कोहलपुरको सिद्धि विनायक पार्कः वनभोज, घुमघाम र अवलोकनका लागि आकर्षक गन्तव्य

बिधुत्मा रैका, कोहलपुर, साउन १९,

कोहलपुर नगरपालिका–११ दशबिगाह चोकको उत्तरपट्टि वडा नम्बर २ मा निर्माण गरिएको सिद्धि विनायक पार्क वनभोज, घुमघाम तथा अध्ययन अवलोकनको लागि आकर्षक केन्द्र बन्दै गएको छ ।

कोहलपुर नगरपालिका, २ नम्बर वडा कार्यालय तथा उपभोक्ता समितिको आर्थिक, भौतिक सहयोगमा निर्माण गरिएको यो पार्कमा विविध प्रकारका कृषि औजारहरू, स्थानीय उत्पादनसँग सम्बन्धित परापुर्व कालदेखिका उपकरणहरू, साथै परम्परागत कृषि जीवनशैलीको झल्को दिने सामग्रीहरू प्रदर्शनमा राखिएका छन्, जसको अवलोकनले बालबालिकादेखि युवासम्मलाई जानकारीमूलक अनुभव प्रदान गर्दछ ।

पार्कभित्र शीतल बसाइका लागि व्यवस्थित बेन्चहरू, बालबालिकाहरूका लागि खेल्ने स्थान, पिङ, पार्कको दृश्यावलोकनका लागि मचान, निर्माण गरिएको छ । साथै पानी, शौचालय र विद्युतको सुविधा पनि उपलब्ध छ । यी सबैले गर्दा पार्क घुम्न, फोटो खिच्न, भिडियो तथा टिकटक बनाउन चाहनेहरूका लागि उत्कृष्ट स्थान बन्दै गएको छ ।

स्थानीय तथा बाहिरी पर्यटकहरूका लागि समेत आकर्षक गन्तव्यको रूपमा विकास हुँदै गएको पार्कमा वनभोज, तथा विभिन्न कार्यक्रम हुँदै आएका छन् । यो पार्क परिवार, साथी समूह र विद्यार्थीहरूका लागि सुविधाजनक स्थल बनेको छ । पार्क क्षेत्रभित्र रङ्गीचङ्गी फूलहरू र विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन् । जसले वातावरणलाई सौन्दर्यपूर्ण बनाएको छ । यी बिरुवा तथा फूलहरूले पर्यावरणीय सन्तुलनमा टेवा पु¥याउँदै आएका तथा आगन्तुकहरूको मन पनि लोभ्याउँरहेका छन् । प्राकृतिक सौन्दर्यमा रमाउन चाहनेहरूका लागि यो पार्क थप उपयुक्त गन्तव्य बनेको छ । यो पार्कको अवलोकन वर्षेनी हजारौं मानिसहरुले गर्दै आएका छन् ।

त्यस्तै, पार्कभित्र निकै राम्रा काठका अलौकिक कलाकृतिहरू पनि राखिएका छन्, जसले यस ठाउँको सांस्कृतिक र कलात्मक महत्वलाई अझ उजागर गरेका छन् । यी कलाकृतिहरूले फोटो र भिडियो बनाउन आउनेहरूको लागि थप आकर्षण सिर्जना गरेका छन् । यस्तै श्री सिद्धिबिनायक ग्रामीण सामुदायिक वन उपभोक्ता समिति, कोहलपुर–२, बाँकेको आयोजनामा २७औं वार्षिक साधारण सभा तथा २१औं सार्वजनिक सुनुवाइ कार्यक्रम आईतबार भव्य रूपमा सम्पन्न भएको छ ।

कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदी वडा नम्बर २ का वडाध्यक्ष हरीसिंह कठायत समितिका पदाधिकारी, उपभोक्ता सदस्यहरू, स्थानीय बासिन्दा तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको कार्यक्रममा विगत वर्षको प्रगति विवरण, आर्थिक पारदर्शिता, भावी योजना लगायतका विषयमा जानकारी प्रस्तुत गरिएको थियो । सार्वजनिक सुनुवाइका क्रममा सहभागीहरूले आफ्ना प्रश्न, सुझाव तथा गुनासो राख्ने अवसर पाएका थिए ।

सोही अवसरमा समितिको लगानीमा निर्माण सम्पन्न भएको खुला जिमको पनि औपचारिक उद्घाटन गरिएको छ । करीब १५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त खुला जिम सामुदायिक स्वास्थ्य र शारीरिक फिटनेस प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास लिइएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर