सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक रुप लिँदा कोहलपुर क्षेत्रमा ठूलो क्षति

कोहलपुर, भदौ २५,

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक रुप लिँदा कोहलपुर क्षेत्रमा ठूलो क्षति भएको छ ।

प्रारम्भमा शान्तिपूर्ण रूपमा सुरु भएको विरोध प्रदर्शन एकाएक नियन्त्रणबाहिर गएपछि आन्दोलनकारीहरूले विभिन्न सरकारी तथा निजी संरचनामा आगजनी गरेका हुन् ।

कोहलपुर नगरपालिका अन्तर्गत रहेका नगरपालिका, राजश्व अनुसन्धान कार्यालय, इलाका प्रशासन कार्यालय, हुलाक कार्यालय र वडा नम्बर ११ को कार्यालयमा तथा सवारी साधनमा गरिएको आगजनीका कारण सम्पूर्ण संरचना जलेर नष्ट भएका छन् । प्रारम्भिक अनुमानअनुसार अरबौं रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

यसबाहेक, नगर प्रमुख पूर्ण प्रसाद आचार्यको निजी आवासमा समेत आगजनी गरिँदा ठूलो व्यक्तिगत क्षति भएको छ । आन्दोलनकारीको आक्रोशले सार्वजनिक सम्पत्तिसँगै निजी घरसमेत नष्ट गरिदिँएका छन् । उनीहरूले आक्रोश व्यक्त गर्न आगो लगाउनु उपयुक्त उपाय नभएको र यसले उल्टै सर्वसाधारणमाथि असर पर्ने कोहलपुर नगर प्रहरी प्रमुख वीर बहादुर थापाले बताए । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति असन्तुष्टि प्रकट गर्नु नागरिकको अधिकार भए पनि त्यसलाई हिंसामा परिणत गर्नु गलत रहेको सरोकारवालाहरू बताउँछन् ।

 

“राज्यसँग असहमति राखेर आवाज उठाउन पाइन्छ, तर सार्वजनिक सम्पत्ति जलाउने वा तोडफोड गर्ने कामले नागरिक आफैंलाई नोक्सानी पु¥याउँछ,” एक स्थानीय अगुवाले टिप्पणी गरे ।

आगजनीका कारण स्थानीय सेवा प्रवाहमा समेत अवरोध भएको छ । कार्यालयभित्र रहेका महत्वपूर्ण कागजात, अभिलेख र सामग्री जलेर नष्ट हुँदा सेवाग्राहीलाई थप समस्या हुने निश्चित छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !