कोहलपुर, भदौ २९,
हालै भाद्र २३ र २४ गतेका प्रदर्शनका क्रममा भएको क्षतिको पृष्ठभूमिमा जिल्ला प्रहरी कार्यालय बाँकेले सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ ।
विज्ञप्ति मार्फत प्रहरीले नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकाय, सरकारी, गैरसरकारी र निजी संस्थाका हातहतियार, सञ्चार उपकरण, सवारी साधन, दस्तावेज, लिखत वा अन्य कुनै पनि सामग्री नियन्त्रणमा लिइएको वा कतै फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको छ । प्रहरीले सामग्री फेला परेमा जिल्ला प्रहरी कार्यालय बाँकेका सम्पर्क नम्बर ९८५८०९०१११ र ९८५८०९०१५५ मा सम्पर्क गरी फिर्ता बुझाउन आग्रह गरेको छ ।
त्यसैगरी, आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका प्रहरी पोशाक तथा अन्य प्रहरी सामग्रीको दुरुपयोग नगर्न र नगाराउन पनि प्रहरीले अपील गरेको छ । साथै, त्यस्ता सामग्री तथा जानकारीहरू भएमा प्रहरीलाई उपलब्ध गराउन आग्रह गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले जारी गरेको विज्ञप्तिमा, सार्वजनिक सुरक्षामा खलल पार्ने कुनै पनि गतिविधि नगरी सहयोग गर्न सबैलाई अनुरोध गर्दै सामूहिक सहकार्यबाट शान्ति–सुरक्षा स्थापना गर्न आग्रह गरिएको छ ।



