अछाम,
बिधुत्मा रैका, कोहलपुर, भदौ १४,
अछाम जिल्लामा छाउपडी गोठमा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय अछामको तथ्याङ्क अनुसार २०७३ सालदेखि २०८२ भदौ दोस्रो सातासम्म छाउगोठमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ भने एकजना महिला घाइते भएकी छन् । छाउगोठमा सुतिरहेको बेला सर्पले डसेर, निसास्सिएर, जबरजस्तीकरणी गरेर तथा भीरबाट खसेको ढुङ्गा लागेर छ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ८ मा छाउगोठमा सुतिरहेको अवस्थामा भीरबाट खसेको ढुङ्गा लाग्दा दुई जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ६ पुगेको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार त्रिपालले बनाइएको छाउगोठमा सुतेको अवस्थामा ढुङ्गा खस्दा पञ्चदेवल विनायक ८ की ३५ वर्षीया निम जैसी खनाल र मङ्गलसेन नगरपालिका ६ की ८ वर्षीया कविता भण्डारीको ज्यान गएको हो ।
घटनामा कविताकी आमा ४० वर्षीया रत्ना भण्डारी घाइते भएकी छन् । बिहीबार राति घरनजिकै रहेको छाउगोठमा उनीहरू सुतेको बेला भीरबाट ढुङ्गा खस्दा दुर्घटना भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) ओम प्रकाश खनालका अनुसार केही दिनअघि मात्रै प्रमुख जिल्ला अधिकारी, नगरपालिका प्रमुख र डिएसपी खनालसहितको टोलीले सोही नगरपालिका ४ मा छाउगोठ प्रथा अन्त्यबारे सचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो । तर सचेतना र औपचारिक अभियान निरन्तर जारी रहँदै पनि महिलाहरू अझै छाउगोठमै बस्न बाध्य हुनु दुःखद भएको सरोकारवालाहरू बताउँछन् ।
अछाममा छाउगोठमुक्त अभियान सुरु भएको वर्षौं बितिसकेको भए पनि यस्ता घटनाले अभियानको प्रभावकारिता माथि गम्भीर प्रश्न खडा गरेको छ । अछाम जिल्लामा करिब २०५६ सालदेखि छाउपडी उन्मूलन अभियान सुरु भएको थियो । १० वर्षे जनयुद्धको प्रभावले केही कम भएको दोन्द्ध सकिएपछि पुनः छाउपडी प्रथाले प्रचलन पाएको थियो । २०६६/६७ मा व्यापक रुपमा छाउगोठ भत्काउने र सचेतनामूलक कार्यक्रम सुरु गरिएको थियो, जसमा जिल्ला प्रशासन, प्रहरी, नागरिक समाज, संचारकर्मीहरुको सयुक्त सहकार्यमा पहिलेको समयभन्दा अहिले धेरै सुधार भए पनि केही स्थानमा छाउपडी गोठ कायमै छ । हालसम्म २०६६/६७ साल यता छाउगोठमा बसेकै कारण करिब ६ जना महिलाले ज्यान गुमाउनु परेको छ ।
जिल्लामा छाउपडी प्रथा उन्मूलनका लागि अभियान तीव्र रूपमा चलिरहेको छ । जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले सामाजिक समस्याको समाधानमा प्रशासन सक्रिय रहेको जानकारी दिएका छन् । उनका अनुसार, अधिकांश स्थानमा छाउगोठ छैन, तर केही महिलाहरू बाध्यता नभए पनि आफैं छाउगोठमा जाने गरेको देखिन्छ । उनले भन,–‘हरेक घरमा सबैले जान सक्दैनन्। स्थानीय सरकारले उजुरी गरेमा प्रहरीले कारवाही गर्छ ।’ प्रजिअ सारुका अनुसार विगतका तुलनामा सुधार भएको बताएको छ, तर पुरै रुपान्तरण भने भएको छैन । कतिपयले जानेबुझेका भए पनि विभेद कायम राखिरहेको पाइन्छ । गाउँमा सामूहिक रूपमा छाउगोठ बनाउनु असम्भव रहेको कारण, सबैलाई आफ्नै घरको कोठामा सुरक्षित बस्न प्रशासनले आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारीका अनुसार, छाउगोठमा बस्न बाध्य पार्ने व्यक्ति वा परिवारलाई तीन महिनासम्म कैद वा रु. ३००० जरिवाना हुने कानूनी व्यवस्था छ । पञ्चदेवल विनायक नगरपालिकामा भएको घटनापछि वडा नम्बर ८ मा बारला स्वास्थ्यकर्मी, वडाध्यक्ष छत्रबहादुर शाहीसहित २०–२५ स्थानीय नागरिकको सहकार्यमा अस्थायी प्रहरी पोष्ट वारलाबाट खटिएको टोलीले सोही दिन १९ वटा छाउगोठ भत्काएको छ । कुमालीकोट ४, सर्पा ३, आमरुख २, तिखापातल ५, गैरीगाउँ २, ढुङ्गेबजार २, नावली १ ग्रि १९ वटा छापगोठ भत्काईएको प्रमुख जल्ला अधिकारी सारुले जानकारी दिए । वडा अध्यक्ष छत्रबहादुर शाहीका अनुसार छाउगोठ भत्काउने अभियानलाई पुनः सक्रिय बनाईएको छ ।

