कोहलपुर, भदौ २५,
देशभर सुरक्षाको स्थिति संवेदनशील बनेपछि नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरू गत राति भाद्र २४ गते राति १० बजेदेखि परिचालनमा आएका छन् ।
परिचालनको क्रममा आज बिहान भाद्र २५ गते १० बजेसम्म काठमाडौँसहित देशका विभिन्न स्थानहरूमा देखिएका अराजक तथा विध्वंसात्मक गतिविधिहरू नियन्त्रणमा लिइएका छन् ।

यस अवधिमा लुटपाट, आगजनी र जीउधनमा क्षति पु¥याउने उद्देश्यले संलग्न २७ जनालाई पक्राउ गरिएको सुरक्षा निकायले जनाएको छ । आगलागी नियन्त्रणका लागि ३ वटा बारुण यन्त्र प्रयोग गरिएको छ भने, काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट रु. ३३ लाख ७० हजार नगद बरामद गरिएको छ ।
त्यस्तै, काठमाडौँका विभिन्न स्थानहरूबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न प्रकारका ३१ नाल हतियारसहित म्यागजिन तथा गोलीगठ्ठा बरामद गरिएको छ। सुरक्षाकर्मीहरूमाथि भएको आक्रमणमा परी २३ जना नेपाल प्रहरी घाइते भएका छन् भने ३ जना सर्वसाधारण पनि घाइते भएका छन्। उनीहरूको सैनिक अस्पतालहरूमा उपचार भइरहेको छ । सुरक्षा निकायले परिस्थितिलाई नियन्त्रणमा लिन र जनताका जीउधनको सुरक्षा गर्न थप कडाइका साथ परिचालन जारी राखिएको जनाएको छ ।




