भावित कारणले उत्पन्न यस बाढीले नेपाल–चीन नाकामा गम्भीर प्रभाव पारेको छ । उद्धार कार्य अझै जारी छ भने सरकारी तथा सुरक्षा निकायहरूले प्रभावित क्षेत्रहरूको निगरानी कडा पारेका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !