चितवनका राजु आचार्य ‘दीप’लाई द्वारिका नेपाल स्मृति गजल पुरस्कार २०८२

मनोज भुजेल, चितवन,

कोहलपुर, भदौ ८,

गजल मञ्च चितवनले आयोजना गरेको द्वारिका नेपाल स्मृति गजल पुरस्कार २०८२ यस वर्ष चितवनका चर्चित गजलकार राजु आचार्य ‘दीप’ ले प्राप्त गरेका छन्। चितवन माध्यमिक विद्यालयमा सम्पन्न पुरस्कार अर्पण तथा गजल वाचन कार्यक्रममा उनलाई सम्मान गरिएको हो।

कार्यक्रमको सभाध्यक्षता गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण पौडेल ‘अनायास’ ले गरेका थिए। प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं गजलविज्ञ कशवराज आमोदी तथा विशिष्ट अतिथि स्व. द्वारिका नेपालकी धर्मपत्नी पार्वती नेपाल अर्याल रहनुभएको थियो।

नेपालमा गजलका पिता एवम् राष्ट्रिय विभूति मोतीराम भट्टको १६० औँ जन्मजयन्ती को अवसर पारेर आयोजित कार्यक्रममा मञ्चका उपाध्यक्ष कमल अर्याल धादिङ्गे ले स्वागत मन्तव्य राखेका थिए भने कार्यसमिति सदस्य प्रविण सन्नाटा ले दीपको साहित्यिक व्यक्तित्वबारे धारणा राखेका थिए।

२५ वर्षदेखि साहित्य सिर्जना र अध्यापनमा सक्रिय दीपले पुरस्कार ग्रहण गर्दै आफ्ना अग्रज, समकालीन र अनुज स्रष्टाहरुलाई स्मरण गरेका थिए। उनले स्व. द्वारिका नेपाललाई सम्झँदै भावविह्वल हुँदै हालै दिवङ्गत वरिष्ठ साहित्यकार प्रेमविनोद नन्दन र भुपराज पाठकप्रति श्रद्धाञ्जलि अर्पण गरे।

 

कार्यक्रममा दीपले आफ्ना उत्कृष्ट सात गजल वाचन गर्दै उपस्थित गजलप्रेमीलाई मन्त्रमुग्ध पारे। अतिथि आमोदीले मोतीराम भट्टको व्यक्तित्व र कृतित्वबारे अझै थाहा नपाएका तथ्यहरू समेत उजागर गरेका थिए। करिब ६० जनाको उपस्थिति रहेको कार्यक्रममा सञ्चालन संस्थाकी सचिव प्रमिला सानु ले गरेकी थिइन्।

 

यसअघि यो पुरस्कार मुक्त उदास, कमल अर्याल धादिङ्गे लगायतले प्राप्त गरिसकेका छन्। हाल अष्ट्रेलियामा रहेका डिला खरेलले इनोभेटिभ एसोसिएट्स मार्फत स्थापना गरेको पुरस्कार अन्तर्गत दीपले प्रमाणपत्रसहित २५,००० रुपैयाँ नगद, अबिर, माला र दोसल्ला ग्रहण गरे।कार्यक्रमको मिडिया पार्टनरमा विप्स मिडिया, कायाकैरन राष्ट्रिय दैनिक र सम्पूर्ण किताब रहेका थिए।

स्व. द्वारिका नेपालले लामो समय चितवनलाई कर्मथलो बनाएर अध्यापन र साहित्य सिर्जनामा योगदान गरेका थिए। उनका एक छोरा र एक छोरी छन्। उनका ‘तस्बिरहरूको जुलुस’ नामक एकल कविता सङ्ग्रह प्रकाशित भएको छ। वि.सं. २०३२ वैशाख ११ मा जन्मिएका नेपालको २०७८ असोज ३१ मा निधन भएको थियो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !