सम्माननीय प्रधानमन्त्रीज्यू,
म विगत लामो समयदेखि पत्रकारितामा छु । मेरो पत्रकारिताको सुरुवात रेडियोबाट भएको थियो । त्यहाँ बिताएका १८-१८ घण्टाका लामो दिनहरू मेरो जीवनका सबैभन्दा मिठा र मूल्यवान् अनुभव बनेका छन् । त्यसपछि भिडियोग्राफी, फोटोग्राफी हुँदै विगत साढे सात वर्षदेखि बाँकेको कोहलपुरमा पत्रकारिता गर्दै आएकी छु । अहिले म अनलाइन सञ्चार माध्यमसँग आबद्ध छु र यही माध्यमबाट आफ्नो पेशा अगाडि बढाइरहेको छु ।
तर प्रधानमन्त्रीज्यू, तपाईंलाई प्रष्टै भन्न चाहन्छु, पत्रकारिता मात्र पेशा होइन, जीवन र भविष्यसँग जोडिएको सपना पनि हो । अहिले सञ्चार माध्यमहरूको आर्थिक अवस्था निकै नाजुक छ । म पनि अपवाद होइन । असफल हुनु कति पीडादायी छ भन्ने मैले बुझेकी छु । भएको जागिरले मुस्किलले घर चलाउनु पर्छ । त्यसपछि मैले वैकल्पिक बाटो खोज्न थालेँ । फेसबुक पेज र युट्युब च्यानल बनाएर आफ्नै सीप र मेहनतबाट आम्दानी गर्ने, परिवारको भविष्य सुरक्षित गर्ने सपना बोक्दै थिए । तर अहिले नेपालमा सामाजिक सञ्जाल बन्द भएपछि त्यो सपना अधुरो बनेको छ । प्रधानमन्त्रीज्यू, सामाजिक सञ्जाल केवल मनोरञ्जनको साधन मात्र होइन । हामी जस्ता पत्रकारका लागि यो जीवनधार हो । यही माध्यमबाट समाचार, विचार, जनताको आवाज पु¥याउने मात्र होइन, आफ्ना परिवारको भविष्य सुनिश्चित गर्ने आधार पनि बनेको छ ।
यसको असर केवल पत्रकारमा सीमित छैन। अहिले टाढा-टाढा रहेका आमाबाबु, दाजुभाइ, दिदीबहिनी, आफन्तसँग कुरा गर्न सक्ने सहज माध्यम हराएको छ । हिन्दू धर्मावलम्बीहरूको महान पर्व नजिकिँदै छ । विदेशमा रहेका छोराछोरीले आमाबाबुसँग भिडियो कलमार्फत आशीर्वाद लिन चाहँछन्, तर माध्यम बन्द हुँदा त्यो सुविधा टुटेको छ । हाम्रो संस्कृति, हाम्रो परिवारको सम्बन्ध कमजोर हुने स्थितिमा पुगेको छ ।
नेपालका लाखौँ युवा रोजगारीको खोजीमा विदेशिएका छन् । उनीहरूले आफ्ना घर-परिवारको अवस्था सामाजिक सञ्जालमार्फत हेरेर मन बुझाउँछन् । तर त्यो माध्यम बन्द हुँदा उनीहरू अझै टाढा महसूस गर्ने बाध्यता छ । देशभित्रै रहेका युवाहरू पनि वैकल्पिक रोजगारी खोजेर नागरिक पत्रकारितातर्फ, सामग्री उत्पादनतर्फ लागेका थिए । उनीहरूले समाजलाई समाचार, विचार, चेतना दिनुका साथै आफ्नो जीवनयापनको बाटो पनि त्यहींबाट खोजेका थिए। अहिले यो बाटो बन्द हुँदा उनीहरू बेरोजगार हुने स्थितिमा पुगेका छन् ।
प्रधानमन्त्रीज्यू, यो अवस्थामा पत्रकारहरूको पीडा झन् गहिरो छ । पत्रकारिता गरिराख्दा अधिकांश पत्रकारहरूले आर्थिक अभावका कारण परिवार पाल्नै मुस्किल भोगिरहेका छन् । न्यून तलब, असुरक्षित भविष्य र अनिश्चित रोजगारीका कारण थुप्रै युवा पत्रकारहरू यो क्षेत्रमै टिक्न सकेनन् । धेरैले बाध्य भएर अन्य पेशा रोजे, विदेशिए वा आफ्नो सीप र सपना अधुरो छोड्नुप¥यो । अहिले सामाजिक सञ्जाल नै बन्द हुँदा बाँकी रहेका पत्रकारहरूको ढोका पनि बन्द भएको छ । यो केवल पेशागत संकट मात्र होइन, लोकतन्त्रको चौथो स्तम्भकै लागि खतरा हो । प्रधानमन्त्रीज्यू, समाजमा सूचना नपुग्दा पर्न गएको असर गम्भीर छ । विद्यार्थीहरू पढाइमा आवश्यक सामग्री पाउन सकिरहेका छैनन् । व्यवसायीहरूले आफ्नो उत्पादन र सेवाका बारेमा जानकारी दिन सकिरहेका छैनन् । विपद् वा आपतकालीन अवस्थामा जनतालाई सचेत पार्ने बाटो नै बन्द हुँदा देश नै संकटमा पर्न सक्छ ।
प्रधानमन्त्रीज्यू, तपाईंलाई के लाग्छ
सामाजिक सञ्जाल नहुनुभन्दा अगाडिका वर्षहरूमा नागरिकलाई सूचना पाउन, विदेशमा रहेका आफन्तसँग बोल्न, पढाइ-व्यवसायमा अवसर पाउन कति कठिन थियो ?
अहिले सामाजिक सञ्जालले जनतालाई क्षणभरमै जोड्ने सुविधा दिएको बेला फेरि पनि यसलाई बन्द गरेर नागरिकलाई त्यही पुरानो ढङ्गमा फर्काउन खोज्नु के न्यायसंगत हो ?
के यसरी हामीलाई पुनः ढुङ्गे युगमा धकेल्ने नीति लाद्नु भविष्यतर्फ अघि बढ्ने हो वा विगतमा फर्किने ?
के सरकारी कामकाजका लागि पनि फेरि लाइनमा दिनभर उभिनुपर्ने अवस्था ल्याउन लागिएको हो ? अहिले धेरै सेवा-सुविधा अनलाइनबाट मिनेटमै प्राप्त हुने गरेका छन् । के अब पुनः घण्टौँ खर्चेर, कागजका फाइल बोकेर कार्यालय धाउनुपर्ने पुरानै अवस्थामै फर्काइने हो ?
के सरकारले आफ्नै डिजिटल सेवा र ‘स्मार्ट प्रशासन’ भन्ने लक्ष्यलाई पनि यसरी नै विफल पार्ने हो ?
धेरै युवाहरूले सामाजिक सञ्जाल चलाएर आफ्नो आर्थिक अवस्था सुधार गरेका छन् भन्ने कुरा तपाईंलाई थाहा छैन र ? के अब वा त सरकारले ती युवालाई रोजगारी दिन्छ, होइन भने कम्तिमा उनीहरूलाई आफ्नो मेहनतको बाटोबाट कमाउन दिन्छ ?
के सरकारले पत्रकारितामा टिक्न नसकेर भासिएका सयौँ युवा पत्रकारहरूको पीडा देख्दैन? के अब बाँकीलाई पनि पत्रकारिता छोड्न बाध्य पार्ने हो ?
यसैले, म तपाईँलाई विनम्रतापूर्वक तर दृढतापूर्वक भन्न चाहन्छु
सामाजिक सञ्जाल बन्द गरेर मात्र वञ्चित नगरौँ ।
बरु यसलाई नियमन गर्ने व्यवस्था मिलाऔँ ।
सामाजिक सञ्जाल प्रयोग गरेर रोजगारी सिर्जना गर्ने युवालाई वैकल्पिक कार्यक्रम ल्याऔँ ।
डिजिटल पत्रकारिता र नागरिक पत्रकारितालाई मान्यता दिँदै सुरक्षित र दिगो बनाउन सरकारले कदम चालोस् ।
प्रधानमन्त्रीज्यू, म तपाईंलाई सोध्न चाहन्छु
के अब म पनि विदेशिनुपर्ने हो ?
के अब मैले आफ्ना सपनाहरू अधुरै छोड्नुपर्ने हो ?
के पत्रकारिता गरेरै भविष्य सुरक्षित गर्ने मेरो विश्वास यत्तिकै भत्किनुपर्ने हो ?
के अब आम नेपालीले दशैंमा पनि आफ्ना आफन्तसँग कुरा गर्न नपाउने स्थिति सिर्जना हुन्छ ?
सामाजिक सञ्जाललाई फराकिलो मर्यादित तथा व्यवस्थित बनाउँन सामाजिक सञ्जाल सूचिकरण गर्नेपर्ने संचार तथा सूचना प्रविधि मन्त्रालयको योजना पनि बुझियो, तर सूचिकरण भएन भने यसको विकल्प के हुन्छ ? के नेपालले आफ्नो यस्तै एपहरु निर्माण गर्छ त ? यो केवल मेरो मात्र पीडा होइन । यो नेपालभरिका सयौँ पत्रकार, सामग्री निर्माता, युवाहरू र आम नागरिकहरूको साझा पीडा हो । प्रधानमन्त्रीज्यू, तपाईंको निर्णयले हाम्रो भविष्य निर्धारण गर्छ। तपाईंले चाहनुभयो भने हामी अन्धकारतिर धकेलिन सक्छौँ, र चाहनुभयो भने हामी उज्यालो बाटोमा हिँड्न सक्छौँ । त्यसैले म तपाईंसँग स्पष्ट माग गर्छु, सामाजिक सञ्जाल बन्द गर्ने होइन, व्यवस्थित गर्ने नीति ल्याइदिनुहोस्। डिजिटल प्लेटफर्मलाई रोजगारी र आम्दानीको माध्यम बनाउन चाहने युवालाई संरक्षण दिनुहोस् । नागरिक पत्रकारिता र नयाँ पुस्ताले खोजेको वैकल्पिक बाटोप्रति सकारात्मक दृष्टि दिनुहोस् । मलाई थाहा छैन यो पत्र तपाईँ सामु पुग्छ या पुग्दैन । तर पनि पत्रकारिता मेरो जीवन हो । यसैबाट म देशलाई योगदान दिन चाहन्छु । त्यो संकल्प अधुरो रहन नदिने जिम्मेवारी तपाईंहरूको पनि हो भन्ने विश्वास राखेको छु ।
विनम्रतापूर्वक,
बिधुत्मा रैका
पत्रकार



