कोहलपुर, भदौ ३०,
नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरको हरिसिद्धिमा बालिकालाई ठक्कर दिएर भागेको घटनामा संलग्न भनिएका एमाले प्रदेश मन्त्रीमाथि तत्काल अनुसन्धान गर्न सम्बन्धित निकायलाई आदेश दिएका छन् ।
गृहमन्त्री पद सम्हालेको पहिलो दिनमै उनले बालिकालाई ठक्कर दिएर भागेको घटनाप्रति गम्भीर चासो व्यक्त गरेका हुन् । उनले प्रहरी प्रशासनलाई दोषी जो भए पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । गृहमन्त्रालय स्रोतका अनुसार मन्त्री अर्यालले घटनामा राजनीतिक दबाब नआउने र पीडित पक्षलाई न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
स्थानीयवासी र मानवअधिकारकर्मीहरूले घटनाको छानबिन र दोषीलाई कडा कारबाही गर्न माग गर्दै आएका थिए । मन्त्रीको आदेशपछि अनुसन्धान प्रक्रिया तीव्र हुने अपेक्षा गरिएको छ ।



